सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
सदन

कांग्रेस–एमाले दुवैले संसद्‌मा प्रतिपक्ष बेन्च खोज्दा बैठक प्रभावित

बुधबार, १७ फागुन २०७९, १२ : ५४
बुधबार, १७ फागुन २०७९

काठमाडौँ । केही दिनअघिमात्र सरकारबाट बाहिरिएको नेकपा (एमाले) र सरकारमा सामेल हुन खुट्टा उचालेर बसेको नेपाली कांग्रेस दुवैले संसद्मा प्रतिपक्ष बेन्च खोजेपछि प्रतिनिधि सभा बैठक नै प्रभावित बनेको छ ।

बुधबार दिउँसो १ बजेका लागि तय भएको प्रतिनिधि सभाको बैठक दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछोडेपछि संसद् सचिवालयले सूचना जारी गरेर पूर्वनिर्धारित बुधबारको बैठक १५ दिनपछि बस्नेगरी चैत ५ गतेसम्मका लागि स्थगित गरेको छ । 

दुवै दलले प्रतिपक्षमा बस्ने अडान नछाडेपछि सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले बुधबारको बैठक विशेष कारणले बस्न नसकेको भन्दै सूचना जारी गरेका हुन् । 

त्यसअघि सभामुख देवराज घिमिरेले कांग्रेस र एमालेका संसदीय दलका नेता उपनेता र प्रमुख सचेतकहरूसँग टेलिफोनमार्फत कुराकानी गरेका थिए । त्यस क्रममा कांग्रेस का प्रमुख सचेतक समेत रहेका रमेश लेखक र एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले आफूहरू संसद्को प्रतिपक्ष बेन्चमै बस्ने सभामुखलाई जानकारी गराएका थिए । 

‘सभामुखसँग कुरा भएको थियो । त्यस क्रममा हामीले सरकार छोडिसकेकाले प्रतिपक्ष बेन्चमै बस्छौ भनेर भनेका थियौ’, उपनेता नेम्वाङले सभामुखसँग भएको संवाद उद्धृत गर्दै भने, ‘अव त यहाँ विपक्षी र प्रतिपक्ष राख्न नै अप्ठेरो पर्‍यो, कांग्रेसले पनि प्रतिपक्षमै बस्ने  भन्नुभयो, मैले ठिकै छ प्रतिपक्ष बढेको त राम्रै हो नि १ भनेर ठट्टा पनि गरे ।’

नेम्वाङले छेउछेउमा मिलाएर राख्न सुझाव दिएको पनि बताए । ‘साँघुरो गरेर भए पनि मिलेरै बसौला न भनेको थिएँ, मेरो कुरा हुँदासम्म उहाँ (सभामुख) बैठक स्थगित गर्ने मुडमा हुनुहुन्थेन । अहिले एमाले बसेको ठाउँमा (देब्रेतिर) प्रधानमन्त्री बस्ने एक सिट सारेर कांग्रेस र एमालेलाई प्रतिपक्षमा मिलाउन सकिन्छ होला पनि भन्दै हुनुहुन्थ्यो तर फेरि नसार्ने परेछन् किन हो थाहा भएन’, नेम्वाङको भनाइ छ ।  

नेम्वाङपछि सभामुख घिमिरेले कांग्रेस नेतासँग कुरा गरेका थिए । त्यस क्रममा कांग्रेस नेताहरूले आफूहरू सरकारमा गइनसकेकाले प्रतिपक्षमै बस्ने जानकारी दिएको सभामुख निकट स्रोतले जनाएको छ । यसरी दुवै दलले प्रतिपक्षको बेन्च रोजेपछि व्यवस्थापन गर्न समेत असहज हुने भएकाले बैठक नै स्थगित गरेर सभामुखले निकास खोज्नतिर लागेका छन् । 

आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ । फागुन १३ गते राष्ट्रपति निर्वाचनको कार्यक्रम सुरु भएपछि एमालेले सरकार छोडेर प्रतिपक्षमा पुगेको छ भने यसअघि कांग्रेस प्रतिपक्षमा बस्दै आएको थियो । तर अहिले कांग्रेस सत्ता गठबन्धनमा गए पनि सरकारमा गइसकेको छैन । 

संसदीय मामिलाका जानकारहरू यसरी आन्तरिक व्यवस्थापन नै गर्न नसकेर संसद् बैठक प्रभावित हुनु लाजमर्दो विषय भएको बताउँछन् । पूर्व सभामुख दमननाथ ढुङ्गानाले आन्तरिक व्यवस्थापन गर्न नसकेर बैठक धकेलेर थिति बसाल्नुपर्नेहरु नै थिति बिगार्नतिर लागेको बताए । 

‘थिति अनुसार नचल्ने, थिति बिगार्नेहरू नै धेरै भए । संसद्मा प्रतिपक्ष बेन्चमा को बस्ने भन्ने कुरा त नियममा पनि लेखिएको छ । परम्परा पनि छ’, ढुङ्गानाले भने, ‘नयाँ परिस्थिति उत्पन्न भएका बेलामा आपसी कुराकानी र अन्तरदलीय छलफलबाट पनि गर्न नसकिने कुरा होइन ।’

उनले यसले सार्वभौम जनताको जनप्रतिनिधित्व गर्ने संस्था सांसदकै अपमान गर्न खोजिएको आफूलाई महसुस भएको बताए ।

‘परिवर्तनलाई अस्वीकार गर्ने प्रवृत्तिहरूको बाहुल्य हुन थाल्यो । अहिलेको परिवर्तनलाई अगाडि बढाउन चाहने र नचाहनेबीच द्वन्द्व देखा परेको छ,यसैको अलमलमा परिवर्तन पक्षधरहरु परेका छन्’, ढुङ्गानाले रातोपाटीसँग भने । परिवर्तन पक्षधरहरूको ध्यान सत्ताबाहेक अरू कुरामा नरहेको पनि ढुंगानको भनाइ छ । ‘संसद्को संस्थागत विकास गर्ने, संविधानको संरक्षण गर्नेतर्फ यिनीहरूको ध्यान नै पुगेको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप