सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

जागिर नै छाडेर पाठेघरको मुखको क्यान्सरबारे सचेतना

आइतबार, १४ फागुन २०७९, १० : ०७
आइतबार, १४ फागुन २०७९

काठमाडौँ । एक दशक अघिसम्म पाठेघरको मुखको क्यान्सर भएका महिलाको अप्रेशन सफल भएपछि खुसीले गद्गद् हुन्थिन् क्यान्सर रोग विशेषज्ञ डा सरिता घिमिरे । 

उनी भरतपुर र भक्तपुर क्यान्सर अस्पतालको ओपीडीमा काम गर्दा के पाइन् भने पाठेघरको स्क्रिनिङ गर्न जाने महिलामध्ये धेरैलाई पाठेघरको मुखको क्यान्सर भइसकेको हुन्थ्यो । पाठेघरको क्यान्सर भएर अप्रेशन गरिएका आफन्तजनलाई उनको बारेमा सोधपुछ गर्दा मृत्यु भइसक्यो भनेको सुन्दा डा. घिमिरेलाई नरमाइलो लाग्थ्यो ।  

‘पाठेघरको अप्रेशन गरेपछि लामो समयसम्म बाँचेका बिरामीहरूको पनि अस्पतालसँग नमरुन्जेलसम्म नाता कायम राख्नुपर्ने बाध्यता देख्दा, पाठेघरको मुखको क्यान्सर भइसकेपछि मात्रै मैले उपचार गर्ने हो त ? मेरो खुसी अप्रेशन सफल हुँदासम्म मात्र हो त ?’ भन्ने प्रश्नले सताउन थाल्यो ।’

नफैलिएसम्म पाठेघरको मुखको क्यान्सरले समस्या दिँदैन । यद्यपि शरीरमा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर समय समयमा स्क्रिनिङ गरेमा भविष्यमा क्यान्सर हुन्छ, हुँदैन भनेर थाहा पाउन सकिन्छ । अर्थात् पाठेघरको मुखको क्यान्सर हुनुभन्दा १४÷१५ वर्षअघि नै थाहा पाउन सकिन्छ । तर, धेरैजसो महिला पाठेघरमा जटिल समस्या देखिएपछि मात्रै अस्पतालमा पुग्छन् । सय महिलामध्ये ९८ जना जटिल समस्या लिएर पुग्ने गरेका छन् ।

यी सबै तथ्य पर्गेल्दा एक दशकभन्दा लामो समयसम्म क्यान्सर रोग विशेषज्ञको रूपमा काम गर्ने क्रममा बिरामीको उपचार गरेर मात्रै उनलाई सन्तुष्टि मिलेन ।  

पाठेघरको मुखको क्यान्सर भई अन्तिम स्टेजमा थाहा पाएर उपचार गराउन आउनेलाई कम गर्न पूर्व अवस्थामा पहिचान गर्नु नै उनले महत्त्वपूर्ण ठानिन् ।

डा.सरिताको यसरी मोडियो बाटो

डा सरिता घिमिरेले पाठेघरको मुखको क्यान्सर भएर उपचार गर्नुभन्दा पहिला स्क्रिनिङमार्फत् पाठेघरको अवस्थाको जानकारी र जनचेतना फैलाउनु महत्त्वपूर्ण ठानिन् । त्यसैले, हुँदा खाँदाको क्यान्सर रोग विशेषज्ञको जागिरलाई थाती राखिन् । 

रोग लागेपछि उपचार गर्नु भन्दा रोग लाग्नै नदिनु महत्त्वपूर्ण ठान्दै उनले सन् २०११ मा पाठेघरको मुखको क्यान्सर हुनबाट जोगाउने उद्देश्यले नेपाल केयर क्यान्सर फाउन्डेसन स्थापना गरिन् । फाउण्डेशनमार्फत् पाठेघरको निःशुल्क स्क्रिनिङ, परामर्श र उपचार गर्न थालिन् ।

उनले निःशुल्क सेवा दिने उद्देश्यले स्थापना गरिएको संस्थामा सुरु सुरुमा गरैरसरकारी संस्था हो, स्क्रिनिङ परामर्श महँगो हुन्छ भनेर त्यहाँ जान डराउँथे । जबकि फाउन्डेसन स्थापना गरेको तीन वर्षसम्म डा.घिमिरेले निःशुल्क सेवा प्रवाह गरिन् । 

तीन वर्ष यता भने पाठेघर र स्तनको स्क्रिनिङ अनि परामर्श उपचारका लागि रजिष्ट्रेशनका नाममा न्यून शुल्क लिने गरिएको छ । 

धेरैले पाए नयाँ जीवन 

सामान्यतया कुनै पनि काम कि नामको लागि कि दामको लागि गरिन्छ । तर, क्यान्सर रोग विशेष डा. घिमिरेले न नामको लागि न दामको लागि काम गरिरहेकी छिन् । 

केही बुझ्ने साथीभाइ र आफन्तमार्फत सेवाभावले खोलेका संस्थालाई एनजीओको रूपमा हेरिदिँदा उनलाई सुरु सुरुमा नरमाइलो लाग्थ्यो । भन्छिन्, ‘यस संस्थाका लागि डोनेसन त मेरो पकेटको हो । यसो भन्दा मेरै वरिपरिका साथीभाइ, नजिकैका आफन्तले समेत सुरुमा पत्याएनन् ।’ 

फाउण्डेशनमा प्रत्येक वर्षमा ३ हजार जनाभन्दा धेरैले पाठेघरको स्क्रिनिङ गर्छन् । स्थापना भएदेखि २१ हजार महिलाले स्क्रिनिङ गराएका छन् । उनी भन्छिन्, ‘केयर सेन्टरमा देशका सबै जिल्लाबाट महिलाहरू स्क्रिनिङका लागि आउनु भएको छ होला ।’

फाउण्डेशनमा पहिलाभन्दा पाठेघर र स्तनको स्क्रिनिङ गर्न अलि खुलेर आउने क्रमशः बढेको छ । उनी भन्छिन्, ‘कहिलेकाँही महिलालाई पाठेघरको मुखको क्यान्सरबारे बुझाउनै समस्या छ । स्क्रिनिङ गर्दा पोजेटिभ रिपोर्ट देखिएको छ । एकदम सामान्य छ, थोरै उपचार गरेपनि निको हुन्छ । एक वर्षमा पाँच पटकसम्म परीक्षण गर्न भन्छौँ । तर अर्को ठाउँमा गएर अप्रेशन गरेर पाठेघर नै फाल्नुहुन्छ ।’

उनका अनुसार पाठेघरको मुखमा क्यान्सर बनाउने ह्युमन प्यापुलामा भाइरस महिला, पुरुष दुवैमा हुन्छ । स्क्रिनिङका क्रममा पोजेटिभ देखिँदैमा पाठेघर नै फाल्नु क्यान्सरको उपचार होइन ।

क्यान्सर रोग विशेषज्ञ डा. सरिता घिमिरेले व्यक्तिगत तवरबाट संस्थामार्फत सेवा मात्रै दिएकी छैनन् । पाठेघरको स्क्रिनिङ, पाठेघरको क्यान्सरविरुको खोप सम्बन्धमा निर्देशिका निर्माण गर्न पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी छन् । 

त्यति मात्रै होइन, स्क्रिनिङ सेवा विस्तारका लागि स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखासँग समन्वय गरी पाठेघर, स्तनको स्क्रिीनिङका लागि स्वास्थ्यकर्मीलाई संस्थामार्फत तालिम समेत दिदैँ आएकी छन् ।

डा घिमिरेले संस्था स्थापना गरेको सुरुवाती कालमा भिआइएबारे थोरैलाई जानकारी थियो । अहिले १० जनालाई सोध्यो भने एक जनाले सुनेकै हुन्छ । उनी भन्छिन्, ‘मेरो संस्थामा सय जना स्टाफ हुनु, ठूलो भवन हुनुमात्रै सेवाको फैलावट होइन । रुकुम, रोल्पा, हुम्लालगायत दुर्गमबाट फाउण्डेशनमा सेवाका लागि आउनु हुन्छ, मेरो लागि त्यही खुसीको कुरा हो ।’ 

कोही पहिलो पटक पाठेघरसम्बन्धि समस्या लिएर आएपनि अर्को पटक परीक्षण गर्न आउँदा आफूसँग थप एक दुई जनालाई स्क्रिनिङ गर्न गाउँ गाउँबाट ल्याउँदा प्रभावको फैलावट हो भन्ने उनलाई लाग्छ । 

वर्षमा १५ देखि २० जना क्यान्सर हुने सम्भावनाको एकदमै नजिक भएकालाई उपचारको दायरामा ल्याउनु भनेको झण्डै ८० प्रतिशत बचाएको उनको बुझाइ छ । उपचार कार्य र परीक्षण पहिचानले कार्यले उनलाई खुसी मिल्छ । 

उनका अनुसार स्तनको क्यान्सर लाग्यो भने बचाउन सकिँदैन । तर, पहिला नै परीक्षण गरी पत्ता लगाउन सकिन्छ ।  

कसरी सुरु भयो यात्रा

रामेछापमा जन्मिएकी डा.घिमिरे सानैदेखि घरमा स्कुलमा आफन्तले ठुलो भएपछि के बन्ने भनेर सोध्दा डाक्टर भन्ने गर्थिन् । सानैदेखि पढाइमा अब्बल घिमिरेले बुवा सरकारी जागिरे भएकाले बुवाको सरुवा जुन स्थानमा हुन्थ्यो, त्यही अध्ययन गरिन् । कक्षा ६ देखि भने सिद्धार्थ वनस्थली काठमाडौंमा भर्ना भई त्यहीबाट एसएलसी सकिन् । 

एबीबीएस, एमडी त्रिभुवन युनिभर्सिटी इन्स्टिच्युट अफ मेडिसिन, महाराजगञ्जबाट सन् २००३ अध्ययन पुरा गरेपछि सन् २००४ बाट उनले काम गर्न सुरु गरेकी हुन् । मास्टर्स उनले गाइनो र अफब्टटिक्समा गरेकी हुन् । त्यसपछि क्यान्सरसम्बन्धि विभिन्न अध्ययन, तालिम पाकिस्तानको क्यान्सर सेन्टरदेखि लण्डन र अमेरिकाबाट समेत लिएकी छन् । 

भरतपुर क्यान्सर अस्पतालबाट उनले चिकित्सकीय पेसा सुरु गरेकी हुन । त्यस्तै, भरतपुर क्यान्सर अस्पतालमा करिब ७ वर्ष काम गरिन् । केही समयमा किष्ट अस्पतालमा अध्यापन समेत गराइन् ।

बिहान उठेदेखि राती ननिदाउजेल उनी बिरामीको सेवामा तल्लीन हुन्छिन् उनी । सम्बन्धित निकायलाई तीव्र रूपमा देखा परेको पाठेघरको क्यान्सरबारे पहिचान, उपचार र नियन्त्रणका लागि जनशक्ति, उपकरण, भौतिक संरचना पूर्ण रूपमा व्यवस्थापन गर्न आजीवन घचघच्याइ रहने उनले सुनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप