शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

नेपालको रियलस्टेट क्षेत्र व्यवसायिक बन्न सकेको छैन : मन्त्री अधिकारी

आइतबार, २३ वैशाख २०८१, १३ : ४८
आइतबार, २३ वैशाख २०८१

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीले ‘रियलस्टेट’ क्षेत्रले नेपालमा व्यवसायिक आकार लिन नसकेको बताएका छन् ।  आजदेखि ललितपुरमा सुरु ‘रियलस्टेट’ मेलामा सम्बोधन गर्दै मन्त्री अधिकारीले घरजग्गाको व्यवसायले व्यवसायिक आकार लिन नसकेको बताएका हुन् ।

उनले भने, ‘विदेशमा रियलस्टेट व्यवसाय प्रतिष्ठित व्यवसायीका रूपमा छ । नेपालमा पनि यो व्यवसाय प्रतिष्ठित व्यवसाय बन्न सक्ने पर्याप्त आधार छन् ।’ यसबाहेक घरजग्गा व्यवसायमा पारदर्शिता कायम गर्ने विषय मुख्य चुनौतीका रूपमा रहेको समेत उनको भनाई छ । रियलस्टेट क्षेत्र करको दायरामा आउन नसक्दा राज्यले आम्दानीको ठुलो स्रोत गुमाइरहेको उनको भनाई छ ।

‘नेपालमा घरजग्गा व्यवसायलाई हेर्ने दृष्टिकोणमा सकारात्मक सुधार हुन सकेको छैन,’ मन्त्री अधिकारीले भने, ‘व्यावसायिकता विकास र पारदर्शितामा सुधार गरेर यो व्यवसायलाई हेर्ने नजर फेर्न जरुरी छ ।’ घरजग्गाको कारोबारमा आएको गिरावटलाई सुधार्ने प्रयाससहित सरकारले विभिन्न उपाय अवलम्बन गरेको मन्त्री अधिकारी बताउँछन् ।

‘कित्ताकाटमा देखिएको समस्या समाधान गर्न सरकारले भू–उपयोग नियमावलीमा संशोधन गरेको छ,’ उनले थपे, ‘लगानीकर्तालाई सहजीकरण गर्ने लक्ष्यसहित केही नेपाल ऐनमार्फत भूमिसम्बन्धी ऐनलाई समेत संशोधन गरिएको छ ।’ 

यसबाहेक घरजग्गा व्यवसायलाई पारदर्शी र भरपर्दो बनाउन मालपोत ऐनलाई संशोधनमार्फत कारोबारलाई व्यवस्थित बनाइएको मन्त्री अधिकारीको भनाई छ ।

‘घरजग्गा कारोबारलाई विश्वासिलो, पारदर्शी र भरपर्दो बनाउन र राष्ट्रिय अर्थतन्त्रलाई योगदान पुर्‍याउने बनाउनका लागि मन्त्रालयले आवश्यक काम गरिरहेको छ,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप