आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
विभागको एक्सन

राजश्व छलीको आशङ्कामा १६ वटा गाडी नियन्त्रणमा, तौलदेखि सामानको विवरणमै फरक

मङ्गलबार, १४ चैत २०७९, २१ : ३२
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ। राजश्व छलीको आशङ्कामा राजश्व अनुसन्धान विभागले १६ वटा कन्टेनर तथा ट्रक नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।  वीरगन्ज, भैरहवा, विराटनगर, रसुवालगायत भन्सारबाट यी ट्रकहरू विभागले नियन्त्रणमा लिएको हो। पछिल्लो समयमा विभागले एकै पटक धेरै ट्रकहरू नियन्त्रणमा लिएको पहिलो पटक हो। 

अहिले निर्धारित लक्ष्य भन्दा कम राजश्व उठिरहेको छ। सबैभन्दा धेरै रकम उठ्ने वीरगन्ज भन्सारबाट वार्षिक २ खर्ब ६० अर्ब राजश्व उठ्ने लक्ष्य लिएपछि कम राजश्व उठेको छ। त्यस्तै भैरहवाबाट वार्षिक एक खर्ब ५५ अर्ब रुपैयाँ राजश्व उठ्ने लक्ष्य लिइएपनि ज्यादै कम राजश्व उठिरहेको भन्सार विभागले जनाएको छ। 

धेरै राजश्व उठ्ने नाकाहरू भन्सार कार्यालयहरू क्रमशः वीरगन्ज, भैरहवा, नेपालगन्ज, कृष्णनगर, जोगवनी, कैलाली, काँकडभिट्टा लगायत नाकाहरू छन्। तर, यी भन्सार कार्यालयबाट सोचेभन्दा कम राजश्व उठिरहेको छ। 

व्यापारीहरूले सेटिङमा सामान एउटा देखाएर अर्को समान ल्याई राजश्व छली गरेको सूचना राजश्व विभागले पाएपछि गाडीहरू नियन्त्रणमा लिएको हो। 

विभागका महानिर्देशक नारायण प्रसाद सापकोटाले नियन्त्रणमा लिइएका ट्रकहरूमाथि छानबिन भइरहेको बताए। उनले रातोपाटीसँग भने,‘ बिलमा बच्चाको सामान देखाएर ठुला मान्छेले प्रयोग गर्ने कपडा समेत ल्याएको पाइयो। हामी सबै गाडीहरूको प्रज्ञापन पत्रदेखि विलविजक केलाउँदै छौं। दोषी देखिएकालाई कारबाही गर्छौं।’

भन्सार विभागका निर्देशक पूर्ण विक्रम खड्काले भने शङ्का लागेको खण्डमा राजश्वले गाडी नियन्त्रणमा लिएर अनुसन्धान गर्न पाउने कानुनी अधिकार भएकाले नियन्त्रणमा लिएको बताए। 

उनले भने,‘ राजश्वले गर्ने कामहरु नाकाहरूबाट छिर्ने गाडीमा गडबडी भएको शङ्का लागे छानबिन गर्न पाउँछ। तर, हामीले भन्सार जाँच पास प्रक्रिया त्रुटिरहित ढङ्गले गरेका छौँ।’ उनले भन्सारमा नाकामा रहने प्रमुख र कर्मचारीहरूलाई कुनै किसिमको मोलाहिजा नगर्नु भन्ने निर्देशन दिएको बताए। 

राजश्व उठाउने र राजश्व उठाएको सम्बन्धमा आवश्यक छानबिन गर्ने निकायबिच समन्वय अभाव रहेको देखियो भन्ने प्रश्नमा खड्काले भने,‘ राजश्व अनुसन्धान विभाग हामीलाई पनि  निगरानी गर्ने निकाय हो। यसमा उहाँहरूलाई आएको सूचना बारे छानबिन तथा अनुसन्धान गर्ने बाटो खुला छ। अनुसन्धानको प्रक्रिया र हामीले गरेको कामको चित्त नबुझे जरिवाना तिराउने काम पनि भइरहेको छ।’

राजश्व अनुसन्धान विभागका महानिर्देशक सापकोटाले सूचना अनुसार गाडीहरूले कर छली गरेको भन्ने छ। हामी एकएक गरेर अनुसन्धान गर्छौं।’ 

उनले राजश्व उठाउने लक्ष्य अनुसार काम नभएपछि विभाग अग्रसर भएर काम गरिरहेको बताए। उनले भने,‘ किलोको भरमा राजश्व अनुमान हुन्छ तर, तौल फरक पर्ने वित्तिकै राजश्व गुम्छ, अहिले नियन्त्रणमा लिइएका ट्रकहरुले तौलमै फरक पारेको सूचना पनि छ। हामी हेर्दैछौं।’ उनले एक महिनाको अवधिमा राजश्व छलीका गाडी नियन्त्रणमा लिएर १० करोड बढी राजश्व उठाएको बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास गोतामे
सुवास गोतामे
लेखकबाट थप