शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

बच्चा जन्माउन उमेरले छेक्दैन : डा. नूतन शर्मा

रजस्वला सुकेपछि पनि गर्भाधारण हुन सक्ने
शुक्रबार, १९ फागुन २०७९

काठमाडौं । निःसन्तानपन जटिल समस्या हो । निःसन्तानपनका कारण धेरै दम्पती सन्तानविहीन छन् । निःसन्तान दम्पतीले आइभीएफ अर्थात् (इनभिट्रो फर्टिलाइजेसन) प्रविधिमार्फत बच्चा जन्माएका छन् । आइभीएफ मार्फत बच्चा जन्माउन पनि उमेरको हदबन्दी हुन्छ भन्ने आमधारणालाई नर्भिक आइभीएफ सेन्टरले चिरेको छ ।

करियरसँगै पारिवारिक बाध्यताले समयमै बच्चा जन्माउन चाहेर पनि सम्भव नहुनेहरूलाई आइभीएफ प्रविधि वरदान साबित भएको छ । चिकित्सकहरु महिलाको उमेर छँदै अर्थात् ३० वर्षभन्दा कम उमेरमै बच्चा जन्माइसक्नु पर्ने सुझाव दिन्छन् । यद्यपि, आइभीएफ प्रविधिमार्फत सन्तान जन्माउन भने उमेरको हदबन्दी नहुने नर्भिक आइभीएफ सेन्टरकी वरिष्ठ टेस्टट्युब बेबी विशेषज्ञ डाक्टर नूतन शर्मा बताउँछिन् ।

महिलाको उमेर ढल्किए पनि बच्चा जन्माउन सम्भव भएको उनको जिकिर छ । नर्भिक आइभीएफ सेन्टरमा एक वर्षको उपचारपछि ललितपुरकी विमला रजकले सन्तान जन्माएकी हुन् । मंसिर ६ गते शल्यक्रिया मार्फत ५५ वर्षीया रजकले बच्चा जन्मएकी थिइन् । आइभीएफ प्रविधिमार्फत पहिलो प्रयास मै रजक दम्पतीले सन्तान जन्माएको डा. शर्माको भनाइ छ ।

रजक ५५ वर्ष हुँदा उनका श्रीमान् ६८ वर्षका थिए । डा. शर्माले भनिन्, ‘रजकका ३० वर्षीय छोराको आकस्मिक निधन भएपछि आइभीएफ विधिबाट सन्तान जन्माउनु भएको हो ।’

यसअघि पनि नर्भिक आइभीएफ सेन्टरमा उपचारपछि ५४ वर्षीय महिलाले जुम्ल्याहा बच्चा जन्माएको डा.शर्माले बताइन् ।

आइभीएफ विधिमार्फत बढ्दो उमेरमा गर्भधारण गरी बच्चा जन्माउनु जोखिम मानिन्छ । तर, उमेर ढल्किएकाले पनि उत्कृष्ट उपचारमार्फत सहजै आइभीएफ विधिबाट बच्चा जन्माउन सफल भएको उनको जिकिर छ । 

कसरी सम्भव ?

रजस्वला सुकेपछि पनि गर्भाधारण हुन सक्ने डा. शर्मा बताउँछिन् । आइभीएफ मार्फत उमेर ढल्किसकेका महिलाले पनि बच्चा जन्माउन सक्ने उनले बताइन् ।

‘तपाई यो नसोच्नुहोस् कि ४०/५० पुगिसकेँ, बच्चा हुँदैन भनेर । यदि आइभीएफ गरिएको खण्डमा बच्चा जन्माउन सकिन्छ,’ डा.शर्माले भनिन् ।

महिनावारी सुकेपछि हर्मोन परिवर्तन गराएर नियमित महिनावारी भइसकेपछि आइभीएफ विधिबाट बच्चा जन्माउन सकिने उनको भनाइ छ ।

बढ्दो उमेरका दुई जना महिलाले आइभीएफ उपचार विधिबाट चुनौतीका बिचमा सन्तान जन्माउन सफल भएको उनले बताइन् । उनी भन्छिन्, ‘महिलाको उमेर बढ्दै जाँदा हर्मोनमा आउने परिवर्तन, पाठेघरको अवस्था र स्वास्थ्यमा आउने विभिन्न समस्याका बाबजुद उत्कृष्ट विधि, दक्ष जनशक्ति र आधुनिक उपकरणका कारण आइभीएफ विधिबाट बच्चा जन्माउन सफल भएका हौँ ।’

अण्डा फ्रिजमा राखेपछि ५/७ वर्षपछि पनि जन्माउन सकिन्छ ?

परिवार सम्बन्धी योजना बनाएर विभिन्न कारणले तत्काल सन्तान जन्माउन असम्भव नहुने महिलाले अण्डा फ्रिजमा राखेर आफूलाई मन लाग्दा जन्माउन सक्ने डा.शर्माको भनाइ छ । मानौँ, कुनै युवती आफ्नो करियरमा फोकस भई बच्चा जन्माउने समय मिल्दैन भने युवा अवस्था मै अण्डालाई फ्रिज गरेर राख्न सकिने डा.शर्माले बताइन् ।

उनका अनुसार चाहेको खण्डमा युवा अवस्था अर्थात् २४/२५ वर्षमै वा ३० वर्ष अगाडि पनि अण्डा फ्रिज गर्न सकिन्छ ।

तत्काल विविध कारणले बिहेका लागि तयार नभएको अवस्थामा अण्डा फ्रिज गरेर राख्ने र सन्तान जन्माउन तयार भएपछि अर्थात् विवाह भएपछि आइभीएफ विधिमार्फत जन्माउन सकिने उनको भनाइ छ ।

त्यसरी फ्रिज गरेको अण्डा जति वर्षसम्म राखे पनि पनि उही अवस्थामा रहने उनले बताइन् । जस्तै २४/२५ वर्षको उमेरमा फ्रिजमा राखिएको अण्डा ५/७ वर्षपछि विवाह गरी सोही अण्डाबाट आइभीएफ विधिमार्फत गर्भाधारण हुँदा २४/२५ वर्षकै उमेरमा उत्पादन भएको अण्डा रहन्छ ।

गर्भधारण गर्ने महिलाको उमेर बढे पनि त्यसरी फ्रिजमा राखिएको अण्डा भने २४/२५ वर्षकै उमेरमा गर्भधारण गरिएझैँ हुने डा. शर्माको भनाइ छ ।

त्यसरी युवा अवस्थामा फ्रिज गरेर राखिएको अण्डाबाट धेरैपछि बच्चा जन्माउँदा पनि भ्रुण युवा अवस्थाकै हुने उनले बताइन् ।

उनले भनिन्, ‘महिलाको अण्डा फ्रिज गरेपछि तत्काल गर्भवती हुनुपर्छ, विवाह गर्नुपर्छ भन्ने हुँदैन । महिलाले इच्छाएको समयमा गर्भवती हुन सक्छन् ।’

नेपालमै कतिपय महिलाले अण्डा झिकेर फ्रिजमा राख्ने र आफ्नो उद्देश्य पूरा गरेर गर्भधारण गर्ने गरेको उनले बताइन् । ‘अण्डा फ्रिजमा राख्नु हुन्छ । काम, आवश्यक कुरा व्यवस्थापन गरेर आफूलाई सहज भएको बेलामा गर्भधारण गर्नुहुन्छ,’ उनले भनिन् ।

विदेशमा करियर र व्यस्तताका कारण आइभीएफ गर्ने प्रचलन बढी रहेको उनले सुनाइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया