बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

शेखर–गगन समूहमा मतभेद : गुटको नेताबारे लफडा

बिहीबार, १२ माघ २०७९, ०९ : ५९
बिहीबार, १२ माघ २०७९

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहभित्रको विवाद सतहमा आएको छ । १४ औँ महाधिवेशनमा सभापतिका प्रत्याशी नेता शेखर कोइराला र संसदीय दलको नेताका प्रत्याशी महामन्त्री गगन थापाबीच इतर समूहको नेतृत्वका लागि लडाइँ देखिएको हो ।

महाधिवेशनमा थापा कोइराला नेतृत्वको प्यानलबाट नै महामन्त्रीमा निर्वाचित भएका थिए । गत पुस ३ मा भएको संसदीय दलको निर्वाचनमा भने कोइराला थापाको प्रस्तावक बसे । संसदीय दलको उम्मेदवारका सन्दर्भमा लामो रस्साकस्सीपछि नेता कोइराला ब्याक भएका थिए । संसदीय दलमा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संस्थापन इतरबाट थापालाई अगाडि सारिएको थियो ।

महाधिवेशनमा देउवासँग कोइराला हारेका थिए भने संसदीय दलमा थापा पनि पराजित भए । सभापति र दलको नेतामा देउवासँग पराजित भएका कोइराला र थापा अहिले दुवै आफूलाई पार्टीभित्र वैकल्पिक नेता ठान्छन् । 

संसदीय दलको निर्वाचनमा तितर–वितर हुनबाट जोगिएको इतर पक्ष भावी सभापतिका विषयमा विभाजित हुने देखिन्छ । कांग्रेसको नियमित १५ औँ महाधिवेशन हुन अझै तीन वर्ष बाँकी छ । उपसभापति धनराज गुरुङले भावी सभापतिमा कोइरालाको उम्मेदवारीको विषय प्रवेश गराएपछि संस्थापन इतरभित्र तरङ्ग पैदा भएको छ ।

इतर पक्षमा कोइरालाको पक्षमा उपसभापति गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, नेता दिलेन्द्र बडू, सञ्जय गौतम, सरिता प्रसाईं, मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, हृदयराम थानी, गोविन्द पोखरेल, रामकृष्ण यादव, भुपेन्द्रजंग शाही लगायतका नेता देखिन्छन् । महामन्त्री थापाको पक्षमा महामन्त्री विश्वप्रकाश शर्मा, नेता अर्जुननरसिंह केसी, बलबहादुर केसी, प्रदीप पौडेल, प्रतिमा गौतम, अजयबाबु सिवाकोटी, जगदिश्वरनसिंह केसी लगायत छन् । 

यतिबेला इतर समूह एजेण्डागत रूपमै पनि विभाजित देखिन्छ । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने विषयमा पार्टीभित्र मतभेद हुँदा कोइराला र थापा फरक कित्तामा उभिए । कोइरालासँग निकट सांसदहरू विश्वासको मत दिने पक्षमा उभिँदा महामन्त्री थापासहित ४ जनाको ‘फरक मत’ रह्यो । उनलाई अर्का महामन्त्री विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, प्रदीप पौडेलले साथ दिएका थिए ।

उहाँ र उहाँसँग जोडिएका नेताहरू यो समूहका आगन्तुक हुन् । अहिले उनीहरुले शेखर कोइरालालाई नै माइनस गरेर अगाडि बढ्न खोजे जस्तो देखियो । त्यसैले धनराजजीले फायर खोल्नु भएको जस्तो छ ।

आइतबारको समूहको बैठकमा पनि थापानिकट नेताहरुबाट प्रधानमन्त्रीलाई विश्वासको मत दिएको सन्दर्भमा भ्रम सिर्जना गर्न खोजिएको कोइराला पक्षको आरोप छ । बैठकमा ‘शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती भयो’ भन्ने समाचार गलत नियतका साथ प्रचार गरिएको कोइराला पक्षको दाबी छ । नेता कोइरालाले सोमबार पार्टीको पदाधिकारी बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएर गल्ती भयो भनेर नभनेको प्रस्टीकरण नै दिएका थिए । बुधबार विराटनगरमा पनि कोइरालाले आफूले बोल्दै नबोलेको कुरा अखबारमा आएको बताए ।

विश्वासको मत दिनु गलत थियो भन्ने भाष्य स्थापित गराउन महामन्त्री थापाको पक्षबाट भ्रम सिर्जना गराउन खोजिएको कोइराला पक्षको आरोप छ । साथै महामन्त्री शर्मा र पौडेलप्रति थापाले अतिरिक्त झुकाव राखेपछि कोइराला पक्ष चिढिएको नेताहरू बताउँछन् । १४ औँ महाधिवेशनमा मात्र आफ्नो समूहमा जोडिएका थापाले समूह कब्जा गर्न खोजेको कोइराला पक्षको बुझाइ छ ।

कोइराला पक्षका एक केन्द्रीय सदस्यले भने, ‘उहाँ र उहाँसँग जोडिएका नेताहरू यो समूहका आगन्तुक हुन् । अहिले उनीहरुले शेखर कोइरालालाई नै माइनस गरेर अगाडि बढ्न खोजे जस्तो देखियो । त्यसैले धनराजजीले फायर खोल्नु भएको जस्तो छ ।’ 

थापा १३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री लडेका थिए भने केसी देउवा समूहबाट । अहिले संस्थापन इतर समूहमा उनीहरू हाबी हुन खोजेको कोइराला पक्षका ती केन्द्रीय सदस्यको बुझाइ छ । उता संसदीय दलको निर्वाचनमा आफ्नो समूहका सिनियर नेताहरूको कै मत नपाएको थापा पक्षको गुनासो छ । देउवा ६४ मत ल्याएर संसदीय दलको नेता बन्दा थापाले २५ मतमात्रै पाएका थिए । त्यसबेला कोइराला–थापा समूहकै सांसदको सङ्ख्या ३२ थियो । 

आइतबारको बैठकमा भने २६ जना मात्रै सहभागी थिए । सो बैठकमा नै १५ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारीबारे चर्चा भएको थियो । १५ औँ महाधिवेशनमा सभापतिमा सहयोग गर्ने सर्तमा कोइरालाले थापालाई संसदीय दलको नेतामा प्रस्ताव गरेको कोइराला पक्षका नेताहरूको दाबी छ । पुस २ मा उम्मेदवार दर्ताअघि बसेको इतर समूहको बैठकमा महामन्त्री थापाले नै कोइरालालाई १५ औँ महाधिवेशनमा सभापतिमा सहयोग गर्ने वचन दिएको सांसद सुनिल शर्माको दाबी थियो । तर थापाले भने आफै सभापतिको उम्मेदवार बन्नका लागि आन्तरिक तयारी थालिसकेको देखिन्छ । त्यही अनुसार उनी निकट नेताहरू प्रस्तुत भइरहेको पाइन्छ ।

त्यो समूहभित्र कोइराला र थापालाई वैकल्पिक नेताका रूपमा स्थापित गराउन दुवै पक्ष निकट नेता लागिपरेको देखिन्छ । उपसभापति धनराज गुरुङ कोइराला नै संस्थापन इतरको निर्विकल्प नेता भएको बताउँछन् । कोइराला–थापा पक्षको आइतबार बसेको बैठकमा उपसभापति गुरुङले संस्थापन इतर पक्ष कोइराला नेतृत्वमै १५ औँ महाधिवेशनमा जानुपर्ने बताएका थिए । 

अहिले नै कोइरालालाई भावी सभापतिका रूपमा घोषणा गरेर जानुपर्ने उनको तर्क छ । ‘शेखर कोइराला समूहमा कुनै अर्को समूह छैन । हाम्रो समूहको नेता शेखर कोइराला हुनुहुन्छ । हामीले एक वर्षअघि रूपान्तरणका लागि शेखरलाई एक भोट भनेर लाग्यौँ,’ गुरुङको भनाइ छ । 

प्रवक्ता प्रकाशरण महत, नेता एनपी साउद लगायतले संस्थापन पक्षमा नेता कोइरालाको इन्ट्री गराउन चाहेको कांग्रेसवृत्तमा चर्चा छ । यता उपसभापति खड्काले महामन्त्री थापा र शर्मासँग रणनीतिक छलफल चलाएको पाइन्छ । 

१४ औँ महाधिवेशनमा कोइरालालाई सभापतिमा जिताउन नसकिएकाले रूपान्तरणका लागि पुनः अगाडि सार्नुपर्ने उनी बताउँछन् । ‘अहिले रूपान्तरणका लागि शेखर कोइराला नालायक भन्न मिल्छ ? यो मेरो नैतिकताले दिँदैन । हिजो शेखर कोइरालाको प्यानलमा बसेको हामी जित्नका लागि मात्र हो ?,’ उनको प्रश्न छ । आम चुनावमा प्रधानमन्त्री बन्छु भनेर थापाले मत मागेकाले इज्जत जोगाइदिन संसदीय दलको नेतामा कोइराला ब्याक भएको गुरुङ बताउँछन् । 

थापा भने कुनै हालतमा १५ औँ महाधिवेशनमा सभापति लड्ने तयारीमा देखिन्छन् । उनी पक्षीय एक नेताले भने, ‘संसदीय दलमा गगन दाइले पाएको मत हेर्दा अब शेखर कोइरालालाई सभापतिमा सहयोग गर्नुपर्छ भन्ने छैन । गगन दाइ सभापतिको तयारीमा लागि सक्नुभएको छ ।’ 

ती नेताका अनुसार केही समयपछि देश दौडाहामा निस्किने थापाको तयारी छ । उनले भने, ‘अब पार्टीको संगठन विस्तार र सभापतिको तयारी सँगसँगै हुन्छ । कार्यकर्ताको राय र सुझाव अनुसार अगाडि बढ्नुहुन्छ ।’ 

१४ औँ महाधिवेशनमा भावी सभापति भनेर थापालाई महामन्त्रीमा महाधिवेशन प्रतिनिधिले मत दिएको ती नेताले स्मरण गराए । ‘नयाँ पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी लगायतको उदयले पनि कांग्रेसमा युवा नेतृत्व चाहिन्छ भन्ने कार्यकर्ताको बुझाइ छ । यसलाई आत्मासाथ गर्दै उहाँले गतिविधि अगाडि बढाउनु हुन्छ,’ उनले भने । ती नेताका अनुसार १४ औँ महाधिवेशनकै समीकरण आगामी महाधिवेशनमा कायम रहे सम्भावना न्यून छ ।

‘भावी सभापतिका लागि नयाँ समीकरण बन्ने प्रक्रिया चलिरहेको छ । शेरबहादुर देउवाको गुट पनि एक ठाउँमा रहँदैन होला,’ ती नेताले भने, ‘उहाँ उम्मेदवार नहुने अवस्थामा को कता लाग्छन् पत्तो छैन ।’

विधानतः सभापति देउवाको यो अन्तिम कार्यकाल भएकाले संस्थापन पक्षमा उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापति लाइनमा देखिन्छन् । तर देउवा पक्षका केही नेता नेता शेखर कोइरालालाई संस्थापन पक्षबाट अगाडि सार्ने सुरमा देखिन्छन् ।

प्रवक्ता प्रकाशरण महत, नेता एनपी साउद लगायतले संस्थापन पक्षमा नेता कोइरालाको इन्ट्री गराउन चाहेको कांग्रेसवृत्तमा चर्चा छ । यता उपसभापति खड्काले महामन्त्री थापा र शर्मासँग रणनीतिक छलफल चलाएको पाइन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप