शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै आयोगले शुक्रबार प्रतिवेदन पेश गर्ने

बिहीबार, २५ फागुन २०७९, २३ : ३९
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । राष्ट्रपतिको निर्वाचन सम्पन्न भएसँगै निर्वाचन आयोगले शुक्रबार प्रतिवेदन पेश गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले बिहीबारको निर्वाचनको परिणामसहितको प्रतिवेदन शुक्रबार राष्ट्रपतिसमक्ष पेश गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

आयोगले माघ १६ गतेको निर्णय अनुसार (बिहीबार) आजका लागि निर्धारित राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको विज्ञप्तिमार्फत छ । निर्वाचनमा ३३ हजार ८ सय दुई मतभार प्राप्त गरी राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन् भने अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरे । 

निर्वाचनमा ३ सय १३ संघीय सांसद र ५ सय १८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । 

राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम रहेको थियो । संघीय सांसद्को मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुने व्यवस्था छ ।

विजयी उम्मेदवार पौडेललाई निर्वाचन अधिकृतको कार्यालय, नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा आजै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचित भएको प्रमाणपत्र प्रदान गरे । 

 सो अवसरमा प्रमुख निर्वाचन आयुक्त थपलिया, आयुक्तहरू रामप्रसाद भण्डारी, डा. जानकी कुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा आयोगका सचिव गोकर्णमणि दुवाडीलगायतले पौडेललाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गरे । 

आयोगले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न सहयोग गर्ने सम्बन्धित सबैमा धन्यवाद व्यक्त गरेको छ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप