शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

रोनाल्डोमाथि खनिए समर्थक : कृपया क्लब छाडेर जाऊ, अब संन्यास घोषणा गर !

बिहीबार, ०१ जेठ २०८२, १५ : ५५
बिहीबार, ०१ जेठ २०८२

समाचार सारांश

  • अल-नासरका समर्थकहरूले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई क्लबमा उपाधि दिलाउन नसकेको भन्दै आलोचना गरेका छन्।
  • रोनाल्डो सन् २०२३ मा अल-नासरमा आवद्ध भएपछि क्लबले कुनै पनि आधिकारिक उपाधि जित्न सकेको छैन।
  • समर्थकहरूले रोनाल्डोलाई क्लब छाड्न आग्रह गरेका छन्, किनभने उनी बिना नै क्लब राम्रो हुने विश्वास गर्छन्।
  • रोनाल्डोले एक्समा पोस्ट गरेको प्रतिक्रियामा समर्थकहरूले उनलाई क्लबबाट बाहिर जान आग्रह गरेका हुन्।

रियाद । यो सिजन पनि उपाधिविहीन बनेपछि अल–नासरका समर्थकहरू स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोमाथि खनिएका छन् ।

म्यानचेस्टर युनाइटेडका म्यानेजर एरिक टेन हागसँग विवाद बढेपछि रोनाल्डो सन् २०२३ मा नौ पटकको साउदी प्रो लिग च्याम्पियन अल–नासरसँग अनुबन्ध भएका थिए । पाँच पटकका बालोन डी’ओर विजेता अल-नासर पुगेपछि अन्य थुप्रै चर्चित खेलाडीहरू साउदी अरब पुगेका थिए । 

समर्थकहरूले अल–नासर पुगेपछि निकै उत्साहित थिए । साउदी पुगेपछि उपाधि जितेको संख्या आधारमा रोनाल्डोलाई प्रतिद्वन्द्वी लियोनेल मेस्सी निकट पुर्‍याउने उनीहरूले अपेक्षा गरेका थिए । तर, त्यस्तो हुन सकेन ।

रोनाल्डो अल–नासर पुगेपछि क्लबले एउटा पनि उपाधि जित्न सकेको छैन भने टोली विगत दुई सिजन साउदी प्रो लिग उपाधिबाट झनै टाढा पुगेको छ । त्यस्तै, साउदी किंग्स कप पनि टोलीले जित्न सकेको छैन । 

टोलीले सन् २०२३ मा अरब क्लब च्याम्पियनसिप जिते पनि त्यो आधिकारिक प्रतियोगिता थिएन । उपाधिविहीन यात्राबाट आजित भएका क्लबका समर्थकहरू अब रियल मड्रिडका लिजेन्डमाथि खनिएका हुन् ।

रोनाल्डोले एक्समा लेखेको पोस्टमा एक समर्थकले जवाफ फर्काएका छन्, ‘हामी तिमीलाई अर्को खेलमा चाहँदैनौँ ।’ अर्का समर्थक लेख्छन्, ‘कृपया, तिमी जाऊ ! अल–नासरलाई तिमी चाहिँदैन ।’

तेस्रो समर्थकले लेखेका छन्, ‘तिमीले इतिहासमा धेरै हासिल गरेका छौँ, हामीलाई थाहा छ । तिमीसँग इतिहास छ, हो, हामीलाई यो पनि थाहा छ । तर तिमीले अहिलेसम्म केही गर्न सकेनौँ । र हामीलाई थाहा छ तिमीले भविष्यमा पनि हामीलाई केही दिन सक्दैनौँ । त्यसैले कृपया क्लब छाडेर जाऊ, पोर्चुगल जाऊ, तिमीले जहिले पनि यसको सपना देखेका थियौ । त्यहाँ नै तिमी खुसी हुनेछौँ ।’

चौथो समर्थक लेख्छन्, ‘ब्रो, तिमीले अल–नासरलाई रोकिरहेका छौ, कृपया संन्यास लेऊ, धन्यवाद ।’

अल–नासरसँग रोनाल्डोको भविष्य अन्योलमा छ । पोर्चुगलका कप्तानले यसअघि नै क्लब छाड्नेबारेमा सोचिरहेका थिए । यो हप्ताको सुरुवातमा रोनाल्डो बिनानै टोलीले ९–० को जित हात पारेपछि अब समर्थकहरूले पनि उनी नहुँदा नै क्लबका लागि राम्रो हुने सोच्न थालेका छन् ।

गोलडटकम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप