शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : आजका शीर्ष १० समाचार

मङ्गलबार, ०७ चैत २०७९

आज २०७९ चैत ७ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

उपेन्द्र यादवको पुनरागमन

‘हार कर जितने वालेको बाजीगर कहते है’ । एउटा हिन्दी फिल्मको संवाद यतिखेर जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवको लागि उपयुक्त हुन्छ । २०७९ को प्रतिनिधि सभा सदस्यमा चुनाव हारेपछि जसपाको पुरै पार्टीपंक्ति निराश भएको थियो । तर, केही महिनाको अन्तरमा नै अध्यक्ष उपेन्द्र यादवले ‘ड्यामेज कन्ट्रोल’ गर्न सफल भएका छन् । अर्थात् उनी हारेर पनि जितेका छन् । 

नयाँ आईजीपी नियुक्ति

प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह यसै साता अवकाशमा जाँदैछन् । सिंहको अवकाश नजिकिँदै गर्दा ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू बीच तीव्र प्रतिस्पर्धा छ । आईजीपी सिंह यही चैत ११ मा सेवा निवृत्त हुन्छन् । आईजीपी सिंहले आफ्नो करिब १० महिना २१ दिनको कार्यकाल पुरा गरेका छन् । सिंहको अवकाशअघि नै मन्त्रिपरिषद्ले भावी प्रहरी प्रमुख नियुक्त गर्नेछ । सम्भवतः चैत ९ मा बस्ने मन्त्रिपरिषद्ले आईजीपी नियुक्तिबारे निर्णय गर्नेछ ।

मुख्यमन्त्रीलाई विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई लिएर गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच विवाद देखिएको छ । सत्ता साझेदारीका लागि अन्तिम तयारी गरिरहेका दुई दलबिच मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्तावलाई लिएर मतभेद देखिएको हो । कांग्रेस सत्ता भागबण्डाको टुङ्गो भएपछि मात्र विश्वासको मत लिनुपर्ने पक्षमा छ । उसले मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत सम्बन्धी प्रस्ताव केहीदिन पर सार्न प्रस्ताव गरेको छ ।

१० दलको व्यवस्थापन

मङ्सिरको आम निर्वाचनपछि पुस १० मा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ७० दिनभित्रै दुई पटक विश्वासको मत लिन बाध्य भए । पहिलो पटक पुस २६ गते विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक चैत ६ गते पुनः प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने अवस्था आयो । 

गण्डकीमा नयाँ सरकार

 संघदेखि प्रदेशमा साढे दुई महिना अघि बनेको एमाले–माओवादीसहितको गठबन्धन राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा फुटेपछि गण्डकी प्रदेश सरकार धरापमा परेको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको परिणाम घोषणापछि सरकार गठनको रस्साकस्सीबिच बनेको गठबन्धन फुटेर कांग्रेस—माओवादी लगायतको अर्को गठबन्धन बनेपछि गण्डकी सरकार फेरबदल हुने निश्चित भएको हो ।

चन्द्र भण्डारीलाई राज्य कोषबाट ५५ लाख

सरकारले नेपाली कांग्रेसका नेता तथा सांसद चन्द्र भण्डारीको उपचारका लागि ५५ लाख ८८ हजार एक सय ६४ रुपैयाँ दिने निर्णय गरेको छ। ग्यास लिक भएर आगो लाग्दा घाइते भएका नेता भण्डारीको भारतमा उपचार भइरहेको छ । सत्ता साझेदार कांग्रेसकै दबाबमा सरकारले नेता भण्डारीको उपचारको सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गत फागुन ११ गते बसेको मन्त्रिपरिषद्ले गरेको थियो। 

‘डेढ वर्षदेखि डिप्रेसनमा छु’

सीताराम कट्टेल ‘धुर्मुस’ले गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला निर्माणमा आफूले कुनै पनि अनियमितता नगरेको दाबी गरेका छन् । रंगशाला निर्माण अलपत्र परेपछि यसको जिम्मा लिएको धुर्मुस सुन्तली फाउन्डेसनको आलोचना सुरु भएको थियो । 

कोइरालाको १३ औं स्मृति दिवस

नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवस आज मनाइँदैछ । पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते भएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबाआमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । २०४७ सालको आन्दोलन, २०६२/०६३ को दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका विभिन्न कालखण्डमा स्वर्गीय कोइरालाको भूमिका महत्त्वपूर्ण छ ।

अर्बौँको खर्च, काम कछुवा गतिमा

सरकारले मधेसको बाटोलाई स्तरोन्नति गरी पूर्व पश्चिम जोड्ने वैकल्पिक मार्गको रुपमा विकास गर्न एक दशक अघि ‘हुलाकी राजमार्ग’ निर्माण थाल्यो । आयोजनाको निर्माण गति सुस्त हुँदा यसको लागत धान्नै नसक्ने गरी बढिरहेको छ । 

टुँडिखेलमा अश्वकलाका रोमाञ्चक तस्बिरहरू

 चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो ।  पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया