बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

अर्थतन्त्रलाई चलायमान बनाउन पूरक बजेट आवश्यक छः अर्थविद्हरू

सोमबार, २३ माघ २०७९, १३ : ००
सोमबार, २३ माघ २०७९

काठमाडौँ । अर्थविद्हरूले पूरक बजेट ल्याएर शिथिल अवस्थामा रहेको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्ने बताएका छन् । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको भन्दै अर्थविज्ञहरुले वर्तमान सरकारले चलायमान अर्थतन्त्र बनाउनको लागि औचित्य पुष्टि हुने गरी तत्काल पूरक बजेट ल्याउन आवश्यक रहेको सुझाव दिएका हुन् । 

उनीहरुले पछिल्लो समय बैङ्किङ प्रणालीमा तरलताको अभाव तथा ब्याजदर उच्च वृद्धि भएकाले बजारमा तरलता सहज बनाउनको लागि पूरक बजेट जरुरी रहेको समेत औँल्याएका छन् । 

अर्थविद् डा.डिल्लीराज खनालले अहिलेको बजेटमा राखिएको राजश्व सङ्कलनको लक्ष्य भेटाउन मुस्किल रहेकाले सरकारले पूरक बजेट ल्याउन आवश्यक रहेको बताए । उनले सरकारले पूरक बजेटको नाममा जथाभाबी, मनपरी ढङ्गले अर्को बेथिति निम्त्याउने र वित्तीय अराजकता सिर्जना गरेर थप समस्या बढ्न नदिने गरी अहिलेकै बजेट भित्र पुनः संरचना गरेर पूरक बजेट ल्याउन आवश्यक रहेको बताए । 

 सरकारले ल्याएको नीतिगत प्राथमिकता र साझा कार्यक्रम कार्यान्वयन गर्ने गरी पूरक बजेट ल्याउँदा मात्रै औचित्य पुष्टि गर्ने बताए । 

त्यस्तै, नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले सरकारले बजारमा लगानीयोग्य रकम बजारमा पठाउन अर्थमन्त्रीले पूरक बजेट ल्याउनुपर्ने बताए । उनले सरकारले पूरक बजेट नल्याए मुलुकको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । उनले वर्तमान सरकारले जसरी भए पनि बजारमा पैसा पठाउने काम गर्नुपर्ने देखिएकाले पूरक बजेट ल्याउन आवश्यक रहेको बताए । उनले वर्तमान सरकारले पछिल्लो समय अर्थतन्त्र र उद्योगी व्यवसायीहरूका समस्या समाधान गर्न मागहरू सुनेको देखिएको बताए । 

उनले अघिल्लो सरकारले ल्याएको चालु आर्थिक वर्षको बजेटलाई मध्यावधि समीक्षा गरेर आर्थिक वृद्धिदर,मूल्यवृद्धिको लक्ष्यमा परिमार्जन गर्न आवश्यक रहेको औँल्याए । 

डा. नेपालले वर्तमान अर्थतन्त्रको अवस्था हेर्दा ८ प्रतिशत आर्थिक वृद्धि हुने र  मुद्रास्फीति लक्ष्य अनुसार कायम राख्ने अवस्था नदेखिएको बताए । उनले अहिले सरकारले अर्थतन्त्रलाई जबरजस्त दबाएर राखेको भन्दै बजारमा लगानीयोग्य रकम नभएर व्यवसायीहरूले चाहेर पनि लगानी गर्न नसकेको बताए । उनले राष्ट्र बैङ्कले क्षमता अनुसार बजारमा लगानीयोग्य रकम पठाउने उपाय गरे पनि अपुग भएकाले सरकार सक्रिय हुन आवश्यक रहेको बताए । 

त्यस्तै, नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले वर्तमान सरकारको अर्थतन्त्रलाई चलायमान बनाउने मौका चुकाउन नहुने बताए । उनले वर्तमान सरकार सबै राजनीतिक पार्टीको साथ रहेकाले प्रधानमन्त्रीले समेत अर्थतन्त्र बलियो बनाउने काममा बढी केन्द्रित हुन आवश्यक रहेको बताए । पूर्व गभर्नर क्षेत्रीले अघिल्लो सरकार हुँदासँग मुलुकको अर्थतन्त्र बिग्रियो, भत्किहाल्यो भन्ने गरिए पनि वर्तमान सरकार आएसँगै अर्थतन्त्रमा केही सकारात्मक सुधार देखिएको बताए ।  डा. नेपालले ८ प्रतिशत आर्थिक वृद्धि हुन नसक्ने देखिए बताए पनि क्षेत्रीले भने सरकारले तीव्र रूपमा काम गर्नसके ८ प्रतिशत आर्थिक वृद्धि हुनसक्ने आँकलन गरे । 

पूर्व गभर्नर क्षेत्रीले  सरकारले भ्रष्टाचार न्यूनीकरणका निम्ति शून्य सहनशीलताको नीति लिएर अगाडि बढ्न आवश्यक रहेको बताए । उनले सीमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरी पुँजीगत खर्च बढाउने गरी टाक्स फोर्स नै बनाएर सरकार अगाडि बढ्नुपर्ने उल्लेख गरे । –न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप