शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
स्वास्थ्य समाचार

कोरोना सङ्क्रमित बढ्दै, सीमा नाकामा निगरानी

बिहीबार, १६ चैत २०७९, ०७ : ४५
बिहीबार, १६ चैत २०७९

काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) सङ्क्रमण फेरि बढ्न थालेको छ । गएको भदौ मसान्तमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ११० थियो । त्यसपछि क्रमशः घटेर शून्यमा पुगेको सङ्क्रमण पछिल्लो एक सातामा बढ्दै गएको हो ।

चैत ८ गते शून्य सङ्क्रमण रहेकोमा चैत १३ गते आइपुग्दा ६९ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले देखाउँछ ।

चैत १५ गते ३४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । मन्त्रालयका अनुसार १४ गते २४ जनामा, १२ गते १६ जनामा, ११ गते ३  जनामा, १० गते २ जनामा र ९ गते १७ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर चुमनलाल दासले भारतमा कोभिड–१९ सङ्क्रमण दर बढेकाले नेपालमा पनि सङ्क्रमित देखिन थालेको बताए ।

सीमा नाकामा निगरानी

भारतमा कोरोना सङ्क्रमित बढेकाले नेपाल–भारत सीमा नाका हुँदै नेपाल प्रवेश गर्नेलाई सङ्क्रमण देखिएको निर्देशक डा. दासले बताए । नेपाल–भारत सीमा नाका श्रीनगर, कृष्णनगर, बेलहिया, गड्डा चौकी हुँदै नेपाल प्रवेश गर्नेहरूमा सङ्क्रमण पुष्टि भएको उनले सुनाए । उनले भने, ‘भारतको उत्तर प्रदेशमा कोरोना सङ्क्रमणको केस बढिरहेकाले सोही प्रदेशसँग जोडिएको सीमा नाकाको प्रवेश बिन्दूमा सङ्क्रमित पाइएको छ ।’

केही दिन यता सङ्क्रमितको संख्या बढ्न थालेकाले सीमा नाकाहरूमा निगरानी बढाइएको उनले जनाए । सबै सीमा नाकामा भारत हुँदै नेपाल प्रवेश गर्नेहरुलाई परीक्षणलाई निरन्तरता दिइरहेको उनको भनाइ छ ।

उनले भने, ‘सीमा नाकाहरूबाट नेपाल प्रवेश गर्नेहरूलाई निगरानी बढाइएको छ । सङ्क्रमितलाई कडाइका साथ मापदण्डमा आधारित नियम पालना गर्न भनेका छौँ ।’ 

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले जुनसुकै भेरियन्ट आए पनि कोभिड–१९ को जोखिम कम गर्न सबैले सजगता अपनाउनुपर्ने बताए । नेपालमा ओमिक्रोन भन्दा सङ्क्रामक मानिएको ‘एक्सबीबी.१.१६’ को संक्रमण पुष्टि भएको छैन ।

महाशाखाका निर्देशक डा.दासका अनुसार जिन सिक्वेन्सिङका लागि नमुना सङ्कलन कार्य भइरहेको छ । सङ्क्रामक मानिएको ‘एक्सबीबी.१.१६’ भेरिएन्ट २०० भन्दा बढीमा पुष्टि भइसकेको छ । यद्यपि नेपालमा बीए ५.२, बीएम.१.१.३ पुष्टि भएको छ ।

रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह

पछिल्लो एक साता यता कोभिड–१९का सङ्क्रमित बढेपछि स्वास्थ्य मन्त्रालयले रुघाखोकी लागेको हो भनेर बेवास्ता नगर्न सबैमा आग्रह गरेको छ । रुघाखोकी र कोभिड–१९ का लक्षण मिल्दाजुल्दा हुने भएकाले सावधानी अपनाउन जरुरी रहेको डा. अधिकारीको भनाइ छ ।

कोरोना सङ्क्रमण हुँदा ज्वरो आउने, खोकी लाग्ने, गन्ध थाहा नपाउने, घाँटी दुख्ने वा खसखस हुने, थकान महसुस हुने, टाउको दुख्ने, नाकबाट सिँगान बग्ने, हाच्छिउँ आउने लक्षण देखिन्छ ।

मन्त्रालयका सहप्रवक्ता अधिकारीले कोभिड–१९ सङ्क्रमणको जोखिम कम गर्न आफू र अरुलाई सुरक्षित राख्न सबै उपाय अपनाउन आग्रह गरे । सङ्क्रमणबाट जोगिनका लागि सही तरिकाले मास्क लगाउन, कम्तीमा २ मिटरको भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबुनपानीले हात धुने वा सेनीटाइजर प्रयोग गर्न, हावा आवतजावत हुने स्थानमा बस्न, खोक्दा वा हाच्छिउँ गर्दा रुमाल वा कुहिनाको प्रयोग गर्न उनको सुझाव छ ।

कोभिड–१९ विरुद्धको खोप लगाउन आग्रह

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाउन पनि सबैमा आग्रह गरेको छ । सरकारले स्वास्थ्य केन्द्रहरूबाट दोस्रो बुस्टर डोज खोप दिइरहेको छ । सरकारले दीर्घरोगी, ज्येष्ठ नागरिक, फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई दोस्रो बुस्टर डोज लगाउन आग्रह गरेको छ ।

यस्तै, कोरोनाविरुद्धको खोप नलगाएका तथा पूर्ण मात्रा खोप नलगाएकालाई लगाउन, पूर्ण मात्रा खोप लगाएर बुस्टर डोज खोप नलगाएकालाई अनिवार्य रुपमा लगाउन मन्त्रालयले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म बुस्टर डोज खोप ८४ लाख ७ हजार २७४ जनाले लगाएका छन् ।

यस्तै, लक्षित समूहमा २ करोड ३३ लाख २७ हजार ६१९ मात्रा कोरोना विरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ । जसमध्ये ९९.५ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् भने पूर्ण मात्रा ९५.७ प्रतिशतले लगाएको मन्त्रालयले जनाएको छ ।

कोरोना सङ्क्रमणका कारण गएको ८१ दिन दिन यता कसैको ज्यान गएको छैन । नेपालमा कोरोना महामारी फैलिएपछि १२ हजार २० जनाले ज्यान गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप