शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी केन्द्रीय समिति बैठकले नीति अधिवेशनको मिति तोक्छ : महामन्त्री थापा

सोमबार, १३ चैत २०७९, ०७ : २६
सोमबार, १३ चैत २०७९

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी केन्द्रीय कार्यसमिति बैठकबाट नीति अधिवेशनको मिति तोकिने बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रद्वारा आयोजित जुम मिटिङमा महामन्त्री थापाले त्यसका लागि केन्द्रीय समिति बैठक बोलाउने तयारी भइरहेको बताए । उनले भने, 'जिल्ला, प्रदेश र पालिकास्तरमा वार्षिक सम्मेलन गरिने छ । त्यसपछि नीति अधिवेशन हुन्छ । नीति अधिवेशनका मिति र स्थान आगामी केन्द्रीय समिति बैठकबाट तय हुन्छ । अब केही दिनमा केन्द्रीय कार्यसमिति बैठक बस्छ ।'

उनका अनुसार महाधिवेशन प्रतिनिधि वा महासमिति सदस्यको सहभागितामा नीति अधिवेशन गर्ने भनेर बहस भइरहेको छ । 'सातै प्रदेशमा नीति अधिवेशन गरेर केन्द्रमा नीति अधिवेशन गराउने कि भनेर पनि छलफल भइरहेको छ,' थापाले भने ।

पार्टीको सबै तहलाई सुदृढ र व्यवस्थित बनाउन २०८० सालमा देशभरि घुम्ने आफ्नो योजना रहेको उनले सुनाए । 'यो एक वर्ष स्थानीय, प्रदेश र प्रतिनिधिसभा चुनावमा व्यवस्त भइयो । त्यसमा पनि पार्टीभन्दा गठबन्धन बैठकमा बढी सहभागी हुनुपर्यो,' उनी भन्छन्, 'एक दुई दिनमा सरकारले पूर्णता पाउछ । हाम्रा सात आठ जना साथीहरु सरकारमा जानुहुन्छ । त्यसपछि हामी पुरा पार्टीको काममा लाग्छौं ।' 

आगामी केन्द्रीय कार्यसमिति बैठकअघि भ्रातृ संस्था र पार्टीका विभाग गठन गरिने महामन्त्री थापाले बताए । यस्तै क्रियाशील सदस्यता वितरणका प्रक्रिया थाल्न जिल्ला कार्यसमितिलाई परिपत्र गरिएको उनले बताए । जिल्ला कार्यसमितिले केन्द्रीय कार्यालय सानेपाबाट फारम लिन सक्ने उनको भनाइ छ । कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य संयोजनमा भएको जुम मिटिङमा सहभागीहरुले नीति अधिवेशनले कांग्रेसको एक दशको दिशा निर्देशन गराउने गरी छलफल थाल्नुपर्नेमा जोड दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप