आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

वाम एकताको प्रक्रिया राष्ट्रपतिको चुनावपछि मात्रै अघि बढ्ने

बिहीबार, १९ माघ २०७९, १८ : ०४
बिहीबार, १९ माघ २०७९

काठमाडौँ ।  वाम एकताको प्रक्रिया राष्ट्रपतिको चुनावपछि मात्रै हुने भएको छ । राष्ट्रपतिको चुनाव फागुन २५ र उपराष्ट्रपतिको चैत ३ गते हुने कार्यतालिका बनाएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव अघि वाम एकता हुने गरी सार्थ छलफल हुने सम्भावना कम देखिएको हो ।

नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबीच पार्टी एकता गर्ने गरी धेरै चरणमा छलफल भई सकेका छन् । दुवै पार्टीवीच एकता गर्न माओवादीबाट कृष्णबहादुर महरा र नेसपा सह अध्यक्ष गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता टोली सघन संवाद गरिरहेका छन् । अब माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेसपा अध्यक्ष बाबुराम भट्टराई तहबाट छलफल गरेर टुङ्ग्याउन मात्रै बाँकी छ । तर, तत्काल दुई पार्टीवीच एकता गर्ने विषयमा मोटामोटी समझदारी बनिसके पनि थोरै समय लाग्ने देखिएको नेसपा नेता श्रेष्ठले बताए । 

‘अहिले पार्टीका बैठक, सरकार र राष्ट्रपतिको चुनावले गर्दा धेरै छलफल र बहस गर्न पाएको छैन । हामीले प्राप्त समय पनि दिन पाएका छैनौँ’ श्रेष्ठले भने, ‘अब राष्ट्रपतिको चुनावपछि समय पनि हुन्छ, त्यसपछि पार्टी एकताले पूर्णता पाउन सक्छ ।’ आफूहरुले फागुन मसान्तसम्म पार्टी एकता गर्ने योजना बनाएकाले निर्धारित समयमा पुरा गर्ने लक्ष्य बनाएको श्रेष्ठले बताए ।

अहिले माओवादी स्थायी समिति बैठक गत माघ १२ गतेदेखि चलिरहेको छ । प्रधानमन्त्री प्रचण्डले पार्टी बैठकलाई समय दिन नसक्दा प्राप्त छलफल हुन सकेको छैन । माघ महिनामा बस्ने भनिएको केन्द्रीय समिति बैठक समेत राष्ट्रपतीय चुनावपछि गर्ने तयारी गरिएको छ । केन्द्रीय समिति बैठकमा प्राप्त छलफल गरेर वाम एकता ध्रुवीकरणमा जाने माओवादी तयारी छ ।

तर, माओवादी केन्द्र र नेसपावीच पार्टी एकता गरेर नेकपा समाजवादी पार्टी बनाउने विषयमा मोटामोटी समझदारी भई सकेको माओवादी एक नेताले बताए । पार्टीको नाम माओवादी नराखेमा एकीकृत समाजवादी, जसपा लगायत अरू कम्युनिस्टलाई जोड्न सजिलो हुने भएकाले नाम नेकपा समाजवादी पार्टी हुन सक्ने ती नेताले बताए । चुनाव चिन्ह फेर्ने विषयमा वार्ता समितिमा छलफल भए पनि समझदारी भने भई नसकेको ती नेताले बताए । तत्काल माओवादी केन्द्र र नेसपावीच एकता भएपछि मात्रै एकीकृत समाजवादी र जसपासंग छलफल हुने भएको छ ।

एकीकृत समाजवादीसँग एकता गर्न एक चरण छलफल भई सकेको छ । दुवै पार्टीले आ–आफ्ना डकुमेन्ट आदनप्रदान गरी सकेका छन् । पार्टी एकताका विषयमा दुई पार्टीको प्रारम्भिक चरणमा भए पनि राष्ट्रपतीय चुनावपछि मात्रै छलफल हुने बताएको छ । यस्तै माओवादी केन्द्रले जसपासँग पार्टी एकताका विषयमा छलफल गर्ने तयारी गरेको छ । यद्यपि माओवादीले जसपासँग औपचारिक रूपमा छलफल गरेको छैन । वाम शक्तिहरुसंग एकता गर्न एकीकृत समाजवादीले महासचिव बेदुराम भुसाल र जसपाले राजेन्द्र श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएको छ । तीन पार्टीले वाम एकता गर्न वार्ता टोली बनाए पनि एकता हुने गरी सार्थक छलफल हुन पाएको छैन । अब राष्ट्रपतीय चुनावपछि परिस्थिति सबै सहज हुने नेताहरूको भनाइ छ ।

एमाले बाहेक आम जनता पार्टी, विप्लव नेतृत्वको नेकपा, धमेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत पार्टीसँग समेत पार्टी एकताका विषयमा छलफल गर्ने योजना बनाएको छ । एमाले बाहेक पार्टीसँग एकता गरेर माओवादी अध्यक्ष प्रचण्डले शक्तिशाली पार्टी बनाउने गृहकार्यमा जुटेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप