शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

बागमती सरकारले पूर्णता पाएन, सत्ता समीकरणबारे के छ समस्या ?

बुधबार, ०१ चैत २०७९, १२ : १३
बुधबार, ०१ चैत २०७९

मकवानपुर । बागमती प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन । प्रदेशको ३ मन्त्रालय अहिलेसम्म मन्त्रीविहीन छन् । गत फागुन १४ गते राप्रपाका ३ मन्त्रीले राजीनामा दिएसँगै ती मन्त्रालय मन्त्रीविहीन बनेका हुन् । केन्द्रीय तहमा राष्ट्रपति निर्वाचनका लागि नयाँ सत्ता समीकरण बनेपछि केन्द्रसहित प्रदेश सरकारबाट राप्रपा अलग भएको थियो । राप्रपाले सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको थियो । राप्रपा सरकारबाट अलग भएलगत्तै रिक्त मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री शालिकराम जम्कट्टेल स्वयंले सम्हाल्दै आएका छन् । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित खानेपानी सिँचाई तथा ऊर्जा मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

केन्द्रमा समीकरण बदलिएसँगै एमालेले पनि संघीय सरकारबाट बाहिरिएर समर्थनसमेत फिर्ता लिइसकेको छ । तर, बागमती प्रदेशमा भने एमाले सरकारमै छ । प्रदेश सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि केन्द्रीय समीकरण अनुसार सरकार गठनको विषय अघि बढाउन सकेको छैन ।

माओवादी केन्द्रमा नयाँ सत्ता समीकरण अनुसार सरकार गठन गर्ने कि पुरानै समीकरणलाई प्रदेशमा निरन्तरता दिने भन्नेबारे अन्योल देखिएको छ । माओवादी केन्द्रकी पोलिटव्यूरो सदस्य एवम् प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानका अनुसार नयाँ समीकरण अनुसार सरकार गठनको विषयमा कुनै छलफल भएको छैन । केन्द्रबाट ठोस निर्देशन प्राप्त नहुँदासम्म उक्त विषयमा सरकार अघि बढ्न नसक्ने उनको भनाइ छ ।

७ वटै प्रदेशको भागबण्डा र जिम्मेवारीको विषय केन्द्रकै हुने भएकाले बागमतीमा अहिले नै यसै हुन्छ भन्ने अवस्था नरहेको र सो विषयमा केन्द्रीय तहमा दलका नेताहरुको छलफलले टुङ्गो लगाउने उनले बताइन् ।

kumari-ganga

यता प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले प्रदेशमा सबैलाई मिलाएर नै अघि बढ्ने प्रयत्नमा सरकार लागिरहेको बताए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई समेटेर अघि बढ्नेबारे माओवादी केन्द्रले आग्रह गर्दै आए पनि सो परिस्थिति बन्न नसकेको उनको भनाइ छ । सहमति हुन नसक्ने अवस्थामा सरकारले कसैलाई बस् वा जा भन्न नमिल्ने र अहिले सरकारमा भइरहेका दललाई जानुस् नभन्ने उनले बताए ।

‘हामीले सबैलाई मिलाउने प्रयत्न गरिरहेका छौँ । सो अनुसार सबै दललाई आग्रह पनि गरेका छौँ,’ उनले भने, ‘सरकारमा बस्न नसक्ने अवस्थामा कसैलाई बस् वा जा भन्न मिल्दैन । अहिलेको परिस्थितिमा सरकारमा भइरहेका दललाई जा भन्दैनौँ ।’

यद्यपि, केन्द्र र प्रदेशमा फरक फरक समीकरण बन्छ भन्ने आफूलाई नलागेको उनले बताए । उपराष्ट्रपतिको निर्वाचनपछि निर्वाचन आचारसंहिता हट्ने र त्यसपछि यस विषयमा छलफल अघि बढ्ने उनको भनाइ छ । एमालेले सरकारबाट बाहिरिने विषयमा कुनै जानकारी नगराएको र कांग्रेसले पनि खासै जोडबल नगरेको उनले जानकारी दिए ।

संघीय समीकरण अनुसार नै सरकार बन्छ : मुख्यमन्त्री जम्कट्टेल
 

प्रदेशका मुख्यमन्त्री जम्कट्टेलका अनुसार केन्द्रको समीकरण कै आधारमा प्रदेश सरकार गठन हुनेछ ।

उनले अन्य प्रदेशको अवस्थाले पनि यस विषयलाई निर्धारण गर्ने बताए । अन्य प्रदेशमा एमाले नेतृत्वको सरकारलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता नलिएको र बागमती प्रदेशमा पनि एमालेले होल्ड गरेको उनको भनाइ छ ।

केन्द्रको समीकरण अनुसार सबै प्रदेशमा समर्थन फिर्ता लिने तथा सरकार गठन हुने प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

‘अब त केन्द्रको समीकरण अनुसार नै जान्छ । कहिलेसम्म हो भनेर भन्न गाह्रो छ । तर, केन्द्रको समीकरण अनुसार नै जान्छ,’ उनले भने, ‘अन्य प्रदेशमा पनि एमाले नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको अवस्था छैन । त्यहाँ हाम्राले पनि फिर्ता लिनु प¥यो । त्यसै अनुसार बागमती प्रदेशमा पनि सरकार बन्ने हो ।’ उपराष्ट्रपति निर्वाचनपछि मात्र उक्त विषय निर्धारण हुने उनले बताए ।

गत पुस २५ गते प्रदेशको चोथो मुख्यमन्त्रीको रुपमा ७ दलको समर्थनमा जम्कट्टेल नियुक्त भएका थिए भने पुस २६ गते शपथ ग्रहण गरेका थिए । उनलाई माओवादी केन्द्रका २१, एमालेका २७, राप्रपाका १३, एकीकृत समाजवादीको ७, हाम्रो नेपाली पार्टीका २ गरी ७० जना सांसदको समर्थन थियो । कांग्रेसका ३७ र नेमकिपाका ३ जना सांसदले भने उनलाई समर्थन गरेनन् ।

सरकारको नेतृत्व लिएको एक सातामै संसदबाट विश्वासको मत लिँदा १०५ जना सांसदले पक्षमा मत दिएका थिए । उनलाई नेमकिपाका ३ जना बाहेकका सांसदले विश्वासको मत दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप