शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
कोइरालाको १३ औं स्मृति दिवस

‘गिरिजाबाबुको त्यो अडानले १२ बुँदे सहमति भयो’

मङ्गलबार, ०७ चैत २०७९, १४ : २५
मङ्गलबार, ०७ चैत २०७९

काठमाडौं । नेपाली कांग्रेसका तत्कालीन सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १३ औं स्मृति दिवस आज मनाइँदैछ । पाँच पटक प्रधानमन्त्री बनेका कोइरालाको निधन २०६६ साल चैत ७ गते भएको थियो । राणा शासनको विरोध गरेको अभियोगमा बुबाआमा प्रवासमा रहेका बेला कोइरालाको जन्म १९८१ सालमा भारतको टेडीमा भएको थियो । २०४७ सालको आन्दोलन, २०६२/०६३ को दोस्रो जनआन्दोलन, दशक लामो माओवादी सशस्त्र द्वन्द्वलाई शान्तिपूर्ण रुपान्तरण, १२ बुँदे सम्झौतालगायत नेपाली राजनीतिका विभिन्न कालखण्डमा स्वर्गीय कोइरालाको भूमिका महत्त्वपूर्ण छ ।

कांग्रेस नेता अर्जुननरसिंह केसी आजका दिनमा गिरिजाप्रसाद कोइरालाका मुख्यतः दुई वटा कुरा सम्झिन्छन् । कार्य र बचनको दृढ नेताका रुपमा उनले कोइरालालाई स्मरण गरे ।

नेता केसीकै शब्दमा गिरिजाप्रसाद कोइराला–

आजको दिनमा मुख्यतः गिरिजाप्रसाद कोइरालाका दुई वटा कुरा सम्झनुपर्छ । उहाँ वचनको पक्का र कार्यमा दृढ हुनुहुन्थ्यो । यसैको सेरोफेरोमा उहाँको व्यक्तित्व हो । संगठनात्मक दृष्टिकोणले हेर्दा उहाँमा सबैलाई संयोजन गर्ने क्षमता थियो । कुनै काम गर्दा आफूसँग नजिकको विश्वासपात्रसँग सल्लाह र परामर्श गरेर निर्णय लिने उहाँको स्वभाव थियो ।

पार्टीका महत्त्वपूर्ण साथीको चित्त बुझेन वा चित्त दुखाएका छन् भने तत्काल घरमै गएर सम्बोधन गर्नुहुुन्थ्यो । गल्ती भएको छ भने रियलाइज गर्नुहुन्थ्यो । आफूसँग भएकाहरुलाई अन्यन्त्र जान नदिने परिस्थिति बनाउनुहुन्थ्यो, सहयोगीहरुलाई एकीकृत राख्नुहुन्थ्यो । उहाँ लोकतन्त्रका लागि निरन्तर संघर्षको मैदानमा रहनुभयो ।  उहाँ गाउँ–गाउँ पुगेर जनता जगाउने काम गर्नुहुन्थ्यो । उहाँको संगठनप्रतिको लगावमात्र होइन, सिद्धान्तप्रतिको प्रतिबद्धता र अटलता थियो ।

शान्ति प्रक्रियालाई अन्तिम स्वरुप दिनका लागि जुन बेला १२ बुँदे सहमति हुँदै थियो, त्यो १२ बुँदे सहमतिको संयोजन गर्ने काम गिरिजाबाबुले गर्नुभएको थियो ।

मेरो सौभाग्य, १२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौताको सम्पूर्ण प्रक्रिया र अन्तरिम संविधान निर्माणमा नेपाली कांग्रेसका तर्फबाट म प्रतिनिधि थिएँ । विस्तृत शान्ति सम्झौताको मस्यौदाकारका रुपमा पनि म सहभागी थिएँ । शान्ति प्रक्रियाको अन्तिम टुंगो लाउन उहाँले अडान लिनुभयो ।

१२ बुँदे सहमति हुँदै थियो । युरोप, अमेरिका लगायतका राजदूतहरुले गिरिजाबाबु कहाँ आएर हिंसात्मक पक्षसँग यसरी सहमति गर्नु उपयुक्त हुँदैन भनेर सल्लाह दिएका थिए । सहमति गर्दा तपाईलाई नोक्सान हुन्छ, यो सहमति गर्नुहुँदैन भन्ने खालको दबाबमुलक ढंगका भनाइ आएका थिए ।

गिरिजाबाबुले ‘यो हाम्रो आन्तरिक मामिला हो । मैले जे गरेँ, यसको जिम्मेवारी म नै लिन्छु । म त्यसमा दृढ छु’ भन्नुभएको थियो ।

उहाँको त्यो अडानले विस्तृत शान्ति सम्झौता र १२ बुँदे समझदारी भयो । अहिलेको संविधान निर्माण र लोकतान्त्रिक आन्दोलन २०६२÷०६३ को प्रथम जस उहाँलाई जान्छ । नेपाली राजनीतिमा उहाँको एउटा शिखर व्यक्तित्व बन्यो । विचार र सिद्धान्तको दृष्टिकोणमा विपी कोइरालाको नाम आउँछ । त्याग र निष्ठाको दृष्टिकोणले गणेशमान सिंहको इतिहास छ । तर नेपाली कांग्रेसको संगठनका दृष्टिकोणले गिरिजाबाबुको विशेष योगदान छ । गाउँगाउँ पुगेर संगठन निर्माण गर्ने उहाँको पद्धति अद्भूत खालको थियो ।

विस्तृत शान्ति सम्झौताको बाँकी चक्र

विस्तृत शान्ति सम्झौता हामी सात दल र माओवादीको साझा सहमति हो । साझा सहमतिको अक्षर र भावनाबाट कसैले मुख मोड्नु हुँदैन । सत्य, निरुपण तथा मेलमिलाप आयोगले दक्षिण अफ्रिकाको कन्सेप्ट र मोडलबाट समाधान निकाल्ने भन्ने हो ।

त्यहाँको इतिहास पनि हामी हेरौं । कुनै पूर्वाग्रहले दण्डित गर्ने मनसाय कसैप्रति राख्नु हुँदैन । अर्कोतिर पीडितहरुको भावनालाई नसमेटी एक पक्षीय रुपमा निर्णायक बिन्दुमा पु¥याउँदा अरु प्रत्युत्पादक हुन्छ । अहिले जुन विधेयक संसदमा प्रस्तुत भएको छ, यसको उद्देश्य पनि मेलमिलाप नै हो । दक्षिण अफ्रिकामा नागरिक समाज, धार्मिक संस्था, पीडित पक्ष लगायतसँग छलफल र परामर्श गरेर मेलमिलाको परिस्थिति निर्माण गरिएको थियो ।

पूर्वाग्रह लिएर कसैलाई लखेट्ने होइन । समाजमा स्थायी शान्ति सिर्जना गर्न पीडक र पीडितको समुचित प्रवन्ध गरेर ‘बिर्स र क्षमा देऊ’ भन्ने लाइनमा जानुपर्छ । अहिले पीडितहरुलाई उपेक्षा गर्न खोजियो भन्ने आम गुनासो छ । संसदमा प्रस्तुत विधेयकबारे सबै चिजलाई ध्यान दिएर गम्भीरतापूर्वक सबै पक्ष बसेर एउटा बाटो निकाल्नुपर्छ । विस्तृत शान्ति सम्झौता अन्तरिम संविधानको एउटा अङ्ग पनि थियो ।

यो शान्ति प्रक्रियामा हुने र गर्ने कामहरुलाई वर्तमान संविधानले पनि अन्तरिम संविधानको भावना अनुसार गर्ने भनेको छ । हामीले अन्तरिम संविधान, विस्तृत शान्ति सम्झौता, वर्तमान संविधान, सर्वोच्च अदालतबाट गरिएको निर्देशनात्मक फैसला र अन्तर्राष्ट्रिय मान्यतालाई एकै ठाउँमा राखेर सम्रग छलफलबाट एउटा विन्दुमा पुग्नुपर्छ । यसलाई सकेसम्म चाँडो टुङ्ग्याउनुपर्छ । यो विषय सरकारको मात्र दायित्व होइन, तत्कालीन सात दल र माओवादीको संयुक्त दायित्व हो ।

अन्तरिम संविधानको निर्माणकर्ता र विस्तृत शान्ति सम्झौताको निर्माणकर्ताको नाताले म पनि त्यत्तिकै जिम्मेवार हो र ठान्छु पनि । त्यसको जिम्मेवारी लिँदै गर्दा पीडितहरुलाई उपेक्षा गर्नुहुँदैन भन्ने पनि मेरो त्यत्तिकै जोड छ । 

अहिले शान्ति, संविधान, संघीय संरचना र गणतन्त्रको लक्ष्यलाई केन्द्रविन्दुमा राखेर परिणामुखी ढङ्गले हामी अगाडि बढ्नुपर्छ । टीआरसी सम्बन्धी विधेयक हामीले फास्टट्रयाकका नाममा बलजफ्ती ग¥यौं भने प्रत्युत्पादक हुन्छ । सबैको सहमतिमा यसलाई टुङ्गोमा पु¥याउनु पर्छ । यसलाई राजनीतिकरण गर्ने प्रयत्न गरिएको छ । यसमा राजनीतिकरण गरिनु हुन्न ।

संसदमा पक्ष, विपक्ष आ आफ्नो भूमिका होला । विस्तृत शान्ति सम्झौता टुङ्गोमा पु¥याउनुपर्ने हामी सबैको दायित्व हो । राष्ट्रिय रुपमा यसको निकास निकाल्न सक्यौं भने कसैको प्रभाव र दबाबबाट विचलित हुनु पर्दैन । विचलित हुनु पनि हुन्न ।

यो विषय टुङ्ग्याउँदा गिरिजाबाबुको नेतृत्वमा भएको विस्तृत शान्ति सम्झौताको चक्र पूरा हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप