बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
नेपालमा चलचित्र गोष्ठीका ५० वर्ष

१२१ वर्षअघि टुँडिखेलमा फिल्म हेर्ने दर्शकदेखि आजसम्म

बिहीबार, ०९ चैत २०७९, १४ : ०५
बिहीबार, ०९ चैत २०७९

१९५८ वैशाख २४ गते सोमबार गोरखापत्रको पहिलो अंकमा विज्ञापनरूपी सूचना छापिएको थियो, ‘वैशाख २६ गते मंगलबार साँझ टुँडिखेलमा चलचित्र हेर्न आउनू ।’

गोरखापत्रको पहिलो अंकमै यस्तो विज्ञापन छापिएकाले त्यसभन्दा केही समय अघिदेखि काठमाडौंमा विदेशी चलचित्र भित्रिएको आकलन गर्न सकिन्छ । यस हिसाबले १२१ वर्ष अघिदेखि काठमाडौंका सर्वसाधारण फिल्मसँग परिचित हुन थाले । 

लक्ष्मीनाथ शर्माको पुस्तक ‘नेपाली चलचित्रको इतिहास’ अनुसार, १९९० भदौ १७ गते (प्रधानमन्त्री जुद्धशमशेरका पाला) सिंहदरबारस्थित तत्कालीन नाचघरमा अंग्रेजी र हिन्दी समेत गरी चारवटा चलचित्र प्रदर्शन गरिएको थियो । त्यसयता राजा र राणाका दरबारमा वर्ष दिनमा १५–२० वटा विदेशी चलचित्र पालैसित हेरिन्थ्यो ।

नेपाली फिल्मको प्रवद्र्धन र नेपाली फिल्मलाई विश्व बजारमा लैजाने हेतुले भर्खरै (चैत २–६) काठमाडौंमा छैटौँ ‘नेपाल इन्टरनेसलन फिल्म फेस्टिभल’ (निफ) सम्पन्न भयो । इन्टरनेसन पोर्टल फिल्मफ्रिवे डटकमबाट गरिएको आह्वानमा यसपालि नेपालसहित ५५ देशबाट पाँच सयभन्दा बढी फिल्मले प्रतिस्पर्धाका लागि निवेदन दिएका थिए । जसमध्ये निफको सेलेक्सन कमिटीद्वारा ३५ देशका ९५ वटा फिल्म छानियो र एउटा विदेशीसहित १४ वटा अवार्ड दिइयो । 

फेस्टिभलमा तीनवटा मास्टर क्लास र ६ वटा प्यानल डिस्कसन भएका थिए । यसपालि छानिएका फिल्मबाट पुरस्कृत गर्न तीनवटा जुरी कमिटी बनाइयो । फिचर फिल्मको जुरीमा भारतबाट प्रेमेन्द्र मजुम्दार, अमेरिकाबाट जेफ मोनहान र नेपालबाट प्रियंका कार्की थिइन् । यस्तै, सर्ट र डकुमेन्ट्री फिल्मको जुरीमा चीनकी प्रोफेसर ली रान, क्रोसेसियाकी प्रोफेसर इतानी ब्रोजन र नेपालबाट इन्द्रलाल बलामी थिए । 

पुँजीवादी बजारमा एउटै सामानको विभिन्न प्रकार उही मूल्यमा पाइन्छ भने ग्राहकले छानेर राम्रो किन्छ । यही नियम फिल्म क्षेत्रमा पनि लागू हुन्छ ।

‘इन्टरनेसनल फेडेरेसन अफ फिल्म सोसाइटिज’ (आइएफएफएस)को सदस्य छ, निफ । आइएफएफएसले आफ्नो मेम्बरले फेस्टिभल गरेका बेला फिचर फिल्मलाई ‘डोन क्विहोटे अवार्ड’ दिने गरेको छ । यसको जुरीका लागि उसले बंगलादेशबाट गोलाम रब्बानी बिप्लब र भारतका तपेश शर्मालाई पठाएको थियो, यसमा नेपालबाट शिव पुरी जुरी मेम्बर थिए । 

सन् २०१७ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको निफका प्रमुख केपी पाठकका अनुसार, जुरीसहित गरेर ५० जनाभन्दा बढी अन्तर्राष्ट्रिय फिल्ममेकर यसपालि फेस्टिभलमा आए । ‘यसपालि हामीले पाँचवटा भेन्युबाट फिल्म देखायौँ । अघिल्ला वर्षभन्दा यसपालि दर्शकको बढी सहभागिता रह्यो,’ पाठक भन्छन्, ‘फिल्मका दर्शक बढाउन, नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा लैजान, अर्थात् हाम्रो लोकल कन्टेन्टलाई ग्लोबल मार्केटमा पुर्‍याउन, अन्तर्राष्ट्रिय स्तरमा कस्ता फिल्म बनिरहेका छन् भनी छलफल गर्न, हामी कहाँ छौँ र कता जाँदैछौँ भनी छलफल गर्न यस्ता फेस्टिभल आवश्यक छ ।’

मौलिकताको बहस

शनिबार (४ चैतमा) निफले ‘हेर्दाहेर्दै कहाँ पुग्यौँ’ (इभोलुसन अफ नेपाली अडियन्स) विषयक छलफल गरेको थियो । छलफलमा फिल्मको विषयवस्तुमाथि पनि केही छलफल भयो । 

छलफलका वक्ता चलचित्र निर्माता, निर्देशक र कलाकार अशोक शर्माले आफ्नो स्कुले जीवनको कुरा गर्दै थिए, ‘हामी झापाको भद्रपुरबाट सिलिगुडीसम्म फिल्म हेर्न पुग्थ्यौँ । त्यतिबेला फिल्मको क्रेज थियो, नेपाली फिल्म कम बन्थे, हिन्दी फिल्म बढी हेथ्र्यौं । भद्रपुरमै पनि हल थियो ।’

हिजो नेपाली फिल्म कम बन्दा गाउँठाउँका दर्शकले पनि पाएसम्म हिन्दी फिल्म हेर्न थाले । टेलिभिजन हुँदै युट्युबको पहुँचमा पुगेपछि दर्शकले फिल्म छानी छानी हेर्ने भएका छन् । यस कारण अचेल नेपाली फिल्म प्रदर्शन गर्दा बलिउड र साउथ इन्डियन फिल्मसँग तर्सनु र तर्कनुपर्छ । किनभने सहरिया दर्शकको झुकाव बलिउड र हलिउडप्रति बढी छ । यो अवस्थामा नेपाली चलचित्रकर्मीलाई चुनौती छ– नेपाली फिल्मप्रति दर्शक तान्ने । 

पञ्चायतकालमा राजाले आफ्नो सत्ता टिकाउन गीत, नाटक र फिल्मको पनि सहारा लिन खोजेका थिए । २०१७ सालपछि थुप्रै कलाकार गाउँगाउँमा पुग्न थाले, राजा महेन्द्र पनि देशाटन गरिरहन्थे । 

पुँजीवादी बजारमा एउटै सामानको विभिन्न प्रकार उही मूल्यमा पाइन्छ भने ग्राहकले छानेर राम्रो किन्छ । यही नियम फिल्म क्षेत्रमा पनि लागू हुन्छ । त्यसैले नेपाली फिल्म निर्माताले हलिउड र बलिउडसँग प्रतिस्पर्धा गर्ने तर उनीहरूको भन्दा फरक (मौलिक) चिज पस्कनुपर्नेछ । 

यद्यपि हामीकहाँ मौलिक चलचित्रको गोष्ठी (बहस) पनि करिब ५० वर्ष पुरानो भइसक्यो । २०२९ सालको मंसिर १ देखि ३ गतेसम्म ‘नेपालमा चलचित्र प्रदर्शक र वितरकहरूका समस्या तथा सम्भावित समाधान गोष्ठी’ सम्पन्न भएको थियो । 

शाही नेपाल चलचित्र संस्थान काठमाडौंले आयोजना गरेको यस गोष्ठी सम्बन्धमा ‘नयाँ सन्देश’ पत्रिकामा छापिएको थियो, ‘गोष्ठीले चलचित्रका व्यवसायीहरूमा एउटा नयाँ लहर उत्पन्न गराएको छ । साथै निर्माताहरूको यस्तो गोष्ठीलाई पनि निम्त्याएको छ ।’

गोष्ठीमा अतिथि वक्ता बालकृष्ण समले भनेका थिए, ‘हामीलाई आफ्नो विकास चाहिएको छ । आफ्नै पनको चलचित्र चाहिएको छ । सामान्य रूपमा आजका युवायुवती सिनेमा हेरेर फर्केर के गर्छन् ? प्रेमपत्र लेख्छन्, किनभने सिनेमामा प्रेम गरेको देख्छन् । किनकि सिनेमामा सबभन्दा राम्रा एक्टरले प्रेम अभिनय गर्दछन् । यस्तो किसिमको प्रवृत्ति हुँदाखेरि समाजमा नै दूषित वातावरण सिर्जना भएको छ भन्ने कुरा निर्विवाद छ ।’

पञ्चायतकालमा राजाले आफ्नो सत्ता टिकाउन गीत, नाटक र फिल्मको पनि सहारा लिन खोजेका थिए । २०१७ सालपछि थुप्रै कलाकार गाउँगाउँमा पुग्न थाले, राजा महेन्द्र पनि देशाटन गरिरहन्थे । 

२०१३ सालमा गृह मन्त्रलयले मुलुकभरिका निवेदनहरूमध्ये उपत्यका भित्र र बाहिर समेत गरी जम्मा ५४ हलको निर्माण स्वीकृति दिएको थियो । २०१० सम्म हलले थेग्नै नसक्ने रूपमा दर्शक संख्या बढेकाले टिकट बिक्री कार्य सुरु गर्दा प्रहरी सुरक्षा आवश्यक हुन गयो ।

उपरोक्त गोष्ठीमा संस्थानका संस्थापक महाप्रबन्धक यादव खरेलको स्वागत वक्तव्य यस्तो छ, ‘आफ्नो जन्मपछि यस संस्थानले समाचारचित्र, वृत्तचित्र, श्री ५ महाराजाधिराजका महानवाणीका स्लाइडहरूको निर्माण, वितरण र प्रदर्शनबाहेक नेपाली प्रतिभाहरूको जीवनीमा वृत्तचित्र निर्माण गर्न तथा नेपाली र नेपालबारेका पुराना चलचित्रहरूको संरक्षण गर्ने हेतुले चलचित्र संग्रहालय कक्षको पनि आरम्भ गरेको छ । एकातिर चलचित्र वितरकहरू हुनुहुन्छ, अर्कोतिर प्रदर्शकहरू, अर्कोतिर सम्भावित निर्माताहरू । जबसम्म हामीले चलचित्र वितरक, प्रदर्शक र निर्माताहरूका समस्याहरूलाई केलाएर समाधान खोज्दैनौँ, तबसम्म नेपालमाा यो माध्यमको सुनियोजित विकास हुन सक्दैन ।’

पञ्चायती सरकारले आफ्ना कामका दस्तावेजीकरण पनि गथ्र्यो । संस्थानले उपरोक्त गोष्ठीको पुस्तक नै छापेको छ । लक्ष्मीनाथ शर्माका अनुसार, संस्थानले २०४७ सालमा राजनीतिक परिवर्तन भई बहुदलीय प्रजातन्त्र आएपछि २०४८÷४९ मा निजीकरण हुनुभन्दा अघिसम्म सयौँ समाचारचित्र, पचासौँ वृत्तचित्र एवं केही कथानक चलचित्रहरूको निर्माण गर्‍यो । 

हल र दर्शक

२००६ सालको साउन–भदौतिर तत्कालीन राणा प्रधानमन्त्री मोहनशमशेर भारत भ्रमणको सिलसिलामा दिल्ली गए थिए । भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले उनलाई सोधे, ‘के नेपालमा एउटै पनि पब्लिक सिनेमा घर छैन भन्ने मैले सुनेको कुरा सत्य हो ?’ मोहनशमशेरले भने, ‘सिनेमाघर खोल्ने विचार त थियो तर भ्याइसकेको छैन ।

नेहरूले भने, ‘त्यसो भए छिट्टै सिनेमाघर खोल्नुहोस् किनभने पब्लिक सिनेमाघर नभएको देश अब संसारमा बिरलै छन् ।’ यी दुई प्रधानमन्त्रीको संवादलाई बनारसबाट प्रकाशित हुने नेपाली पत्रपत्रिका र दिल्लीका दैनिक सरकारी पत्रिकाहरूले महत्त्वका प्रकाशन गरे ।

लक्ष्मीनाथ शर्माका अनुुसार, त्यतिबेलै मोहनशमशेरले केही वृत्तचिचत्रका प्रिन्ट तथा चलचित्र प्रदर्शन भवन निर्माण गर्न जान्ने इन्जिनियरहरू पनि आफ्नो साथमै लिएर काठमाडौं आएँ । अहिले न्युरोडको विशालबजार रहेको स्थानमा त्यतिबेला ‘टाउन हल’ थियो, त्यसलाई ‘काठमाडौं सिनेमा घर’मा परिणत गर्न लगाइयो । श्यामशंकर श्रेष्ठ नामक व्यक्तिलाई उक्त सिनेमा घर सञ्चालनको जिम्मा दिइयो । यस सिनेमा घरमा २००६ मंसिर २७ गते (सन् १९४९ डिसेम्बर १२) पहिलोपटक व्यावसायिक रूपमा नेपाली दर्शकहरूलाई हिन्दी चलचित्र ‘राम विवाह’ देखाइएको थियो ।

शर्मा लेख्छन्, ‘२०१३ सालमा गृह मन्त्रलयले मुलुकभरिका निवेदनहरूमध्ये उपत्यका भित्र र बाहिर समेत गरी जम्मा ५४ हलको निर्माण स्वीकृति दिएको थियो । २०१० सम्म हलले थेग्नै नसक्ने रूपमा दर्शक संख्या बढेकाले टिकट बिक्री कार्य सुरु गर्दा प्रहरी सुरक्षा आवश्यक हुन गयो । टिकट किनेर बढी पैसामा बेच्ने अर्थात् ब्ल्याक गर्ने व्यवसाय पनि त्यसै बेलादेखि सुरु भएको हो ।’

औपचारिक रूपमा नेपाली चलचित्रसम्बन्धी गोष्ठीको इतिहास २०२९ सालसम्म पुगेको पाइयो । त्यसअघि भएका चलचित्रसम्बन्धी गोष्ठीका सम्बन्धमा यो पंक्तिकार जानकार छैन । 

शर्माका अनुसार, २०१८ सालपछि काठमाडौंंका सिनेमा घरहरू बन्द हुँदै जान थाले । त्यसको कारण थियो– चलचित्र वितरकको संख्या नपुग र यातायातको अभाव । 

नेपाली फिल्मको इतिहास अभिलेखीकरण गर्दा २०२२ सालमा बनेको नेपाली चलचित्र आमालाई पहिलो मानिन्छ । तर यसभन्दा १५ वर्षअघि २००७ साल (सन् १९५१) मै डीबी परियारको निर्देशनमा नेपाली कथानक चलचित्र ‘सत्य हरिश्चन्द्र’को निर्माण भइसकेको थियो । काठमाडौंको मरुहिटी नजिकैको दमाई टोलमा जन्मेका डीबी परियार सानैमा दार्जिलिङ गएका थिए । दार्जिलिङमै पढेका उनले भारतको पश्चिम बंगालको कलकत्तामा बनाएको ‘सत्य हरिश्चन्द्र’लाई नेपाली भाषामा बनेको पहिलो चलचित्र मान्नुपर्ने धारणा लक्षमीनाथ शर्माले आफ्नो पुस्तकमा व्यक्त गरेका छन् । 

गोष्ठी र फेस्टिभल

औपचारिक रूपमा नेपाली चलचित्रसम्बन्धी गोष्ठीको इतिहास २०२९ सालसम्म पुगेको पाइयो । त्यसअघि भएका चलचित्रसम्बन्धी गोष्ठीका सम्बन्धमा यो पंक्तिकार जानकार छैन । 

पछि आएर निजी तवरबाट ‘फिल्म साउथ एसिया’ (फेस्टिभल अफ साउथ एसिएन डकुमेन्टरिज) सन् १९९७ देखि हुँदै आएको छ । डकुमेन्ट्री वा ननफिक्सन फिल्मको सहभागिता रहने यस फेस्टिभल द्विवार्षिकी हो । 

यसको तीन वर्षपछि सन् २००२ देखि ‘काठमान्डु इन्टरनेसलन माउन्टेन फिल्म फेस्टिभल’ (किम्फ) सुरु भयो । हिमाल एसोसिएनको आयोजनामा द्विवार्षिकी रूपमा सुरु भएको किम्फले गत वर्ष २०औँ संस्करण पूरा गर्‍यो, यो फेस्टिभल सन् २००६ देखि वार्षिक रूपमा सञ्चालन हुँदै आएको छ । 

किम्फ कमिटीका सदस्य शेखर खरेलका अनुसार, इन्टरनेसलन माउन्टेन डे ११ डिसेम्बरमा पर्छ, यही आधारमा यो फेस्टिभल डिसेम्बरको दोस्रो हप्तामा गरिन्छ । 

अर्कोतिर, मोहनशमशेरको निर्देशनमा सञ्चालनमा आएको ‘काठमाडौं सिनेमा घर’मा पहिलोपटक व्यावसायिक फिल्म ‘राम विवाह’ प्रदर्शन गरेको मिति (सन् १९४९ डिसेम्बर १२) र किम्फको मिति मिल्न जान्छ, यद्यपि यो संयोग पनि हुन सक्छ । 

‘किम्फले ‘टोनी हेगन फाउन्डेसन’को सहयोगबाट प्रत्येक वर्ष चारवटा डकुमेन्ट्री फिल्मलाई ग्रान्ट (अनुदान) सहयोग दिँदै आएको छ । फिल्म फेस्टिभललाई अन्तर्राष्ट्रिय रूपमा आकर्षक बनाउन राज्य स्तरबाटै सहयोग हुनुपर्छ,’ खरेल भन्छन्, ‘भूराजनीतिक रूपमा र भौगोलिक सौन्दर्यताले गर्दा पनि नेपाल फिल्म फेस्टिभलका उपयुक्त स्थान हो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप