बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय

बागमती सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन

बुधबार, २७ जेठ २०८३, २२ : ११
बुधबार, २७ जेठ २०८३

सारांश

  • बागमती प्रदेश सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिले निर्देशन दिएको छ ।
  • समितिले 'प्रदेश युवा परिषद् ऐन, २०७६' को परीक्षण प्रतिवेदन र 'प्रदेश युवा नीति-२०७९' को समीक्षा प्रतिवेदन उपर सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको छ ।
  • समितिले 'एक विद्यालय-एक नर्स कार्यक्रम' को प्रशंसा गर्दै यसलाई थप प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

हेटौँडा । बागमती प्रदेश सरकारलाई निजी अस्पतालको विवरण पेस गर्न निर्देशन दिइएको छ । प्रदेशसभाको शिक्षा स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेशमा अनुमति पाएका निजी अस्पतालहरूको विवरण पेस गर्न निर्देशन दिएको हो ।

बैठकले स्वास्थ्य क्षेत्रको पारदर्शिता र नियमनका लागि स्वास्थ्य मन्त्रालय र मातहतका निकायबाट आर्थिक वर्ष २०८२/०८३ मा नयाँ निजी अस्पताललाई दिइएको सञ्चालन अनुमति र नवीकरण गरिएका अस्पतालहरूको विस्तृत विवरण ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको समितिका सचिव प्रकाश चापागाईँले जानकारी दिए ।

उनका अनुसार बैठकले समितिका सदस्य एका लाल श्रेष्ठले पेस गरिएको ‘प्रदेश युवा परिषद् ऐन, २०७६’ को परीक्षण प्रतिवेदन–२०८३ र ‘प्रदेश युवा नीति–२०७९’ को समीक्षा प्रतिवेदन–२०८३ उपर सरोकारवालाहरूसँग छलफल गर्ने निर्णय गरेको छ । ऐनको प्रतिवेदन सभामा पेस गर्नुअघि र नीतिको प्रतिवेदन सम्बन्धित मन्त्रालयमा पठाउनुअघि सरोकारवालाहरूको सुझाव लिइने समितिको बैठकले निर्णय गरेको हो ।

बैठकले प्रदेश सरकारद्वारा सञ्चालित ‘एक विद्यालय–एक नर्स कार्यक्रम’ को प्रशंसा गर्दै उक्त कार्यक्रमलाई शिक्षा र स्वास्थ्यबिचको प्रभावकारी सेतुको रूपमा व्याख्या गरेको छ । विद्यार्थीहरूको शारीरिक, मानसिक तथा प्रजनन स्वास्थ्यमा सुधार ल्याउन र स्वस्थ सिकाइ वातावरण निर्माण गर्न यस कार्यक्रमले उल्लेख्य भूमिका खेलेको समितिको निष्कर्ष रहेको छ । समितिले उक्त कार्यक्रमलाई थप प्रभावकारी बनाउन निर्देशन समेत दिएको छ ।

समितिको बैठकले वार्षिक प्रतिवेदन तयार गर्न उत्तम जोशीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिमा ईश्वर सापकोटा, एकलाल श्रेष्ठ, रामकुमार पहाडी र शुष्पा भुजेल न्यौपाने सदस्य रहेका छन् । उक्त उपसमितिलाई आगामी जेठ ३१ गतेभित्र प्रतिवेदन तयार गरी सभापति समक्ष पेस गर्ने समय सीमा तोकिएको छ ।

समितिले प्रदेशका गौरवका तथा प्रमुख आयोजनाहरूमा पर्याप्त स्रोतसाधन सुनिश्चित गरी तोकिएकै समयमा सम्पन्न गर्ने वातावरण मिलाउन सम्बन्धित मन्त्रालयहरूलाई निर्देशन दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप