के सुन्दरता, आम्दानी बढाउने मापन हो ?

दक्षिण अफ्रिकाको केप टाउनकी मोडल मारिकेले मानिसहरूले प्रायः उनलाई ड्रिङ्क, लन्च र कार्यक्रममा सँगै जाने प्रस्ताव दिने गरेको बताउँछिन् । किन ? जवाफमा उनले आफ्नो सुन्दरताकै कारण यस्तो हुने गरेको बताउँछिन् ।
अग्ली, पातली र खैरो कपाल भएकी मोडलले बीबीसी बिजनेस रेडियोको दैनिक कार्यक्रममा भनिन्, ‘केही मानिसहरूलाई यो ठिक होइन जस्तो लाग्छ ।’
‘तर तपाईँ जस्तो देखिनुहुन्छ र आफ्नो त्यो रूपलाई कायम राख्नका लागि तपाईँले धेरै मेहनत गर्नुहुन्छ । यस्तो अवस्थामा यी सबै अतिरिक्त चिज तपाईँले निःशुल्क पाइरहनुहुन्छ । मलाई लाग्छ तपाईँले जे पाउनुहुन्छ त्यो लिनुहोस् र मोज गर्नुहोस् ।’
चाहे हामीले यो स्वीकारोक्तिलाई मन पराउँछौँ वा पराउँदैनौँ तर सौन्दर्यका लागि पूर्वाग्रह हलिउड, सोसल मिडिया र विज्ञापनको दुनियाँमा मात्रै सीमित छैन । यो दिशामा भइरहेका शोधबाट के थाहा हुन्छ कि आकर्षक मानिसहरूको जीवन अलि बढी आरामदायक र शानदार हुन्छ ।
तर कसरी सुन्दर मानिसहरू अरू भन्दा राम्रो स्थितिमा हुन्छन् ? आउनुहोस् यसबारे जानकारी लिऔँ ।
सामाजिक सञ्जालको शक्ति
संसारभरका मानिसहरूले यस विषयमा छलफल गरिरहेका छन् । ‘सुन्दर देखिने’ मानिसहरूले ती स्टोरीजलाई स्वाप गरिरहेका छन् जसमा उनीहरुले ‘सुन्दर भएका कारण निःशुल्कमा उत्पादनहरू पाइरहेका छौँ’ भनिरहेका छन् । एक महिलाले त यहाँसम्म भनिन्, ‘मलाई त्यो जागिरका लागि अन्तरवार्तामा बोलाइयो जसका लागि म योग्य थिइनँ किनभने कम्पनीलाई म असाध्यै राम्री लाग्यो ।’
सामाजिक सञ्जालले स्पष्ट रूपमा धेरै मानिसहरूलाई सशक्त बनाएको छ, पुरुष र महिला दुवैले घरबाहिर ननिस्किएर पनि आफ्नो लुकको आधारमा पैसा कमाउँछन् ।
मारिके तर्क गर्छिन्, ‘सुन्दर मानिसले पाउने प्राथमिकता वास्तवमा बढिरहेको छ । यसको पछाडि इन्स्टाग्रामलाई जिम्मेवार बताउन सकिन्छ ।’
ब्रान्डहरू सामाजिक सञ्जालमा उपस्थित युवा ग्राहकहरूसम्म पुग्न एक अर्कासँग सङ्घर्ष गरिरहेका छन् । यी युवाहरू अब परम्परागत मिडिया हेर्दैनन् ।
मारिके भन्छिन्, ‘एउटा ब्रान्डले तपाईँलाई यति धेरै उत्पादन पठाउँछ र तपाईँले इन्स्टाग्राममा त्यो उत्पादन सेयर गरेर मानिसलाई प्रभावित मात्रै बनाउनुपर्ने हुन्छ ।’
मारिकेका अनुसार उनलाई धेरैजसो आयोजना जस्तै कुनै रेस्टुरेन्टको उद्घाटनमा पनि निमन्त्रणा दिइन्छ ।
‘तपाईँ त्यहाँ पुग्नु मात्रै पर्छ र मस्ती गर्नुपर्छ । आयोजकलाई यो राम्रो लाग्छ किनभने उनीहरूको रेस्टुरेन्टमा थुप्रै सुन्दर महिलाले मस्ती गरिरहेको तस्बिर देखिन्छन् ।’
मारिकेले निःशुल्कका उत्पादनहरू लिन र उनीहरूतर्फ आकर्षित हुन आफूलाई मन पर्ने स्वीकार गर्छिन् ।
उनी भन्छिन्, ‘एक मोडल र सुन्दर भएको कारणले यस्ता खालका निःशुल्कको अनुभव र मौका पाउनु आफैँमा एक शानदार हो । जब तपाईँ ठुलो सहरमा हुनुहुन्छ तब तपाईँको खर्च अत्यधिक हुन्छ ।’
सुन्दर मानिस कत्तिको राम्रो अवस्थामा हुन्छन् ?
टेक्सास विश्वविद्यालयका डेनियल हेमरमेश एक अर्थशास्त्री हुन् र धेरै वर्षदेखि ‘सौन्दर्य पूर्वाग्रह’ भनिने यो अवधारणाको अध्ययन गरिरहेका छन् ।
उनका अनुसार सुन्दर मानिसले बढी तलब पाउँछन्, बैङ्कको लोन लिँदा कम समस्या भोग्छन् र साधरणतया उनीहरुले राम्रो जागिर र स्रोत साधनको प्रस्ताव पाउँछन् ।
हेमरमेश भन्छन्, ‘जो मानिसहरू आफूलाई राम्रो मान्छन्, उनीहरुले राम्रो गर्छन् र जे गर्छन् त्यसको बदलामा उनीहरुले बढी नै पाउँछन् पनि ।’
‘यो विश्वविद्यालय शिक्षणको क्षेत्रमा पनि छ, जुन सुन्दरतामाथि निर्भरताका लागि खासै चर्चित छैन । यहाँसम्म कि अर्थशास्त्रजस्तो विषयमा पनि । केही शोधमा यो पत्ता लागेको छ कि सुन्दर देखिने अर्थशास्त्री बढी कमाउँछन् ।’
उनीहरू अनुमान लगाउँछन् कि अरूको तुलनामा हेर्दा सुन्दर देखिने कर्मचारीले आफ्नो जीवनकालमा औसतमा २३०,००० डलर अतिरिक्त कमाउँछन् । उनीहरूको यो गणना प्रति घण्टा २० डलरको तलबमानमा आधारित छ ।
अनुसन्धानकर्ता यो पनि मान्छन् कि लिङ्गको आधारमा तलबमा गरिने भेदभाव सुन्दर देखिने मानिसहरूमा पनि लागू हुन्छ । हेमरमेशले अनुसन्धानको क्रममा के पत्ता लगाएका छन् भने आकर्षक देखिने पुरुष आकर्षक देखिने महिलाको तुलनामा बढी पैसा कमाउँछन् । कम आकर्षक देखिने पुरुष आकर्षक देखिने पुरुषको तुलनामा १० प्रतिशत कम कमाउँछन् ।
हेमरमेश भन्छन्, ‘अन्य कारक जस्तै व्यक्तित्व, बुद्धिमत्ता, शिक्षा, उमेर र जातीले पनि महत्त्व राख्छन् तर सुन्दरता यी सबैभन्दा भिन्न एक कारक हो ।’
‘यदि तपाईँ मानिसबीच यी सबै भिन्नतालाई समावेश गर्नुभयो भने पनि सुन्दरता एउटा यस्तो कारक हो जसले श्रम बजार वा जागिरलाई प्रभावित गर्छ ।’
सुन्दरताको परिभाषा के हो ?
धेरैले सुन्दरतालाई परिभाषित गर्न गाह्रो छ भनी तर्क गर्छन्, तर हेमरमेश यसमा सहमत छैनन् । उनी भन्छन् कि को राम्रो देखिन्छन् र को कम आकर्षक छन् भन्ने कुरामा धेरै सहमत हुन सक्छन् ।
‘यदि तपाईँ र म सडकमा हिँडिरहेका छौँ र तपाईँले १० जना हेर्नुभएको छ भने तीमध्ये एक–दुई जना असाध्यै राम्रो लागेको हुनसक्छ । त्यसपछि को सुन्दर देखिएको छ भन्ने विषयमा कुरा निकालियो भने हाम्रो धारणा एउटै खालको हुनसक्छ ।’
सौन्दर्य पूर्वाग्रहमा जातीले कुनै फरक पर्दैन भन्ने पनि उनले तर्क गर्छन् ।
‘आज जुनसुकै दौड होस्, सौन्दर्यको बारेमा हाम्रो विचारहरू लगभग उस्तै छन् । एक अफ्रिकी जो आकर्षक छन्, उनलाई पूरा दुनियाँमा आकर्षक महिलाको रूपमा हेरिनेछ । एक एसियाली महिला वा कुनै क्षेत्रकी महिलाको सन्दर्भमा पनि त्यस्तै हुनेछ ।’
सुन्दर अनुहार र मोटोपनको डर
अनुहारलाई विशेष आकर्षक बनाउन बोटक्स र लिप फिलिङ जस्ता कस्मेटिक उपचारहरू अहिले सामान्य बन्दै गएका छन् ।
तर, यस्तो प्रक्रियापछि मान्छे सुन्दर नै हुन्छन् भन्ने जरुरी छैन भन्ने हेमरमेशको विश्वास छ ।
‘मानिसहरूलाई लाग्छ कि यसले उनीहरूलाई मद्दत गर्छ । उनीहरूले राम्रो लुगा, राम्रो सौन्दर्य प्रसाधन र कपाल किन्न सक्छन् । तर सांघाईमा गरिएको एक अध्ययनले के पत्ता लागेको छ भने जो मानिस बढी ब्युटी उत्पादनको प्रयोग गर्छन् र सुन्दर देखिन बढी खर्च गर्छन् उनीहरू तीभन्दा बढी सुन्दर मानिएनन् जसले यसका लागि कम पैसा गर्छन् ।’
र जब कुरा सुन्दरता र रोजगारको आउँछ – लेखिका एमिली लरेन डिक तौलको विषयमा अत्यधिक भेदभाव हुने गरेको तर्क दिन्छिन् ।
यद्यपि अधिकांश देशहरूमा श्रम कानुनले कामसँग सम्बन्धित कारकहरू, जस्तै जाति, लिङ्ग, अपाङ्गता वा उमेर जस्ता कुनै पनि कारणको आधारमा भेदभावलाई निषेध गर्दछ । एमिली भन्छिन्, ‘शारीरिक रुपका लागि कुनै सुरक्षा कवच छैन । कार्यस्थल नीतिमा परिवर्तन हुनुपर्छ र यो भेदभावविरुद्ध मानिसलाई प्रशिक्षित गर्नुपर्छ ।’
उनी तर्क दिन्छिन्, ‘फ्याट फोबिया अर्थात् मोटो भएका कारण थप घृणा एक प्रकारको नस्लवाद नै हो ।’
क्यानेडियन लेखक एमिली भन्छिन्, ‘जब दासत्वको युग सुरु भयो, गोरा महिलाहरूले आफूलाई कालो महिलाहरूभन्दा फरक देखाउन आफ्नो शरीर पातलो राख्थे ।’
उनले विज्ञापन र फिल्मले मोटा मानिसलाई ‘मन नपराइएको र मूर्ख’ को रूपमा पेस गर्दछ । उनका अनुसार यो यस्तो विश्वास हो जसका कारण मोटा मानिसले सामान्य जीवनमा शोषण र उत्पीडनको सामना गर्नुपर्ने हुन्छ ।
‘मोटो व्यक्तिहरूले पातलो शरीर भएका कर्मचारीहरू भन्दा कम कमाउन सक्छन्, र यो धारणा र उनीहरूको स्थिति के हो भन्नेसँग पनि जोडिएको छ,’ उनी भन्छिन् ।
उनको यो अवधारणालाई विज्ञानले पनि समर्थन गरेको देखिन्छ । बेलायतको शेफिल्डस्थित ह्यालम युनिभर्सिटीमा गरिएको एक अनुसन्धानले पनि यही सङ्केत गरेको छ ।
रोजगारदाताहरूलाई समान बायोडाटा दिइएको । पहिले मोटा मान्छेको फोटो राखेर अनि पछि पातलो मान्छे को फोटो राखेर । नतिजा स्पष्ट रूपमा पातला मानिसतर्फ झुक्यो ।
विश्व स्वास्थ्य सङ्गठनको अनुमान अनुसार विश्वमा मोटो व्यक्तिको सङ्ख्या १० करोड नाघेको छ । अब सुन्दरता र तौलको बारेमा हाम्रो आफ्नै अचेतन पूर्वाग्रहलाई चुनौती दिने सही समय आएको जस्तो देखिन्छ ।
सौन्दर्यप्रतिको प्रवृत्ति कुनै नौलो कुरा होइन र यसले हलिउड मात्र नभई आम मानिसलाई पनि पुस्तादेखि पुस्ता प्रभावित गरिरहेको छ ।
मोडल मेरीकेका अनुसार समाजमा रुपरङका लागि पागलपनमा अब ध्यान दिइँदैछ र फेसन उद्योगमा अब अपेक्षा फेरिँदै छ ।
‘आजकाल मानिसहरू ती कलाकार र अभिनेतामा रुचि राख्छन् जोसँग कुनै कहानी छ, जो अभिनयबाहेक अरू पनि केही गर्छन् वा अन्य क्षेत्रमा पनि रुचि राख्छन् । त्यसैले अब व्यक्तित्व असाध्यै महत्त्वपूर्ण छ ।’
यो उद्योगभित्र बढ्दै गएको ट्रेन्ड हो जुन असाध्यै शानदार कुरा हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही
-
भारतको पञ्जाबमा अवैध रक्सी सेवनबाट २१ जनाको मृत्यु
-
डिजिटल मिडियाको अनुगमन र कारबाही काउन्सिलको क्षेत्राधिकार भएको ठहर