बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
प्रहरीको भावी नेतृत्व

नयाँ आईजीपी नियुक्तिमा हुनेछ प्रचण्ड सरकारको अग्निपरीक्षा

एआईजी बढुवामा कायम वरियता सरकारले आईजीपी नियुक्तिमा ‘मिच्छ कि मिच्दैन ?’

मङ्गलबार, ०७ चैत २०७९, १५ : १४
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) धिरज प्रताप सिंह यसै साता अवकाशमा जाँदैछन् । सिंहको अवकाश नजिकिँदै गर्दा ३० औँ आईजीपी बन्न प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरू बीच तीव्र प्रतिस्पर्धा छ । आईजीपी सिंह यही चैत ११ मा सेवा निवृत्त हुन्छन् । आईजीपी सिंहले आफ्नो करिब १० महिना २१ दिनको कार्यकाल पुरा गरेका छन् । सिंहको अवकाशअघि नै मन्त्रिपरिषद्ले भावी प्रहरी प्रमुख नियुक्त गर्नेछ । सम्भवतः चैत ९ मा बस्ने मन्त्रिपरिषद्ले आईजीपी नियुक्तिबारे निर्णय गर्नेछ ।

यसअघि सोमबार बसेको मन्त्रिपरिषद्ले ५ जना अधिकृतहरूलाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा हुनेमा वसन्त कुँवर, टेक प्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन् । उनीहरूमध्ये एक जना भावी आईजीपीमा नियुक्त हुनेछन् । 

 गृह सचिव नेतृत्वको बढुवा समितिले फागुन २६ मा उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो । बुधवार उनीहरूले फुली लगाउने छन् । संयोग कस्तो परेको छ भने एआईजीको फुली लगाएको दुई दिनपछि एक जनाले आईजीपीको फुली लगाउने अवसर पाउँछन् ।

पाँचै जना एआईजी नेतृत्वमा पुग्न समान दाबेदार हुन् । तर, अहिले ३ जनाको बीचमा मुख्य प्रतिस्पर्धा देखिएको छ । आईजीपी हुने प्रतिस्पर्धामा वसन्त कुँवर, दीपक थापा र श्यामलाल ज्ञवाली अगाडि छन् ।

वसन्त कुँवर मेरिट लिस्टको एक नम्बरमा छन् । मेरिटमा अगाडि भएको हुनाले उनलाई मुख्य दाबेदारको रूपमा हेरिएको छ । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरीमा प्रवेश गरेका थिए । 

दीपक थापा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट अधिकृत मानिन्छन् । उनी २०५२ भदौ १९ मा प्रहरीमा प्रवेश गरेका थिए । 

२०५१ चैतमा प्रहरी सेवामा आएका श्यामलाल ज्ञवाली मेरिट लिस्टको चौथो नम्बरमा छन् । आईजीपीको प्रतिस्पर्धामा ज्ञवालीले एक नम्बर बरीयताका कुँवर र ३ नम्बर बरीयताका थापालाई चुनौती दिएका छन् । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलसँग निकट सम्बन्ध रहेका ज्ञवालीले माओवादी नेताहरूमार्फत आईजीपी हुन ‘लबिङ’ गरिरहेका छन् । प्युठान पुर्ख्यौली घर भएका माओवादी नेताहरूले ज्ञवालीलाई प्रहरीको नेतृत्व सुम्पिन प्रधानमन्त्री प्रचण्डलाई दबाब दिएका छन् । पुरानो घर प्युठान भएका ज्ञवाली पछि दाङमा बसाइँ गएका थिए ।

को कस्ता ? 

अर्घाखाँचीको सन्धिखर्क स्थित तुम्कोटमा जन्मेहुर्केका वसन्त कुँवर प्रहरीमा व्यावसायिक अधिकृतको रूपमा चिनिन्छन् । प्रहरी नायव उपरीक्षक (डीएसपी) हुँदा कुँवरले प्रहरी वृत्त बालाजु र जिल्ला प्रहरी कार्यालय गोरखाको कमान्ड गरे । प्रहरी उपरीक्षक (एसपी) हुँदा उनले नुवाकोट र चितवनको कमान्ड गरेका थिए । कुँवर चितवनको एसपी हुँदा अहिलेका गृह सचिव विनोद प्रकाश सिंह प्रमुख जिल्ला अधिकारी थिए । 

उनका दाजु बाबुराम कुँवर पूर्वमहान्यायाधीवक्ता र गण्डकी प्रदेशको पूर्वप्रमुख हुन् । आईजीपीका दाबेदार दीपक थापा भक्तपुरका स्थानीय हुन् । थापाले डीएसपी हुँदा प्रहरी वृत्त महाराजगन्ज र खोटाङको कमान्ड गरे । चितवनको एसपी हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग दीपक थापाको सम्बन्ध निकट भएको जानकारहरू बताउँछन् । 

एसएसपी भएपछि उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरे । अपराध अनुसन्धान कार्यालयमा रहँदा उनले उपत्यकाको अपराध अनुसन्धानमा उल्लेख्य सफलता हासिल गरे । यसै गरी श्याम ज्ञवाली प्युठानका स्थानीय हुन् । डीएसपी हुँदा उनले प्रहरी वृत्त बौद्ध र प्युठानको नेतृत्व गरेका थिए । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दर्जामा उनले जिल्ला प्रहरी परिसर काठमाडौँको कमान्ड गरे । उनका दाइ ठाकुर ज्ञवाली पनि पूर्व आईजीपी हुन् । प्रहरी भित्र ज्ञवालीलाई पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल निकटका रूपमा रूपमा चिनिन्छन् । 

वरीयता मिचिएला ? 
 

प्रहरी नियमावली–०७१ को नियम ४१ अनुसार प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट मन्त्रिपरिषद्ले ‘उपयुक्त देखेको’ उम्मेदवारलाई महानिरीक्षक पदमा नियुक्त गर्न सक्नेछ । शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले एआईजीको नयाँ दरबन्दी सिर्जना गरेर धिरज प्रताप सिंहलाई करिब डेढ महिना एआईजी बनाएर आईजीपीमा नियुक्त गरेको थियो । सो निर्णयलाई सर्वोच्च अदालतले ‘सदर’ गरेको छ । सिंह आईजीपी बनेसँगै प्रहरीमा भएका अधिकांश बढुवा मेरिटको आधारमा भएका छन् । 

‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्ले गरेको पछिल्लो एआईजी बढुवामा पनि वरीयतालाई कायम राखिएको छ । ५ दिनअघि वरियता अनुसार एआईजी बनाएको सरकारले आईजीपी नियुक्तिमा वरीयता ‘मिच्छ वा मिच्दैन ?’ भन्नेमा आम चासो छ । बढुवा समितिले फागुन २६ मा एआईजीको बढुवा सिफारिस सूची निकालेपछि प्रधानमन्त्रीको सचिवालयले ‘प्रहरीमा पहिलोपटक प्रोटोकल नमिचीकन एआईजी बढुवा सिफारिस भएको’ बताएको थियो । 

11-2

प्रधानमन्त्रीको आधिकारिक ह्वाट्स एप ग्रुप ‘पिएमओ प्रेस’मा लेखिएको थियो–‘यसअघि पहुँचका आधारमा बढुवा सिफारिस हुने गरेको भन्ने गुनासोलाई ध्यान दिँदै प्रधानमन्त्री प्रचण्डले वरियता मिचेर बढुवा नगर्न निर्देशन दिनुभएको थियो । यो निर्णयसँगै नेपाल प्रहरीको वृत्ति विकास सिस्टममा जाने विश्वास लिइएको छ ।’  आईजीपी नियुक्तिमा वरियता मिच्ने वा कायम राख्ने भन्नेमा प्रचण्ड सरकार अग्निपरीक्षामा छ । 

जन्म मिति फरक 

प्रहरीको सर्वोच्च पदमा समाल्ने प्रतिस्पर्धामा रहेका श्यामलाल ज्ञवालीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमा उल्लेख भएको जन्म मिति फरक छ । ज्ञवालीको नागरिकतामा जन्म मिति २०२४ चैत २१ उल्लेख छ । शैक्षिक योग्यताको प्रमाणपत्रमा २०२५ साल भदौ २६ उल्लेख गरिएको छ । प्रहरी प्रधान कार्यालयको रेकर्ड अनुसार उनको उमेर ५ महिना ६ दिन फरक परेको छ ।

पुराना नागरिकता र शैक्षिक प्रमाणपत्रमा उमेर फरक भेटिएमा शैक्षिक प्रमाणपत्रको उमेरलाई आधिकारिक मान्ने अभ्यास छ । प्रहरी प्रधान कार्यालयको अभिलेखमा सिंहको जन्म मिति २०२५ पुस १६ र ज्ञवालीको जन्म मिति २०२५ भदौ २६ लाई मान्यता दिइएको छ । उनको जन्म मिति बारेमा अख्तियारमा उजुरी परेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्यसबारे छानबिन गरेर प्रतिवेदन बुझाउन गृह मन्त्रालयमा पत्राचार गरेको छ । 

 ९ जना सेवा निवृत्त हुँदै 

चैत ११ बाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह उनको ब्याचका ९ जना अवकाशमा जाँदै छन् । सिंह सँगै उनका ब्याचका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), ३ जना डीआईजी र दुई जना एसएसपी पनि अवकाशमा जाँदैछन् । एआईजीहरू सहकुल बहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी यसै साता अवकाशमा जान लागेका हुन् । चैत ११ बाट डीआईजीहरु नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ पनि ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान्छन् ।

२०४९ चैत ११ मा सेवा प्रवेश गरेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) उमाशंकर पञ्जियार र जनकराज पाण्डे पनि सँगै सेवा निवृत्त हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप