शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशसभा : प्रदेश खारेजीदेखि सांसदलाई काम दिनु पर्ने माग

आइतबार, २२ माघ २०७९, १८ : २३
आइतबार, २२ माघ २०७९

मकवानपुर । बागमती प्रदेशसभाको आइतबार बसेको बैठकमा सांसदहरुले प्रदेश संरचना खारेजीदेखि सांसदलाई काम दिनु पर्नेसम्मका माग गरेका छन् ।

प्रदेशसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन हुन नसकेको धारणा व्यक्त गरेका थिए । 

उनीहरुले तरकारी सडकमा फ्याकेरे चितवनमा किसानले गरेको विरोधलाई प्रदेश सरकारले उचित सम्बोधन गर्नुपर्ने   माग गरेका थिए । देशमा विद्यामान बेथितिका कारण प्रेमप्रसाद आचार्य जस्ता कयांै युवाहरुको सपनाको हत्या भइरहेको उनीहरुको भनाई थियो ।

शून्य समयमा १७ जना प्रदेश सांसदहरुले प्रदेशका समयसामयिक र नागरिकहरुको समस्याका विषयहरु संसदमा आफ्नो धारणा राखेका थिए । 

बैठकमा राप्रपाकी आशा लामा, कुमारी तामाङ, एमालेका अमन कुमार मास्के, भारती पाठक, प्रमभक्त महर्जन, जयराम थापा, दिनेश चन्द्र देवकोटा, भरत बहादुर केसी, कांग्रेसका उत्तम जोशी, कुन्दनराज काफ्ले, उर्मिला सुनुवार, गीता गुरुङ, गोविन्द लम्साल, कुमार तामाङ, माओवादी केन्द्रका इश्वार सापकोटा, उर्मिला कुमारी लामा र नेमकीपाकी गीता काफ्लेले सम्बोधन गरेका थिए ।

एमालेका अमन कुमार मास्केले संघीयता आइसकेपछि नेपालमा अझै पनि केन्द्रीकृत मानसिकता कायम रहेको बताए । उनले केन्द्रीकृत मानसिकताका कारण नै प्रदेशको औचित्य पुष्टि हुन नसकोको बताए ।

‘संघीयता आइसकेपछि नेपालमा अझै पनि केन्द्रीकृत मानसिकता कायम रहेको छ । जसले गर्दा प्रदेशको औचित्य पुष्टि हुन सकेको छैन । हामीले प्रदेशको औचित्य पुष्टि गर्नुपर्छ ,’उनले भने ।

यस्तै राप्रपाकी आशा लामाले प्रदेश संरचनाको खारेजीको माग गरेकी छिन् । उनले देशले संघीयता धान्न नसक्ने भन्दै प्रदेश संरचना खारेजीको माग गरेकी हुन् ।

तिन तहको संरचनाको कारण जनतालाई करको मार परको उनको भनाई छ । संघीयताको कारण देशको अर्थतन्त्र खोक्रो भएको उनले बताइन् । 

त्यस्तै माओवादी केन्द्रका सांसद इश्वार सापकोटाले कृषि उत्पादनको बजार व्यवस्था हुनु आवश्यक रहेकाले सोतर्फ ध्यान दिन माग गरे । उनले यसतर्फ ध्यान दिन नसके किसानहरु नै पलायन हुनसक्ने बताए ।

‘चितवनमा किसानले उत्पादन गरेको तरकारी सडकमा फालेर आन्दोलन चलेको छ । कृषि उत्पादनको बजार व्यवस्था हुनु आवश्यक छ । किसान नै पलायन हुने अवस्थामा रहेका छन् । भारतबाट आउने तरकारी बन्देज गरेर प्रदेशको उत्पादनको व्यवस्था गर्नुपर्छ,’ उनले भने ।

कांग्रेसबाट निर्वाचित सांसद उत्तम जोशीले सरकारले कृषि उपजहरूको बजारीकरणका विषयमा सरकार गम्भीर हुनुपर्ने बताए । उनले विदेशबाट आयात हुने तरकारीहरुको गुणस्तर र विषादी मापन गरी मूल्यमा पनि अध्ययन गर्नुपर्ने धारणा व्यक्त गरे ।

‘चितवनका किसानले उत्पादन गरेको तरकारी सडकमा फाल्नु परेको अवस्था हामीले देखेका छौं । यस तर्फ सरकारले ठोस निर्णय गरोस् भन्ने माग गर्दछु । म सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । विदेशबाट आउने तरकारीहरुको गुणस्तर जाँच हुनु पर्छ । विदेशी तराकारी मूल्य सस्तो हुनुको कारणप्रति सरकारले अध्ययन गर्नुपर्छ,’ उनले भने ।

कांग्रेसकी उर्मिला सुनुवारले राज्य व्यवस्था परिवर्तन भएपनि नागरिकको अवस्था परिवर्तन हुन नसकेको बताइन् । उनले समाजमा बढेको बेथितिका कारण प्रेम आचार्य जस्ता युवाहरुले आत्मदाह गर्नुपर्ने बाध्यता आएको बताइन् ।

कांग्रेस सांसद कुन्दनराज काफ्ले सरकारले स्ववियु निर्वाचनको सुनिश्चितता गर्नु पर्नै बताए । सरकारले २०३६ सालको विद्यार्थी आन्दोलनका उपलब्धि मर्न दिन नहुने उनले बताए ।

नेमकीपाबाट सांसद बनेकी गीता काफ्लेले भक्तपुरदेखि नगरकोटसम्मको सडक स्तरोन्नतीमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताइन् । उनले उक्त सडक विस्तार योजना अलपत्र हुँदा व्यवसायी, पर्यटक र स्थानीय नागरिकहरु कस्टकर जीवन बिताउन बाध्य भइरहेको बताइन् ।

‘भक्तपुरदेखि नगरकोटसम्मको सडक स्तरोन्नतीका नाममा अलपत्र छोडेको ८÷१० वर्ष भइसकेको छ । जनताहरु अत्यन्त पीडादायी र कस्टकर जीवन बिताउन बाध्य छन् । यसबाट पर्यटक र व्यवसायीलाई ठुलो मार परेको छ । यो समस्या हल गर्न प्रदेश सरकारले पहल र समन्वय गर्नुपर्छ अन्यथा एउटा पर्यटकीय गन्तव्य आँखा अगाडी नै ओइलाउने छ,’ उनले भनिन् ।

यस्तै एमालेका सांसद प्रमभक्त महर्जनले किसानहरूको समसया हल गर्न प्रदेश सरकारले पनि भूमिका निर्वाह गर्नुपर्ने बताए । उनले किसानहरूको रासायनिक मलको समस्या समाधान गर्न प्रदेश सरकारले पनि छुट्टै ऐन जारी गरेर अघि बढ्नु पर्ने माग गरे ।

‘प्रदेश सरकारले किसानहरूको मध्येनजार गर्दै रसायनक मलको प्राप्तताका लागि टुट्टै ऐन ल्याउनु पर्छ । कान्ति लोकमार्ग निर्माण अलपत्र छ । यसतर्फ पनि सरकार गम्भीर हुनुपर्छ,’ उनले भने ।

एमालेकी सांसद भारती पाठकले प्राकृतिक स्रोतको दिगो व्यवस्थापनले वर्तमान आर्थिक संकट टार्न सहयोग गर्न धारणा व्यक्त गरिन् । उनले  वन क्षेत्रको दिगो व्यवस्थापनको लागि सरकारले पहल गर्नुपर्ने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप