मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गृहको निर्देशनपछि हट्यो वैदेशिक रोजगारीमा जाने श्रमिकको छुट्टै लाइन

सोमबार, १६ माघ २०७९, १७ : १३
सोमबार, १६ माघ २०७९

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि व्यवस्था गरिएको छुट्टै लाइन हटाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आग्रहमा गृह मन्त्रालयको निर्देशनपछि विमानस्थलमा राखिने गरेको छुट्टै लाइन हटाइएको हो । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत प्रस्थानका लागि अध्यागमन जाँचका समयमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरूका लागि छुट्टै डेस्क रहँदै आएको थियो । चौतर्फी दबाबपछि उक्त डेस्क हटाइएको थियो । डेस्क हटाइए पनि अध्यागमन चेकका लागि श्रमिकहरूका लागि छुट्टै लाइनको व्यवस्था गरिएको थियो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले श्रमिकको लागि छुट्टै लाइनको व्यवस्था गरेर उनीहरूको आत्मसम्मानमा चोट पुग्ने काम भएको बताए । त्यही आधारमा त्यो लाइन हटाउनको लागि श्रम मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको थियो । उक्त पत्रको जवाफमा गृह मन्त्रालयले विभेद नगरी सहज रूपमा श्रमिकलाई पठाउन निर्देशन दिएको थियो । सोही आधारमा अध्यागमन चेकजाँचका लागि राखिएको छुट्टा छुट्टै लाइन हटाइएको उनको भनाई छ । 

‘छुट्टै लाइनको व्यवस्था गरिएपछि श्रमिकहरूको आत्म सम्मानमा ठेस पुगेको थियो । विदेश यात्रामा जाने, अध्ययन बिदामा जाने, डिम्लो मेटिक भ्रमणमा जानेहरूलाई छुट्टै लाइनमा राखेर चेकअप गरिँदै आएको थियो,’ उनले भने, ‘त्यसरी वैदेशिक रोजगारीमा जानेलाई छुट्टै लाइनमा राखेर चेकअप गर्न थालेपछि श्रमिकको आत्मसम्मानमा चोट पुग्ने भयो ।’ 

श्रमिकको लागि छुट्टै लाइनको व्यवस्था गरेर अध्यागमनका कर्मचारीहरूले अनेक प्रश्न सोधेर अनावश्यक दुःख दिने गरेका थिए । श्रमिकलाई अध्यागमन विभागमा अनावश्यक दुःख दिन थालेको भन्दै श्रमिकको तर्फबाट श्रम मन्त्रालयमा गुनासो गरिएको थियो । सोही गुनासोका आधारमा श्रम मन्त्रालयले गृह मन्त्रालयलाई सहजताका लागि पत्र लेखेको थियो । 

‘१० थरीका कुराहरू सोध्ने । श्रमिक भनेर छुट्टै किन व्यवस्था गर्नुप-यो भनेर गुनासो आएपछि हामीले गृहलाई पत्र पठाएका थियौँ । सोही आधारमा गृह मन्त्रालयले श्रम मन्त्रालयको पत्र अनुसार काम गर्नु भनेर निर्देशन दिएको थियो । उक्त निर्देशन कार्यान्वयनमा गइसकेको छ,’ प्रवक्ता घिमिरेले भने ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप