मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

गण्डकीमा विनियोजन ऐन संशोधन गरिँदै

शनिबार, २१ माघ २०७९, १० : ५३
शनिबार, २१ माघ २०७९

पोखरा । गण्डकी प्रदेशसभाको शुक्रबारको बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ प्रस्तुत भएको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सीताकुमारी सुन्दासले सो विधेयकलाई सभासमक्ष प्रस्तुत गरेकी हुन् । प्रदेश सरकारले चालु आवको विनियोजित बजेट रकमान्तर गरी खर्च गर्न विधेयक संशाधनको प्रक्रिया अगाडि बढाएको हो । बजेट तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत पुँजीगत खर्च वृद्धि गर्ने सरकारको लक्ष्य छ ।

विनियोजन ऐन संशोधन विधेयकमाथि आउँदो मङ्गलबार बस्ने प्रदेशसभा बैठकमा छलफल हुने जनाइएको छ । शुक्रबारको बैठकको शून्य र विशेष समयमा प्रदेशसभा सदस्यले विकास निर्माण र जनजीविकाका सवालमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेशसभा सदस्य लिलबहादुर थापाले प्रदेशको स्वायत्त अधिकारलाई स्थापित गर्नुपर्ने बताए । उनले समृद्ध गण्डकीको लक्ष्य पूरा गर्न साझा योजना र सङ्कल्प चाहिने उल्लेख गरे । अर्का सदस्य पद्मा जिसीले नवलपुरका किसानले मल, बीउ र सिँचाइ सुविधा नपाएकोबारे सरकारको ध्यानाकर्षण गराए । उनले पछिल्लो समय बढ्दो मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि विशेष योजना ल्याउनुपर्ने बताए ।

प्रदेशसभा सदस्य सुधीरकुमार पौडेलले स्याङ्जाका किसानले चिस्यान केन्द्रमा राखेको दुई सय ९३ टन सुन्तला कुहिएकाले उचित क्षतिपूर्ति दिइनुपर्ने माग राखे । प्रदेशसभा सदस्य प्रकाश बरालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि प्रदेश सरकारले पहल लिनुपर्ने उल्लेख गरे ।

अर्का सदस्य हरिबहादुर भण्डारीले पटकपटक म्याद थप हुँदा पनि म्याग्दी जिल्ला अस्पताल भवन निर्माण हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए । प्रदेशसभा सदस्य विन्दु अधिकारी पहाडीले एकल महिलालाई आत्मनिर्भर बनाउन सीप र प्रविधि दिनुपर्ने बताइन् । 

प्रदेशसभा सदस्य डिल्लीराम सुवेदीले प्रदेश संरचनाको औचित्यमाथि उठिरहेको प्रश्नको भरोसायोग्य जवाफ दिनुपर्ने धारणा राखे । उनले प्रदेशसभाको पहिलो कार्यकालमा भएका कामकारबाहीबारे स्वेतपत्र जारी गर्नुपर्ने बताए । 

बैठकमा प्रदेशसभा सदस्य फणीन्द्र देवकोटा, टकराज गुरुङ, श्यामराजा महत, सरस्वती गुरुङ, लक्ष्मण पाण्डे, महेश भट्टराई, भोजराज अर्याल, भक्त कुँवर, दिलमाया पौवी, दयमन्ती रुचाल, गोविन्दबहादुर नेपाली, कृष्णप्रसाद पाठकलगायतले बोलेका थिए । प्रदेशसभाको अर्को बैठक आउँदो मङ्गलबार दिनको १ बजे बस्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप