शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन

बिहीबार, ०१ जेठ २०८२, १० : ४८
बिहीबार, ०१ जेठ २०८२

सारांश

  • अन्नपूर्ण गाउँपालिका-१, दोबामा ५ करोड बढीको लागतमा बनेको अस्पताल भवन दुई वर्षदेखि प्रयोगविहीन छ।
  • अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति, उपकरणको अभाव र सडकको जीर्ण अवस्था मुख्य कारण हुन्।
  • अस्पताल भवनमा आकस्मिक कक्ष, प्रयोगशाला लगायत ३५ वटा कोठा छन्।
  • अस्पताल सञ्चालनका लागि बेनी-जोमसोम सडकको स्तरोन्नति आवश्यक रहेको छ।

म्याग्दी । अन्नपूर्ण गाउँपालिका–१, दोबामा रु पाँच करोड बढी खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन छ ।  सङ्घीय सरकारको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने कार्यक्रमअनुसार अन्नपूर्ण गाउँपालिकाले दोबामा पाँच श्यया क्षमताको अस्पताल भवन निर्माण गरेको दुई वर्ष बितिसक्दा पनि प्रयोगविहीन भएको  हो । 

आठ वटा वडा रहेको अन्नपूर्णका सबै वडाका बासिन्दालाई पायक नहुनु, जनशक्ति र उपकरणको अभाव तथा भवन रहेको ठाउँसम्म पुग्ने सडकको जीर्ण अवस्थाका कारण भवन प्रयोग र अस्पताल सञ्चालन हुन नसकेको अन्नपूर्ण–१ का वडाध्यक्ष दिलीप गर्बुजाले बताए ।

‘सरकारी मापदण्डअनुसार अस्पतालका लागि आवश्यक पर्ने जग्गा अन्य वडामा नपाएपछि दोबामा अस्पताल बनाउने निर्णय भएको हो’, उनले भने- ‘भवन प्रयोगमा ल्याउन सबैभन्दा पहिले बेनी–जोमसोम सडकको भिरकाटेदेखि दोबासम्मको सडक स्तरोन्नतिका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल गरेका छौँ ।’

भवनमा आकस्मिक सेवा कक्ष, अन्तरङ्ग, बहिरङ्ग सेवा, प्रयोगशाला, औषधी भण्डार, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेको छ । भवन निर्माणका लागि रु पाँच करोड १२ लाख ६० हजारमा सम्झौता भएको थियो । 

अस्पतालका लागि आवश्यक पर्ने उपकरण, फर्निचर र भवन घेराबार गर्न धेरै रकम गर्नुपर्ने भएको छ । दोबाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम जग्गा निःशुल्क उपलब्ध गराएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप