शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
उपनिर्वाचन

उपनिर्वाचन बारा–२ : उपेन्द्र यादवलाई रोक्ने जनमतको दाउ

बुधबार, १५ चैत २०७९, २१ : ३१
बुधबार, १५ चैत २०७९

जनकपुरधाम । बारा–२ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुन गइरहेको उपनिर्वाचन निकै रोचक हुने देखिएको छ । गत मङ्सिरमा सम्पन्न आम निर्वाचनमा सोही क्षेत्रबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेसँगै रोचक प्रतिस्पर्धा हुने आँकलन गरिएको हो ।

सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उम्मेदवार बन्ने चर्चा छ । तर, उनलाई अहिलेको सत्ता गठबन्धनभित्रबाटै एउटा पक्षले असहयोग गर्ने निश्चित देखिएको हो । खासगरी जनमत पार्टी र लोसपा नेपालले उपेन्द्र यादवलाई नसघाउने परिस्थिति देखिएको छ ।

शिवचन्द्र कुशवाहाले आफू उपनिर्वाचनमा उम्मेदवार बन्ने बताउँदै आएका छन् । माओवादी केन्द्रमा रहँदा पार्टीले उम्मेदवार बनाउने निश्चित नभएकै कारण उनी बुधबार जनमत पार्टीमा प्रवेश गरेको बताइन्छ । जनमत पार्टीले सो क्षेत्रमा उनलाई नै उम्मेदवार बनाउने लगभग निश्चित रहेको स्रोत बताउँछ ।

गत मङ्सिर ४ मा भएको निर्वाचनमा सो क्षेत्रबाट रामसहाय यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । जसपाबाट उम्मेदवारी दिएर विजयी भएका उनी उपराष्ट्रपति निर्वाचित भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

मङ्सिरमा सम्पन्न निर्वाचनमा रामसहायका निकटतम प्रतिस्पर्धी कुशवाहा ३ सय ५४ मतान्तरले पराजित भएका थिए । तर सत्तारुढ गठबन्धनबाट उपेन्द्र यादव उम्मेदवार बन्ने सम्भावना बढेसँगै उनी जनमत पार्टीमा प्रवेश गरेका हुन् ।

सो क्षेत्रमा नेकपा एमालेले कसलाई उम्मेदवार बनाउँछ भन्ने प्रस्ट भइसकेको छैन । एमालेले आफ्नै उम्मेदवार खडा गर्छ वा कसैलाई समर्थन गर्छ भन्ने प्रस्ट नभए पनि कुशवाहाकै उम्मेदवारीले उपेन्द्र यादवलाई त्यति सहज नहुने आकलन गरिएको छ ।

सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग करिब दोब्बर मतान्तरले पराजित भएपछि उपेन्द्र यादव संसद् छिर्न सुरक्षित निर्वाचन क्षेत्रको खोजीमा थिए । जसका लागि उनले रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर बारा–२ मा उपनिर्वाचन हुने अवस्था सिर्जना गराए ।

सीके राउतले मधेसमा आफ्नो वर्चस्व कायम राख्न भित्रभित्रै रणनीति बनाइरहेका थिए । सोही अनुसार उनले कुशवाहालाई पार्टीमा भित्र्याए । राउतले अब कुशवाहालाई सो क्षेत्रमा उम्मेदवार बनाएर उपेन्द्र यादवलाई टक्कर दिने रणनीति अपनाउन थालेको जानकारहरू बताउँछन् ।

‘गठबन्धनले जालझेल गरिरहेको छ, त्यसलाई चिर्नका लागि जनमत पार्टीबाट कुशवाहालाई उम्मेदवार बनाउँछौँ,’ पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राउतले भने । लोकतन्त्रको रक्षाका लागि कुशवाहालाई पार्टीको तर्फबाट उम्मेदवार बनाउने उनको भनाइ थियो ।

गत मङ्सिरमा सम्पन्न निर्वाचनमा रामसहाय यादव त्यस क्षेत्रबाट विजयी हुँदा १३ हजार ८ सय २२ मत प्राप्त गरेका थिए भने कुशवाहाले १३ हजार ४ सय ६८ मत प्राप्त गरेका थिए । यस्तै, जनमत पार्टीको तर्फबाट त्यस क्षेत्रमा उम्मेदवार रहेका राजेश साहले २ हजार ७ सय २५ मत प्राप्त गरेका थिए ।

जसपाबाटै विद्रोह गरी स्वतन्त्र उम्मेदवारी दिएका रामकिशोर यादवले तेस्रो सबैभन्दा बढी मत प्राप्त गरेका थिए । उनले ११ हजार ४३ मत प्राप्त गरेका थिए । अहिले उनी जसपामै फर्किसकेका छन् ।

प्रदेशसभातर्फ बारा–२ का दुवै निर्वाचन क्षेत्रमा जसपाका उम्मेदवारहरू शारदा शंकरप्रसाद कलवार र बच्चा राउत अहिर निर्वाचित भएका छन् ।

समानुपातिक मतको हिसाबले पनि बारा–२ मा जसपा पहिलो स्थानमा छ । पछिल्लो निर्वाचनको मतपरिणाम अनुसार त्यहाँ १३ हजार २ सय ४२ मतसहित समानुपातिकतर्फ जसपा पहिलो स्थानमा छ भने कांग्रेस ११ हजार १ सय ७९ सहित दोस्रो स्थानमा छ ।

त्यसपछि एमालेले नौ हजार १ सय ९३, जनमत पार्टीले आठ हजार ८ सय ४६, लोसपाले ४ हजार २ सय ३५, नागरिक उन्मुक्तिले तीन हजार ७ सय ९४, माओवादीले तीन हजार २ सय ६५, नेपाल संघीय समाजवादी पार्टीले दुई हजार ३ सय ६६, एकीकृत समाजवादीले एक हजार ९ सय ९६, राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार ४ सय ५५ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ९ सय ९२ मत प्राप्त गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अमरेन्द्रकुमार यादव
अमरेन्द्रकुमार यादव
लेखकबाट थप