बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
पहुँचविहीनको पीडा

पूर्वराष्ट्रपतिले लाखौँ पाए, गंगारामले केवल आश्वासन

बिहीबार, २५ फागुन २०७९, ०९ : ५५
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । माघको २३ गते, बिहान साढे १० बजे, डडेल्धुराको अमरगढीनगरपालिका– ५ की ३८ वर्षीया कमलादेवी ओझासहित चार महिला घाँस काट्न सामुदायिक वन नजिकैको निजी वनमा गएका थिए । उनीहरूलाई बँदेलले आक्रमण गर्‍यो । तीनजना त कसोकसो बँदेलदेखि भाग्न सफल भए, कमलादेवी भाग्न भ्याइनन् । 

बँदेलले उनलाई लछारपछार पार्‍यो, उनी बेहोस भइन् । रगताम्य र बेहोस उनलाई साथीहरूले नजिकैको बजारमा पुर्‍याए, त्यसपछि हतारहतार गरी जिल्ला अस्पताल पुर्‍याइयो । ‘बुहारीको शरीर छियाछिया भएको थियो । हात र खुट्टाको नसा चुँडिएका रहेछन् । डाक्टरले एक दिन एक रात लगाएर टाँका लगाए र अर्को दिन काठमाडौँ ट्रमा सेन्टरमा लैजान भने,’ कमलादेवीका जेठाजु गंगाराम भन्छन्, ‘अहिले बुहारीको अवस्था सुध्रिएको छ, तर हिँडडुल गर्न सक्दिनन्, हातका औँला चल्दैनन् । डाक्टरले भने अनुसार, पूर्ण निको हुन दुई वर्षजति लाग्न सक्छ । थेरापी गर्नुपर्छ । अब एक महिनाजति काठमाडौँ राखेर घर पठाउँछन् कि भन्ने आशा छ ।’  

एम्बुलेन्स, जहाज हुँदै काठमाडौँ आएर उपचार गर्दा आजसम्म चार लाख रुपैयाँ खर्च भएको गंगाराम बताउँछन् । ‘बिरामी राख्न मात्रै जहाजमा ६ वटा सिट प्रयोग गरिएको थियो । १६ हजारका दरले ६ सिटको ९६ हजार रुपैयाँ लाग्यो,’ उनले भने, ‘अहिलेसम्म ऋणधन गरेर उपचार गरियो । अब कसरी गर्ने ?’

कमलाका श्रीमान् देवराज वन कार्यालयमा कार्यालय सहयोगी हुन् । उनको तलबले लाउन–खानै मुस्किल पर्छ । कमलाको उपचारमा सरकारबाट कुनै सहयोग नपाएको गंगाराम बताउँछन् । बुहारीको उपचार खर्च जुटाउन उनी यताउता धाइरहेका छन् । उनकै क्षेत्रका हुन्, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा । ‘हामीले भोट हालेर जिताएका हुम् देउवालाई । केही सहयोग मिल्छ कि भनेर फागुन ९ गते उहाँलाई भेट्न गएको थिएँ । एउटा निवेदन दिएको छु, मन्त्रिपरिषद्को बैठकमा पुर्‍याएर सहयोग गराउँछौँ भनेका छन्, अहिलेसम्म केही भएको छैन,’ गंगाराम भन्छन्, ‘यस्तो दुर्घटनामा त सरकारले हेर्नुपर्ने होइन र हजुर ! खर्चै पाइनँ भन्दा सभापति देउवालाई भेट्न जाँदा उनका सहयोगीले १५ हजार रुपैयाँ लैजाऊ भनेका थिए, मैले यति पैसाले के हुन्छ भनेर लिन मानिनँ, मेरो गोजीमा राखिदिए ।’

हालै मात्र पूर्वराष्ट्रपति रामवरण यादव लगायतले उपचारको लागि भन्दै राज्यकोषबाट लाखौँ रुपैयाँ पाइरहँदा गंगारामले केवल आश्वासन पाएका छन् । सरकारले गत कात्तिक ३ को मन्त्रिपरिषद् बैठकबाटऔषधि उपचार खर्चबापत पूर्वराष्ट्रपति यादवलाई २५ लाख रुपैयाँ आर्थिक सहायता दिएको थियो ।

बँदेल आतङ्क, एक मृत्यु

२१ फागुन बिहान अमरगढी नगरपालिका– ३, डोटीघटालका ५२ वर्षीय गणेश पल्लेलाई बँदेलले आक्रमण गरेको थियो । प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार, सोही दिन अस्पतालमा पुर्‍याउने क्रममा पल्लेको मृत्यु भएको थियो ।

गंगारामका अनुसार, उनको गाउँ वरपर ठूलो सामुदायिक वन छ । यस वनमा पहिले बँदेल थिएन । पानीको स्रोत र झाडी भएकाले पछिल्लो १० वर्षयता यहाँ अन्यत्रबाट आएका बँदेल बस्न थालेका हुन् ।

‘आठ–नौ वर्ष भयो, बँदेलका कारण हामीले खेती गर्न सकेका छैनौँ । खेती गरे बँदेल रातमा आएर नष्ट गरिदिन्छ,’ गंगाराम भन्छन्, ‘बँदेल नियन्त्रणमा सरकारबाट कुनै पहल भएको छैन । खेती नष्ट हुँदा हामीले क्षतिपूर्ति पनि पाउँदैनौँ ।’

यसअघि पनि दाउरा–घाँसका लागि वनमा जानेहरूलाई बँदेलले कहिलेकाहीँ आक्रमण गरेर सामान्य घाइते बनाउने गर्थ्यो । ‘यसपालि बँदेल घाइते थियो भन्छन् । घाइते भएकाले आक्रमण गर्‍यो,’ गंगाराम भन्छन्, ‘सिकारीले गोली हानेर घाइते भएको हो कि भनेका छन् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप