आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी आज हेटौँडा आउँदै

मङ्गलबार, ०९ फागुन २०७९, ०८ : १६
मङ्गलबार, ०९ फागुन २०७९

मकवानपुर । राष्ट्रपति विद्यादेवी भण्डारी आज हेटौँडा आउँदै छिन् । आजहेटौँडाअस्पतालको नव निर्मित भवनको उद्घाटनका लागि राष्ट्रपति भण्डारी आउने भएकी हुन्। राष्ट्रपति भण्डारी मध्यान्ह १२ः१५ बजे हेटौँडा आइपुग्ने समय तय भएको छ । 

राष्ट्रपति भण्डारीले अस्पताल भवन उद्घाटन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवम् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । कार्यक्रमका लागि अस्पतालको भवन वरपर सरसफाई गरिएको छ । मञ्च व्यवस्थापन, अस्पताल अगाडीको सडक निर्माण गरिएको रजिष्ट्रार प्रसाईले बताए । 

उनका अनुसार कार्यक्रमका लागि अस्पतालले ४ वटा उपसमितिहरू निर्माण गरी तयारी गरिएको छ । राष्ट्रपति भण्डारी आउने कार्यक्रमको लागि अस्पतालको भवन वरपर सरसफाइ तथा रंगरोगन, मञ्च व्यवस्थापन, प्रचार प्रसार तथा उचित सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । 

सङ्घीय सरकारको बजेटबाट निर्माण भएको उक्त भवनमा ७० शय्या अस्पताल सञ्चालनको क्षमता रहेको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य उत्सव चौलागाईले जानकारी दिए । नयाँ भवन निर्माण भएसँगै अस्पतालमा थप सेवा र सुविधा विस्तार गरी सञ्चालन भइरहेको उनको भनाइ छ । 

अस्पतालको पुरानो भवन साँघुरो भएपछि र सेवाग्राहीको चाप बढ्दा सेवा प्रवाहमा समस्या हुँदै आएको उनले बताए । उनका अनुसार नयाँ भवनबाट सेवा प्रवाह थालेपछि भने केही समस्याहरू समाधान भए पनि अझै थुप्रै सुधारहरू गर्न बाँकी रहेको छ । हाल दैनिक ७÷८ सयको दरमा बिरामीहरू आउने गरेको उनले बताए । 

सङ्घीय सरकारको ३५ करोड ३२ लाख रुपियाँको लागतमा निर्माण भएको उक्त भवनमा हाल २०० शय्याको अस्पताल सञ्चालन भइरहेको रजिष्ट्रार प्रसाईँले बताए । नयाँ भवन निर्माण भएसँगै हेटौँडा अस्पतालले आफ्ना सेवाहरू र जनशक्ति थप गरेर उपचारको कामलाई गुणस्तरीय बनाउँदै अघि बढेको उनले बताए । 

उनका अनुसार हाल हेटौँडा अस्पतालमा विशेषज्ञ चिकित्सकहरूसहितको सेवा दिँदै आएको र हाल २४ सै घण्टा सिटी स्क्यान सेवा, आइसियु सेवाहरू सञ्चालनमा रहेको छ । अस्पतालले केही समयमा नै एमआरआई सेवा र बालबालिकाका लागि एनआइसियू, पिआइसियू सेवा थप गर्ने तयारी भइरहेको उनले बताए । 

अस्पतालमा तत्कालीन विकास समितिको ६० शय्या र सरकारको ५० शय्या, नयाँ भवनको ७० शय्या तथा अतिरिक्त २० शय्या थप गरी २०० शय्या सञ्चालन रहेको छ । अस्पतालमा नाक, कान, घाँटी, बाल रोग, स्त्रीरोग, छाला लगायतका रोगका बिरामीका लागि विशेषज्ञ सेवा प्रदान गर्दै आएको अध्यक्ष प्रसाईँले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप