शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ठेकेदारले टेरेनन् उपप्रधानमन्त्रीको निर्देशन, अझै बनेन कमलामा अस्थायी पुल

शनिबार, ०४ चैत २०७९, ११ : ५३
शनिबार, ०४ चैत २०७९

जनकपुरधाम । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले दिएको निर्देशन ठेकेदारले अवज्ञा गरेका छन् । हुलाकी सडकखण्ड अन्तर्गत धनुषा र सिरहालाई जोड्ने कमला पुल भासिएपछि सर्वसाधारणलाई आवतजावत गर्न अस्थायी पुल बनाउन मन्त्री श्रेष्ठले दिएको निर्देशनलाई ठेकेदार कम्पनीले बेवास्ता गरेको हो । उपप्रधानमन्त्री श्रेष्ठले १५ फागुनमा कमला पुलको निरीक्षण गर्दै ठेकेदारलाई अस्थायी पुल बनाउन निर्देशन दिएका थिए । तर, ठेकेदार कम्पनी लुम्बिनी बिल्डर्सलाई उपप्रधानन्त्री श्रेष्ठले निर्देशन दिएको २० दिन बित्नलाग्दा पनि अस्थायी पुल अझै नबनेको सिरहा नगरपालिका ७ बसपिट्टिका राजदेव गोइत यादवले जानकारी दिए ।

नदीमा अस्थायी पुल नबन्दा आवतजावत गर्ने मोटरसाइकल चालकहरुलाई एक पटकमा २० रुपैयाँ तिर्नुपर्ने बाध्यता छ भने सर्वसाधारणलाई बाँसको अस्थायी पुलबाट यात्रा गर्नुपर्ने जोखिम छ । हुलाकी सडक निर्देशनालयका निर्देशक कृष्णकुमार महतोले भने अस्थायी पुल बनाउने कार्य सुरु भइसकेको बताए । बीचमा होली पर्व परेर  अस्थायी पुल अहिलेसम्म बन्न नसकेको उनले बताए ।

1677914646363 (1)

निर्देशक महतोले भने– ‘ह्युमपाइप मात्रै राखेर भएन । ह्युमपाईप मात्र राख्दा दब्दो रहेछ । त्यसैले तल एक लेयर ग्याबिन राखेर ह्युम पाइप राखिनेछ ।’ निर्देशक महतोले करिब दुई साता अघि पनि अस्थायी पुलको निर्माण कार्य सुरु भइसकेको बताएका थिए । तर, अहिलेसम्म पुल निर्माणको काम सुरु भएको छैन । नदीमा अस्थायी पुल निर्माण भएपनि सिरहाबाट मधेस प्रदेशको राजधानी जनकपुरधामसम्म पुग्न सर्वसाधारणलाई २८ किलोमिटरको यात्रा गर्नुपर्छ । तर, उक्त पुल नभए पूर्व पश्चिम राजमार्ग भएर करिब ८७ किलोमिटरको यात्रा तय गरेर जनकपुरधाम पुग्ने बाध्यता छ ।

२०६८ जेठ ३१ गते ४२ महिनाभित्र ४ सय ७० मिटर लामो पुल  निर्माण सम्पन्न गर्न पप्पु कन्स्ट्रक्सनसँग २४ करोड ९१ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सात वर्षमा पनि पुल निर्माण पूरा नगरेपछि हुलाकी राजमार्ग सडक निर्देशनालयले पप्पुसँगको ठेक्का तोडेको थियो । त्यसपछि १३ असार २०७८ मा लुम्बिनी बिल्डर्सलाई ठेक्का दिइएको थियो । पुलको निर्माण अन्तिम चरणमा पुगेपछि २०७८ साउनमा उद्घाटनको तयारी पनि गरिएको थियो । तर सुचारु नहुँदै नदीमा आएको बाढीका कारण पुल भासियो ।

पुल भासिएको करिब २१ महिनापछि मन्त्री श्रेष्ठले निरीक्षण गरेका छन् । मन्त्री श्रेष्ठले पुलको निर्माण कार्य दुई सातामा सुरु हुने बताएका थिए । तर, मन्त्रीको निर्देशन र घोषणा पश्चात पनि ठेकेदार कम्पनीले पुल निर्माणको कार्यलाई गति दिन सकेको छैन । भासिएको पुल अबको तीन महिनाभित्र बनाउन नसके वर्षायाममा कमलामा आउने बाढीले पुल निर्माण कार्य अवरुद्ध हुने देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप