बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

हिउँदे वर्षा भएन, नेपालमा खाद्यान्न सङ्कट निम्तने चिन्ता

शुक्रबार, २७ माघ २०७९, १३ : ४७
शुक्रबार, २७ माघ २०७९

काठमाडौँ । जलवायु परिवर्तनका कारण हिउँदे वर्षा नहुँदा खाद्य चक्रमा समस्या पर्न सक्ने भन्दै विज्ञहरूले सरकारले खाद्य सुरक्षामा सतर्कता अपनाउनुपर्ने सुझाव दिएका छन् । जलवायु परिवर्तनका कारण विगतको तुलनामा यस पटक हिउँदमा हुने वर्षामा कमी आएको विज्ञहरूको भनाइ छ । 

देशका अधिकांश स्थानमा वर्षा हुन नसकेकाले हिउँदमा हुने खाद्यान्न उत्पादनमा कमी हुनुका साथै अन्य वातावरणीय समस्याहरू उत्पन्न हुनसक्ने प्रति सरकारलाई सचेत गराएका हुन् । विज्ञहरूले सरकारले हिउँद याममा हुने खाद्यान्नहरूको समयमा नै जोहो गर्न पनि आग्रह गरेका छन् । 

हिउँदे अवधिमा औसत वर्षा ६०.१ मिलिमिटर हुनुपर्नेमा अहिलेसम्म ७.९ मिलिमिटर मात्रै वर्षा भएको विज्ञहरूले बताए । न्युज एजेन्सी नेपालसँगको कुराकानीमा जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले यस पटकको हिउँदमा खडेरी परेकाले हिउँदको अवधिमा हुने खाद्यान्न उत्पादनमा कमी हुने भन्दै सरकारले समयमै खाद्यान्नहरूको सुरक्षामा जोड दिनुपर्ने बताए । 

उनले भने, ‘मङ्सिर १५ देखि फागुन १६ को अवधि हिउँदे अवधि हो । यस अवधिमा औसत वर्षा ६०.१ मिलिमिटर हुनुपर्ने हो । तर अहिलेसम्म वर्षाको हिसाबले हेर्ने हो भने ७.९ मिलिमिटर मात्रै वर्षा भएको छ । जुन १३.१ प्रतिशत मात्रै हो । यो भनेको लगभग ८६.९ प्रतिशत वर्षा भएको छैन । त्यस्तो अवस्थालाई खडेरीको अवस्था भनिन्छ । ५० प्रतिशत भन्दा बढी रेनफल डेफिसेन्सी भयो भने एक्युट ड्राउटको अवस्था भनिन्छ ।’

उनले फागुन १६ सम्म पनि कडा खालको वर्षा हुने सम्भावना नरहेको बताए । त्यो नदेखिनुको कारण समुन्द्र सतहको तापक्रम अहिले औसतभन्दा कम रहेको उनको जिकिर छ । ‘भूमध्य सागरमा जुन खालको सिस्टम विकास भएर पश्चिमी वायु बहनुपर्ने हो, पश्चिमी वायु जति बहनुपर्ने हो त्यसको फ्रिक्वेन्सी पनि घटेको र यसको बलियो पन पनि आउन सकेको अवस्था छैन । पश्चिमी वायु पनि कमजोर हुनु, भूमध्यसागरको सिस्टम बन्नुपर्ने हो जसले पश्चिम वायुलाई प्रभावित गर्छ, त्यहाँ पनि कमजोर हुनु र प्रशान्त महासागरको केन्द्र र समुन्द्रको पूर्वी दिशामा पनि कमजोर हुनु र अहिलेको अवस्थामा लालिना कन्डिसन भन्छ, यो भनेको समुन्द्रको सतहको तापक्रम ५० वर्ष भन्दा यताको अहिले कम छ ।’

‘३० वा त्यो भन्दा बढी समयमा कुनै कुरा औसतभन्दा कम भयो भने, औसत वा त्यो भन्दा माथि भयो भने त्यो जलवायु परिवर्तनको कारक हो । वाष्पीकरण भएर आउने बाफ नै बनेन जसले वायुमण्डलको हावा कमजोर भयो । पश्चिमी वायु नै बनेन । पानी र हिउँ पार्ने सिस्टम नै भएन । यो सुख्खा खडेरीको अवस्था हो । यसले हिउँदे बाली, पारिस्थितिय प्रणाली, वन सम्पदादेखि सबैमा यसको असर हुन्छ । त्यो असर भनेको हाम्रो जीविकोपार्जनमा पर्ने असर हो,’ उनले थपे, ‘यसले ल्याउने असर भनेको होल हाइड्रो लोजिकल सिस्टममा अर्थात पानीको मुहान सुक्ने, मुहानमा पानी कम हुने, चुरेबाट उत्पति हुने नदीनाला सिस्टम जुन छ । त्यसमा पानीको मात्रा कम हुन्छ । हाम्रो कृषि प्रणालीमा पनि असर गर्छ । कृषि उत्पादन घट्छ । खाद्य सुरक्षामा पनि असर गर्छ । समग्रमा यो अहिलेको परिस्थिति लामो समयको औसतभन्दा समुन्द्र सतहको तापक्रम कम हुनु, पश्चिमी वायु कमजोर हुनु, त्यसले गर्दा वाष्पीकरण नहुनु र वर्षा कम भएको अवस्थाले हामीलाई समग्रमा वातावरणमा यसको असर परेको छ । वायु प्रदूषणको अवस्था बढ्दो छ ।’

समस्या, हिमाली, उच्च पर्वतीय क्षेत्रमा कर्णाली, मुगु, डोल्पा जस्तो सुदूरपश्चिमको पहाडी क्षेत्रमा त्यता अलि पानी परेको तर काठमाडौँतिर पानी नपरेका जुन क्षेत्र छन्, त्यो क्षेत्रमा खडेरी भएको उनले जानकारी दिए । त्यसैले नेपालमा अब उत्पादन कम हुन्छ भनेर हिउँदे अवधिमा हुने उत्पादनको सुरक्षामा सतर्कता अपनाउन आवश्यक रहेको उनको सुझाव छ । उनले सिँचाइ प्रणालीमा पनि सुधार गर्नुपर्ने जिकिर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप