शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेशसभालाई प्रदेश प्रमुखको सम्बोधन : जनताको पक्षमा काम गर्नुपर्नेमा जोड (पूर्ण पाठसहित)

बिहीबार, २६ माघ २०७९, १४ : ४८
बिहीबार, २६ माघ २०७९

मकवानपुर । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले प्रदेशको अग्रगतिका लागि योजना तर्जुमा तथा आवश्यक नीति तथा कानुनको निर्माण प्रदेशसभा सफल र सक्षम रहनु पर्ने बताएका छन् । बिहीबार बसेको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले प्रदेशसभाले समाजमा रहेका बेथिति,  विकृति विसंगतिहरुको अन्त्य गर्नुपर्नेमा जोड दिए । यसै गरी उनले जनताको पक्षमा अविस्मरणीय काम गर्न पनि आह्वान गरे । 

उनले सङ्घर्ष र जनताको बलबाट अहिलेसम्म प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्दै समाजवादको लक्ष्य हासिल गर्नतर्फ प्रदेशसभा अग्रसर हुनुपर्नेमा जोड दिए ।

समग्र प्रदेशको विकासका लागि आ–आफ्नो क्षेत्रबाट अग्रसर हुन उनले आग्रह गरे । उनले अहिले सम्भावनाका चुनौती रहेको बताउँदै यसलाई पार गर्न सके सफलताको क्षितिज हासिल गर्न सकिने बताए ।

नागरिकको आधारभूत आवश्यकता पूरा गर्न र संविधानले व्यवस्था गरेका लक्ष्य प्राप्तिका लागि संसद्ले आवश्यक कदम चाल्नु पर्ने उनको भनाइ छ । उत्पादन तथा जनजीविका र औद्योगिकीकरणसँग जोड्नु प्रदेशसभाको  प्राथमिकतामा पर्ने उनले बताए । बनहरूको संरक्षण र सदुपयोग गरी सम्भावित क्षेत्रहरूमा काम गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने भन्दै त्यस तर्फ अग्रसर हुन उनले आग्रह गरे ।

किसानमैत्री नीति तर्जुमा गरी कृषि उत्पादनको बजार सुनिश्चित गर्ने, मल, बिउ–विजन र प्रविधि उपलब्ध गराउने तर्फ प्रदेशसभा गम्भीर हुनु पर्ने उनले बताए । कृषि उत्पादनहरू बिक्री नभएर सडकमा फ्याँक्नु पर्ने बाध्यताबाट मुक्त हुन सरकारले बजार व्यवस्थापन गर्नु पर्ने उनको भनाई छ ।

 

यस्तो छ पूर्ण पाठ

बागमती प्रदेशसभाका माननीय सभामुख महोदय,

माननीय सदस्यज्यूहरू,

सर्व प्रथमतः म यो लोकतान्त्रिक संविधानले गरेको व्यवस्था बमोजिम प्रदेशसभा सदस्यहरूको दोस्रो निर्वाचन पश्चात् बनेको यो गरिमामय प्रदेशसभामा निर्वाचित भएर आउनु भएका सम्पूर्ण सांसदहरूप्रति बधाई ज्ञापन गर्न चाहन्छु । तपाईँहरू एउटा यस्तो प्रदेशको गरिमामय सदनमा विधि निर्माताको हैसियतले उपस्थित हुनुहुन्छ, जुन प्रदेशमा लोकतान्त्रिक गणतन्त्र नेपालको सङ्घीय राजधानी रहेको छ, जसलाई मेची–कालीदेखि हिमाल तराईसम्मका जनताको केन्द्र मानिन्छ र जहाँ विश्व सम्पदा सूचीका कैयौँ महत्त्वपूर्ण स्थानहरू रहेका छन् । यो गरिमामय सदनमा माननीय सांसदज्यूहरुका माझमा आफूलाई पाउँदा मैले गौरवबोध गरिरहेको छु ।

हाम्रो प्रदेश पाँच हजार वर्ष यताका कला–कौसल, सभ्यता र संस्कृतिका कारण गौरवमय छ । भूगोल र जनसङ्ख्याका दृष्टिले पनि हाम्रो प्रदेश अत्यन्तै महत्त्वपूर्ण विविधतामा आधारित सहिष्णुताको जगमा विकास र पुस्तान्तरण हुँदै आएको विषयमा सबै माननीयज्युहरु भलीभाँति जानकार हुनुहुन्छ । अब सिंगो प्रदेशको अग्रगतिका योजना तर्जुमा गर्न तथा समाज र समयको उद्बोधनलाई मनन गर्दै आवश्यक नीति, नियम र कानुनको निर्माण एवं परिपालना, छुवाछुत, महिला हिंसा, मानव बेचबिखन र लागु औषधको ओसार–पसारजस्ता विकृति विसंगतिहरुको अन्त्य गर्न दृढ सङ्कल्पका साथ  राष्ट्रप्रति जिम्मेवार रही जनताको पक्षमा अविस्मरणीय काम गर्न यो प्रदेशसभा सफल र सक्षम रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।

बागमती प्रदेशसभाको पहिलो कार्यकालमा मूल विधेयकका साथै संशोधन विधेयक, सालबसाली आर्थिक विधेयक र विनियोजन विधेयक समेत गरी जम्मा ७० वटा विधेयकहरू पारित भएका छन् । यस प्रदेशसभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ तुल्याउन, कर्मचारी प्रशासनलाई प्रभावकारी बनाउन र सेवाग्राहीहरूलाई सर्वसुलभ सेवा उपलब्ध गराउन आवश्यक पर्ने जनमुखी कानुनहरू निर्माण गरी प्रदेशसभाको सान्दर्भिकतालाई पुष्टि गर्ने नै छ भन्नेमा म विश्वस्त छु ।

गाँस, बास, कपास र शिक्षा–स्वास्थ्यजस्ता आधारभूत आवश्यकता पूरा गर्न संविधानले निर्दिष्ट गरेका लक्ष्य प्राप्तिका लागि आवश्यक कदम चाल्नु छ र समाजवादको लक्ष्य प्राप्तिका लागि उद्योग–धन्दाको स्थापना, विकास र रोजगारी सिर्जना गरी समृद्ध प्रदेश निर्माणमा मन, वचन र कर्मले अनवरत लागिपर्नु पनि हाम्रै दायित्वभित्र पर्दछ । जनजीविकाका आधारभूत आवश्यकता पूरा गर्ने सवालमा यदि विगतमा कहीँ कतै कमी–कमजोरी भए–रहेका छन् भने तिनबाट शिक्षा लिँदै नयाँ आयामहरू निर्माण गर्न समय सापेक्ष रूपान्तरणका लागि दृढतापूर्वक अघि बढ्न सक्नुपर्छ । अब टुटेका जीवकोषप्रति विलाप गर्न छाडेर नयाँ कोष निर्माणको समुचित प्रबन्ध गर्नुपर्छ ।

माननीय सदस्यहरू,

उत्पादनलाई जनजीविकाको सूत्रमा बाँधी औद्योगिकीकरणसँग जोड्नु हाम्रो प्राथमिकतामा पर्नुपर्छ । हाइड्रोजन प्लान्ट स्थापना गरी ऊर्जाको क्षेत्रमा वृहत् परिवर्तन ल्याउने सम्भावना यो प्रदेशले बोकेको छ । बनहरूको संरक्षण र सदुपयोग गरी हेटौडा वरिपरिका सम्भावित क्षेत्रहरूमा मरीच खेती र नदी किनाराका भिराला पाखाहरूमा चिउरी, केरा, आँप, कटहर, भूइँकटहर, लिची, एभोकाडो जस्ता फलफूल लगाई हाम्रो खानपान शैली परिवर्तन गर्न, अन्न उबार्न र विदेशी मुद्रा आर्जन गर्न सकिन्छ ।

परम्परागत निर्वाहमुखी कृषि प्रणालीलाई आधुनिक व्यवसायीक कृषि प्रणालीमा रूपान्तरण गर्ने वातावरण निर्माण गरी कृषि क्षेत्रमा आत्मनिर्भर हुने गरी योजना तर्जुमा गर्न विलम्ब गर्नुहुँदैन । किसानहरूले उत्पादन गरेको फसलहरूको बजार सुनिश्चित गर्ने,उन्नत किसिमका मल,बिउ–विजन र प्रविधि उपलब्ध गराउने लगायतका किसानमैत्री नीति तर्जुमा गरी बिक्री नभएर सडकमा फसल फ्याँक्नुपर्ने कहालीलाग्दो अवस्थाबाट मुक्त भई निर्धक्कतापूर्वक कृषकले सकेजती उत्पादन गर्ने र सरकारले बजार व्यवस्थापन गरिदिनुपर्छ ।

बजेट निर्माण र विनियोजन प्रणालीमा हिजो र आजबीच तात्त्विक अन्तर नभएको गुनासो सम्बोधन हुनुपर्छ । हामीले बजेट विनियोजन गर्दा ठुला ठुला जलविद्युत आयोजनाहरू, नमुना कृषि फार्महरू, प्राविधिक शिक्षालयहरू र उद्योगहरूको स्थापना गर्नेतर्फ लक्षित गर्न सक्यौँ भने मात्र रोजगारीका अवसरहरू सृजना हुनेछन्, उत्पादनमा वृद्धि हुनेछ, निर्यात बढ्नेछ र समग्र देशको अर्थतन्त्रमा देखिएको सङ्कट सामना गर्न मद्दत पुग्नेछ । उत्पादनमा तीव्रता दिँदै जैविक इन्धन आयातमा कटौती गर्ने, चुला चौकाहरूमा विद्युतीय उपकरण जडान गरी सुलभ बिजुली उपलब्ध गराएर ग्यासोलाइनको सट्टा विद्युत् उपयोग गर्ने, सिँचाइ सुलभताका लागि हर सम्भव प्रयत्न गरी कृषि उत्पादन बढाउने कार्यका लागि नीति र योजना बनाउने जिम्मेवारी पनि प्रदेशसभाकै काँधमा छ ।

प्रदेश सरकारप्रति जनताको आशा र भरोसामा कुनै किसिमको कमी आउन दिनुहुँदैन। जनताहरूको आशा एवं विश्वासलाई व्यवहारमा मूर्त रूप दिनका लागि जनमुखी सरकारको अवधारणा अनुरूप प्रदेश सरकारका नीति,कार्यक्रम,बजेट लगायतका विषयमा जनताको हित र न्यायका पक्षमा केन्द्रित रहन प्रदेशसभा सधैँ सचेत र क्रियाशील हुन आवश्यक छ ।

सभामुख महोदय,

राज्यको महत्त्वपूर्ण पदमा पुगेका व्यक्तिको सुझबुझपूर्ण र इमानदार प्रयासले सिङ्गो देशले नै काँचुली फेरेको धेरै देशहरूको उदाहरण हाम्रो सामु छन् । त्यसैले अहिले नगरे कहिले गर्ने ? हामीले नगरे कसले गर्ने ? भन्ने उक्तिलाई आत्मसात् गर्दै समुन्नत प्रदेश निर्माण गर्ने महाअभियानको थालनी गरी आ–आफ्नो ठाउँबाट दृढ इच्छा शक्तिका साथ इमानदारीपूर्वकता लागि परौँ । हाम्रो सामु चुनौतीका पहाडहरू छन् भने सम्भावनाको क्षितिज पनि खुल्ला छ ।

उपर्युक्त विषयहरूको समुचित सम्बोधन नभई सङ्घीयता सुदृढ हुन सक्दैन र राजनीतिक, आर्थिक एवम् सामाजिक रूपान्तरण हुँदैन । हामीले तय गरेको जिन्दगीको यात्रामा थुप्रै घुम्ती र मोडहरू तथा उतार – चढावहरू थिए । हाम्रो जीवन गाथा बहु आयामिक छ र अनमोल छ । तर अझै पनि हाम्रो जीवन गाथाको अन्तिम पन्ना पल्टाउन बाँकी छ । हामी भयङ्कर जङ्गलको यात्रामा हुँदा पनि हाम्रो यात्रा प्यारो थियो, गन्तव्य निश्चित थियो, हामीले जनतासङ प्रतिबद्धता व्यक्त गरेका छौँ की निदाउन अघि मिलौको दूरी पार गर्नेछौँ । 

अन्त्यमा,यो प्रदेशसभाको कार्यकाल पूर्ण सफल होस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु । धन्यवाद ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप