शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
नयाँ राष्ट्रपति

कटवाल प्रकरणमा राष्ट्रपतिको कदम सही भन्ने रामचन्द्र राष्ट्रपति बन्दै गर्दा...

बिहीबार, २५ फागुन २०७९, २० : १२
बिहीबार, २५ फागुन २०७९

काठमाडौँ । ‘प्रचण्डले ‘कू’को शैलीमा, सबै सत्ता साझेदार दलको असहमति हुँदाहुँदै, संविधानको धारा ४३ र १४४ विपरीत निर्णय गरेर, राष्ट्रपतिलाई छलेर सेनापति (रुक्मांगत कटवाल)लाई पुर्जी थमाएका थिए । संविधान र प्रक्रिया मिचिनबाट जोगाउन सदनमा बहुमत भएका १८ दलले राष्ट्रपतिलाई आग्रह गरे । संविधानको संरक्षक र सेनाको परमाधिपतिका हैसियतले प्रक्रिया पु¥याएर मात्रै अघि बढ्न सेना र सरकारलाई निर्देशन दिन राष्ट्रपति बाध्य भएका हुन्,’ १५–१७ कात्तिक २०६६ मा भएको कांग्रेस महासमिति बैठकमा तत्कालीन महामन्त्री रहेका रामचन्द्र पौडेलद्वारा प्रस्तुत मुख्य राजनीतिक प्रस्तावमा उल्लिखित पंक्ति, ( ‘नेपाली कांग्रेस ऐतिहासिक दस्तावेजहरू’बाट लिइएको हो) । 

संयोग यस्तो भएको छ, आज उनै पुष्पकमल दाहाल ‘प्रचण्ड’को हात–साथमा पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका छन् । पछिल्लोपटक कांग्रेस, माओवादी लगायतका दल गठबन्धन गरेर निर्वाचनमा गएका थिए । निर्वाचनको परिणामपछि कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादीका अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री पद दिन मानेनन् र राष्ट्रिय राजनीतिको गति र दिशा बदलियो, प्रचण्ड एमालेको साथमा प्रधानमन्त्री बने । 

प्रचण्ड एमालेसँग मिल्न जाँदा पौडेलको टिप्पणी थियो– ‘प्रचण्डले कांग्रेसलाई धोका दिएको भन्ने पक्षमा म छैन, प्रचण्डलाई धोका भयो ।’

यसअघि (पहिलो संविधानसभा कालमा) पौडेल १७ पटकसम्म प्रधानमन्त्रीको उम्मेदवार बनेका थिए, तर असफल भए । जिन्दगीमा एकपटक प्रधानमन्त्री वा राष्ट्रपति बन्ने धोको अझ भनौ अभिलाषा उनीमा देखिन्थ्यो । यता, कांग्रेसकै अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि यसपालि राष्ट्रपति बन्ने आकांक्षा प्रकट गरेका थिए । तत्कालीन सरकार र विद्रोही माओवादीसँगको वार्तादेखि बाह्रबुँदे सहमति, शान्तिसम्झौतासम्म आइपुग्दा सिटौला र प्रचण्डको सम्बन्ध विश्वसनीय बन्न पुगेको थियो । राष्ट्रिय राजनीतिमा अस्थिरता र संकट आउँदा प्रचण्ड भन्ने गर्छन्– बाह्रबुँदे सहमति र शान्तिसम्झौताका हस्ताक्षर गिरिजाबाबु... । ३२ सिटमा खुम्चेका बेला प्रधानमन्त्री बन्ने अवसर पाएका प्रचण्डलाई शान्तिसम्झौताकै जगबाट द्वन्द्वकालीन मुद्दालाई सल्ट्याउनुपर्ने ठूलो जिम्मेवारी छ । सिटौलालाई राष्ट्रपति बनाउन सके आफूलाई केही सहज हुने प्रचण्डको आकलन बुझिन्थ्यो । यद्यपि राष्ट्रिय राजनीति र राष्ट्रिय दलहरूको विविध अप्ठेराले पौडललाई राष्ट्रपति बन्ने बाटो दियो । 

राष्ट्रपति संस्था 

यस अघिका दुई राष्ट्रपति (रामवरण यादव र विद्यादेवी भण्डारी) विवादरहित रहन सकेनन् । प्रचण्ड गणतान्त्रिक मुलुकको पहिलो कार्यकारी प्रधानमन्त्री रहँदा तत्कालीन प्रधानसेनापति कटवाललाई गरेको कारबाहीमा संवैधानिक राष्ट्रपति रामवरण यादवले हस्तक्षेप गरे, प्रधानमन्त्रीबाट प्रचण्डले राजीनामा दिनुपर्ने परिस्थिति बन्यो । कार्यकारी प्रधानमन्त्रीको काम–कारबाहीमा हस्तक्षेप गरी राष्ट्रपतिले असंवैधानिक कदम चालेपछि राष्ट्रपति पदले नै ‘अर्को शक्ति’को रूप लिने अभ्यास हुन थाल्यो । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी त सक्रिय राजनीतिमै उत्रिइन् । 

कटवाल प्रकरण सम्बन्धमा प्रचण्डले २०७३ मा प्रकाशित एक पुस्तकमा भनेका छन्, ‘भारतसँग स्वाभिमानका आधारमा सम्बन्ध बनाउन खोज्दा मैले दुःख पाएँ । कटुवाल प्रकरण निमित्त कारण मात्रै हो, मैले कटुवालको पछाडि अर्को शक्ति छ भन्ने थाहा पाएको थिएँ ।’

महामन्त्री रहेका बेला कटवाल प्रकरणमा राष्ट्रपतिको कदम सही भन्ने पौडेल यतिबेला राष्ट्रपति चुनिँदा राष्ट्रपति संस्थाले कस्तो रूप वा गति लिने हो भन्नेमा आशंका गर्ने ठाउँ छन् ।

सामन्तको प्रतीकका रूपमा रहेको राजसंस्था ढालेपछि गणतन्त्रलाई गणतन्त्रकै प्रतीक बनाउँदै जाने हेतुले यसअघि दलहरू राष्ट्रपतिमा मधेस र महिलालाई समेट्न एकमत भएका थिए । यसपालि दलहरू गणतन्त्रलाई गणतन्त्रकै प्रतीकका रूपमा अगाडि बढाउन चुकेका छन् । हार्ने स्पष्ट भएपछि मात्रै एमालेले सुवास नेम्वाङ (जनजाति)लाई राष्ट्रपतिको उम्मेदवार बनाएको देखिन्छ । 

आफूलाई समाजवादको व्याख्याताको रूपमा पनि प्रकट गर्दै आएका पौडेलले आलेख वा पुस्तकमै भए पनि समावेशीकरण, समानता र सहभागिताको कुरा उठाउँदै आएका छन् । २०६२ मा प्रकाशित आफ्नो पुस्तक ‘अभिशप्त इतिहास : माघ १९  काण्डको नजरबन्दबाट’मा उनले लेखेका छन्, ‘समाजवादले पुँजीवादसँग केही न केही सम्झौता गरेर अगाडि बढ्नुपर्ने बाध्यतालाई हामीले अस्वीकार सक्दैनौँ । तर सामन्तवादको विलोप हुनैपर्छ । ...आज सबैतिरबाट आवाज आइरहेको छ– समावेशीकरण, सहभागितामूलक राजनीति, राज्यको पुनर्संरचना र सम्पूर्ण रूपले न्यायमूलक समाज । यसलाई कुन दर्शनको आधारमा, कुन विचारको आधारमा साकार रूप दिने ? यसका लागि एउटा छाता चाहियो ।’ 

आज उनी संविधानको रक्षक अर्थात् छाता संस्था राष्ट्रपति पदमा पुगेका छन् । जान्ने–बुझ्ने भएदेखि आजसम्मको आफ्नो जीवन पूर्णरूपमा राजनीतिमा समर्पित गरेका पौडेल पार्टीमा महामन्त्री, उपसभापति, संसदीय दलको नेता हुँदै सांसद्, सभामुख र उपप्रधानमन्त्री बनिसकेका छन् । यसपालि उत्पीडित समुदालाई अगाडि सारेको भए उनको कद बढ्ने नै थियो । 

मतभारका माध्यमबाट राष्ट्रपति जनताले नै चुन्ने हुन् । दलहरू र जनताले लडेर ल्याएको राष्ट्रपति संस्था यतिखेर जनताको अप्रत्यक्ष मतमार्फत पौडेलको जिम्मेवारीमा पुगेको छ । उनले राष्ट्रपति संस्थालाई कस्तो बनाउने हुन्, हेर्न बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप