शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
प्रहरीको भावी नेतृत्व

नयाँ आईजीपी नियुक्तिमा हुनेछ प्रचण्ड सरकारको अग्निपरीक्षा

एआईजी बढुवामा कायम वरियता सरकारले आईजीपी नियुक्तिमा ‘मिच्छ कि मिच्दैन ?’

मङ्गलबार, ०७ चैत २०७९, १५ : १४
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह यसै साता अवकाशमा जाँदैछन् । सिंहको अवकाश नजिकिँदै गर्दा ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू बीच तीव्र प्रतिस्पर्धा छ । आईजीपी सिंह यही चैत ११ मा सेवा निवृत्त हुन्छन् । आईजीपी सिंहले आफ्नो करिब १० महिना २१ दिनको कार्यकाल पुरा गरेका छन् । सिंहको अवकाशअघि नै मन्त्रिपरिषद्ले भावी प्रहरी प्रमुख नियुक्त गर्नेछ । सम्भवतः चैत ९ मा बस्ने मन्त्रिपरिषद्ले आईजीपी नियुक्तिबारे निर्णय गर्नेछ ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद्ले ५ जना अधिकृतहरूलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा हुनेमा वसन्त कुँवर, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । उनीहरूमध्ये एक जना भावी आईजीपीमा नियुक्त हुनेछन् । 

 गृह सचिव नेतृत्वको बढुवा समितिले फागुन २६ मा उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बुधवार उनीहरूले फुली लगाउने छन् । संयोग कस्तो परेको छ भने एआईजीको फुली लगाएको दुई दिनपछि एक जनाले आईजीपीको फुली लगाउने अवसर पाउँछन् ।

पाँचै जना एआईजी नेतृत्वमा पुग्न समान दाबेदार हुन् । तर, अहिले ३ जनाको बीचमा मुख्य प्रतिस्पर्धा देखिएको छ । आईजीपी हुने प्रतिस्पर्धामा वसन्त कुँवर, दीपक थापा र श्यामलाल ज्ञवाली अगाडि छन् ।

वसन्त कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । मेरिटमा अगाडि भएको हुनाले उनलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए । 

दीपक थापा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट अधिकृत मानिन्छन् । उनी २०५२ भदौ १९ मा प्रहरीमा प्रवेश गरेका थिए । 

२०५१ चैतमा प्रहरी सेवामा आएका श्यामलाल ज्ञवाली मेरिट लिस्टको चौथो नम्बरमा छन् । आईजीपीको प्रतिस्पर्धामा ज्ञवालीले एक नम्बर बरीयताका कुँवर र ३ नम्बर बरीयताका थापालाई चुनौती दिएका छन् । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलसँग निकट सम्बन्ध रहेका ज्ञवालीले माओवादी नेताहरूमार्फत आईजीपी हुन ‘लबिङ’ गरिरहेका छन् । प्युठान पुर्ख्यौली घर भएका माओवादी नेताहरूले ज्ञवालीलाई प्रहरीको नेतृत्व सुम्पिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका छन् । पुरानो घर प्युठान भएका ज्ञवाली पछि दाङमा बसाइँ गएका थिए ।

को कस्ता ? 

अर्घाखाँचीको सन्धिखर्क स्थित तुम्कोटमा जन्मेहुर्केका वसन्त कुँवर प्रहरीमा व्यावसायिक अधिकृतको रूपमा चिनिन्छन् । प्रहरी नायव उपरीक्षक (डीएसपी) हुँदा कुँवरले प्रहरी वृत्त बालाजु र जिल्ला प्रहरी कार्यालय गोरखाको कमान्ड गरे । प्रहरी उपरीक्षक (एसपी) हुँदा उनले नुवाकोट र चितवनको कमान्ड गरेका थिए । कुँवर चितवनको एसपी हुँदा अहिलेका गृह सचिव विनोद प्रकाश सिंह प्रमुख जिल्ला अधिकारी थिए । 

उनका दाजु बाबुराम कुँवर पूर्वमहान्यायाधीवक्ता र गण्डकी प्रदेशको पूर्वप्रमुख हुन् । आईजीपीका दाबेदार दीपक थापा भक्तपुरका स्थानीय हुन् । थापाले डीएसपी हुँदा प्रहरी वृत्त महाराजगन्ज र खोटाङको कमान्ड गरे । चितवनको एसपी हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दीपक थापाको सम्बन्ध निकट भएको जानकारहरू बताउँछन् । 

एसएसपी भएपछि उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरे । अपराध अनुसन्धान कार्यालयमा रहँदा उनले उपत्यकाको अपराध अनुसन्धानमा उल्लेख्य सफलता हासिल गरे । यसै गरी श्याम ज्ञवाली प्युठानका स्थानीय हुन् । डीएसपी हुँदा उनले प्रहरी वृत्त बौद्ध र प्युठानको नेतृत्व गरेका थिए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दर्जामा उनले जिल्ला प्रहरी परिसर काठमाडौँको कमान्ड गरे । उनका दाइ ठाकुर ज्ञवाली पनि पूर्व आईजीपी हुन् । प्रहरी भित्र ज्ञवालीलाई पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल निकटका रूपमा रूपमा चिनिन्छन् । 

वरीयता मिचिएला ? 
 

प्रहरी नियमावली–०७१ को नियम ४१ अनुसार प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट मन्त्रिपरिषद्ले ‘उपयुक्त देखेको’ उम्मेदवारलाई महानिरीक्षक पदमा नियुक्त गर्न सक्नेछ । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले एआईजीको नयाँ दरबन्दी सिर्जना गरेर धिरज प्रताप सिंहलाई करिब डेढ महिना एआईजी बनाएर आईजीपीमा नियुक्त गरेको थियो । सो निर्णयलाई सर्वोच्च अदालतले ‘सदर’ गरेको छ । सिंह आईजीपी बनेसँगै प्रहरीमा भएका अधिकांश बढुवा मेरिटको आधारमा भएका छन् । 

‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले गरेको पछिल्लो एआईजी बढुवामा पनि वरीयतालाई कायम राखिएको छ । ५ दिनअघि वरियता अनुसार एआईजी बनाएको सरकारले आईजीपी नियुक्तिमा वरीयता ‘मिच्छ वा मिच्दैन ?’ भन्नेमा आम चासो छ । बढुवा समितिले फागुन २६ मा एआईजीको बढुवा सिफारिस सूची निकालेपछि प्रधानमन्त्रीको सचिवालयले ‘प्रहरीमा पहिलोपटक प्रोटोकल नमिचीकन एआईजी बढुवा सिफारिस भएको’ बताएको थियो । 

11-2

प्रधानमन्त्रीको आधिकारिक ह्वाट्स एप ग्रुप ‘पिएमओ प्रेस’मा लेखिएको थियो–‘यसअघि पहुँचका आधारमा बढुवा सिफारिस हुने गरेको भन्ने गुनासोलाई ध्यान दिँदै प्रधानमन्त्री प्रचण्डले वरियता मिचेर बढुवा नगर्न निर्देशन दिनुभएको थियो । यो निर्णयसँगै नेपाल प्रहरीको वृत्ति विकास सिस्टममा जाने विश्वास लिइएको छ ।’  आईजीपी नियुक्तिमा वरियता मिच्ने वा कायम राख्ने भन्नेमा प्रचण्ड सरकार अग्निपरीक्षामा छ । 

जन्म मिति फरक 

प्रहरीको सर्वोच्च पदमा समाल्ने प्रतिस्पर्धामा रहेका श्यामलाल ज्ञवालीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मिति फरक छ । ज्ञवालीको नागरिकतामा जन्म मिति २०२४ चैत २१ उल्लेख छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ साल भदौ २६ उल्लेख गरिएको छ । प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार उनको उमेर ५ महिना ६ दिन फरक परेको छ ।

पुराना नागरिकता र शैक्षिक प्रमाणपत्रमा उमेर फरक भेटिएमा शैक्षिक प्रमाणपत्रको उमेरलाई आधिकारिक मान्ने अभ्यास छ । प्रहरी प्रधान कार्यालयको अभिलेखमा सिंहको जन्म मिति २०२५ पुस १६ र ज्ञवालीको जन्म मिति २०२५ भदौ २६ लाई मान्यता दिइएको छ । उनको जन्म मिति बारेमा अख्तियारमा उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसबारे छानबिन गरेर प्रतिवेदन बुझाउन गृह मन्त्रालयमा पत्राचार गरेको छ । 

 ९ जना सेवा निवृत्त हुँदै 

चैत ११ बाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह उनको ब्याचका ९ जना अवकाशमा जाँदै छन् । सिंह सँगै उनका ब्याचका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), ३ जना डीआईजी र दुई जना एसएसपी पनि अवकाशमा जाँदैछन् । एआईजीहरू सहकुल बहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी यसै साता अवकाशमा जान लागेका हुन् । चैत ११ बाट डीआईजीहरु नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान्छन् ।

२०४९ चैत ११ मा सेवा प्रवेश गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमाशंकर पञ्जियार र जनकराज पाण्डे पनि सँगै सेवा निवृत्त हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप