संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुनेगरी नियमावलीमा व्यवस्था गरिने
_EZGKC7QmJr.jpg)
काठमाडौँ । संसदमा पेश गरिएका संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुनेगरी नियमावलीमा व्यवस्था मिलाउन प्रतिनिधिसभाका सांसदहरु सहमत भएका छन् ।
सोमबार सिंहदरवारमा बसेको प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको बैठकमा बोल्दै नेकपा (एमाले)का उपाध्यक्ष एवम सांसद सुवास नेम्वाङ, नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखक, जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले संसदमा पेश गरिएको संकल्प प्रस्ताव कार्यान्वयनका लागि सरकार बाध्य हुने गरी नियमावलीमा व्यवस्था गर्न उपयुक्त हुने बताएका हुन् ।
पूर्वसभामुख समेत रहेका एमाले सांसद नेम्वाङले संकल्प प्रस्ताव संसदबाट पास गर्नुपर्ने कुरालाई पनि नियमावलीमा बाध्यकारी व्यवस्थाको रुपमा राख्नुपर्ने आवश्यकता औंल्याए । सांसद नेम्वाङले भने, ‘किन हामी संकल्प प्रस्ताव विचार गरेर पास गर्छौ भने त्यसलाई कार्यान्वयन गर्न पर्छ भनेर हो । कार्यान्वयन गर्ने कुरा मात्रै संकल्प प्रस्तावमा राख्छौं भन्ने कुरालाई सुनिश्चित गरौं । त्यसो गरियो भने अलि बाध्यकारी हुन्छ कि ।’
नेपाली काँग्रेसका प्रमुख सचेतक लेखकले मन्त्रीले संसदमा संकल्प प्रस्ताव ल्याउन आवश्यक नरहेको धारणा राखे । उनले सरकारलाई निर्देशन दिने काम संसदको भएकाले सांसदहरुले मात्रै संकल्प प्रस्ताव संसदमा राख्न उपयुक्त हुने तर्क समेत गरे ।
प्रमुख सचेतक लेखकले भने, ‘मन्त्रीले संसदमा संकल्प प्रस्ताव राख्न पर्दैन । क्याविनेटबाट पास गरेर संसदमा गर्छौं भन्नु संकल्प नै होइन र । सरकारलाई निर्देशित गर्ने संकल्प भएकाले त्यसलाई सरकारले नै ल्याउनुपर्छ भन्ने छैन । प्रायजसो संकल्प भनेको के हो भने सरकारलाई कुनै राय व्यक्त गर्ने, सिफारिस गर्ने, सरकारको कुनै कुरामा असन्तुष्टि व्यक्त गर्ने र यसलाई यसरी गर भनेर सरकारलाई निर्देशन दिने उद्देश्य हो संकल्पको । त्यसकारण यो सबै कुरा पार्लियामेन्टले सरकारलाई गर भन्ने भएको हुनाले सरकारले आफै संकल्प ल्याएर पार्लियामेन्टबाट पास गराएर अघि बढनुपर्छ भन्ने कुराले खासै अर्थ राख्दैन । त्यसकारण यो नराख्दा पनि हुन्छ ।’
जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले २०७४ सालको प्रतिनिधिसभा बैठकमा पेश गरिएको एउटा संकल्प प्रस्तावको सूचना संघीय संसद सचिवालयमा ४ महिनासम्म अड्किएको स्मरण गराउँदै त्यसलाई पास गराउने र कार्यान्वयन हुने सुनिश्चितता नियमावलीमै व्यवस्था गर्नुपर्ने बताए ।
उनले संकल्प प्रस्ताव अघि बढाउने कुरामा सभामुखको आदेश मात्रै पर्खेर बस्ने अवस्थाको अन्त्य हुन आवश्यक रहेको समेत बताए ।
सांसद यादवले संकल्प प्रस्तावलाई संसदमा पेश गरेपछि त्यसको कार्यान्वयन सरकारले गर्नैैपर्ने पनि बताए । गत माघ १० गते गठन गरिएको २१ सदस्यीय सो मस्यौदा समितिलाई १५ दिन भित्र मस्यौदा तयारी पारी प्रतिनिधिसभा बैठकमा पेश गर्ने कार्यादेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्फा–जोमसोम सडक धमाधम कालोपत्रे
-
१२ बजे १२ समाचार: कांग्रेसको मधेस प्रदेश सरकार नेतृत्वमा दाबीदेखि, कोरोनाको जोखिमसम्म
-
आलम सफाइ प्रकरण र पतञ्जली जग्गा प्रकरणमा युवराज सफलकाे दुई छुट्टाछुट्टै उजुरी
-
बङ्गलादेशमा चुनावको सम्भावित मिति घोषणा
-
दोलखाको झ्याँकुमा बोलेरो दुर्घटना, १ जनाको मृत्यु
-
भारतमा कोभिड सङ्क्रमितहरूको सङ्ख्या पाँच हजार नाघ्यो