शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

लाओससँगको खेलका लागि शारीरिक र मानसिक रुपमा तयार छौँ  : कप्तान लिम्बु

नयाँ खेलाडीको राम्रो छविका लागि जित आवश्यक छ : प्रशिक्षक भिन्सेन्जो
बिहीबार, १६ चैत २०७९, १७ : ५८
बिहीबार, १६ चैत २०७९

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण कुमार लिम्बुले शुक्रबार हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताएका छन् । 

नेपालमा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको फाइनल अघिको पत्रकार सम्मेलनमा बोल्दै नेपाली टोलीका कप्तान किरणकुमार लिम्बूले उपाधि जिते टोलीमा समावेश भएका नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्ने अवसर हुने बताएका हुन् ।   

नेपाली टोली शुक्रबार आयोजना हुन लागेको फाइनल खेलका लागि मानसिक र शारीरिक हिसाबमा तयार भएको उनले बताए । उनले टोलीमा नयाँ खेलाडीको बाहुल्यता भएको र उनीहरुको मनोबल उच्च बनाउनका लागि पनि यो प्रतियोगिताको उपाधि निकै महत्त्वपूर्ण रहेको बताए । नेपाली फुटबल कठिन समयबाट गुज्रिरहेको अवस्थामा समर्थकलाई खुसी दिलाउनका लागि यो प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको समेत किरणले बताए ।  

यस्तै नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो एनिसले नेपाली टोलीमा अहिले अधिकांश नयाँ खेलाडी भएको र राम्रो छवि बनाउनका लागि जित निकै आवश्यक भएको बताए । टोली मानसिक र शारीरिक हिसाबमा तयार रहेको भन्दै शुक्रवार नेपाली टोली सुखद् नतिजाका लागि खेल्ने बताए ।  टोलीमा धेरैजसो नयाँ खेलाडी भएकाले सबै खेलाडीका लागि फाइनल खेल राम्रो अवसर भएको बताउँदै प्रशिक्षक एनिसले भुटानबिरुद्धको खेलमा चोट बोकेका अञ्जन बिष्ट फाइनलमा उपलब्ध हुने समेत जानकारी दिए । 

भुटान अन्तिम मिनेटमा बराबरीमा रोकिएपछि फाइनलमा स्थान बनाएको लाओसका प्रशिक्षक हान्स मिकेल विसले पहिलो खेलमा नेपालविरुद्ध संघर्ष गरेपनि फाइनलमा राम्रो गर्नेमा विश्वस्त रहेको बताए । घरेलु टोलीविरुद्ध हुने खेल निकै प्रतिष्पर्धातमक हुने विश्वास राख्दै उनले अहिलेको टोलीमा धेरैजसो खेलाडीले यु–१९ उमेर समूहको भएको र उनीहरुले राम्रो खेल्दै घर फर्किने बताए । खेल लाओस फुटबलका लागि धेरै अवसर हुने भन्दै टोली कुनैपनि हालतमा जितका लागि खेल्ने हान्स मिकेल विसले बताए । 

यस्तै लाओसका कप्तान साउकाफोन भोनचेनखामले फाइनल प्रतिष्पर्धाका लागि टोली उत्साहित भएको बताए । पहिलो खेलमा आफ्नो टोली मौसमका कारण अपेक्षाअनुसार खेल्न नसकेको र केही दिनको बसाइँपछि टोली अभ्यस्त भएको भन्दै फाइनल उपाधिका लागि खेल्ने बताए । दुवै टोली उपाधिका लागि प्रतिष्पर्धा गर्दा खेल रोमाञ्चक हुने बताए ।

प्रतियोगितामा भुटान, लाओस र नेपालले प्रतिष्पर्धा गरेका हुन् । एन्फाले फिफा विन्डोको अवसरमा आयोजना गरेको प्रतियोगितामा नेपालले पहिलो खेलमा लाओसलाई २–० ले पराजित गर्दा दोस्रो खेलमा भुटानविरुद्ध १–१ गोलको बराबरी खेलेको थियो । यस्तै लाओसले भुटानविरुद्ध २–१ को नतिजा निकालेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप