शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राष्ट्रपति निर्वाचन

आयोगले थाल्यो राष्ट्रपति निर्वाचनको काम, ०६८ कै जनगणना अनुसार मतभार कायम

सोमबार, ०८ फागुन २०७९, १५ : ३२
सोमबार, ०८ फागुन २०७९

काठमाडौं । फागुन २५ गते हुने राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले कार्यालय स्थापना गरेर काम सुरु गरेको छ ।

सोमबार आयोगले संसद् भवन नयाँ बानेश्वरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर काम सुरु गरेको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सोमबार कार्यालयको उद्घाटन गर्दै फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने र मतपरिणाम साँझ ७ बजेभित्र आइसक्ने जानकारी दिए । 

त्यसक्रममा राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गर्ने र फागुन २५ को निर्वाचनमा कसैको बहुमत नआए २६ गते नै अर्को निर्वाचन हुने प्रमुख थपलियाको भनाइ छ । अर्को पटकदेखि आफ्नै प्रदेशबाट नै राष्ट्रपति निर्वाचनमा मतदान गर्न सक्ने गरी कानुन संशोधन गर्न लागिएको पनि उनले जानकारी दिए ।

आयोगले फागुन १३ गते उम्मेदवारी दर्ता, फागुन १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र फागुन २५ गते मतदानको कार्यसूची यसअघि नै सार्वजनिक गरिसकेको छ ।

यसैबीच प्रमुख थपलियाले पछिल्लो जनगणनाको आधिकारिक नतिजा आयोगलाई प्राप्त नभएकाले २०६८ कै जनगणनाअनुसार मतभार कायम गरेर राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन हुने बताए । 

‘२०६८ सालको जनगणनाको आधारमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानुनको अनुसूची १ मा उल्लेख भएबमोजिम नै मतभार आधार मानी यो निर्वाचन सम्पन्न गर्ने कुरा यहाँहरुलाई जानकारी गराउँछु’, प्रमुख थपलियाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप