पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’ जारी गर्न पत्राचार
सारांश
- सैनिक कल्याणकारी कोषको रकम हिनामिनामा सहायक रथी रोशन खड्कासहित दुई उच्च सैनिक अधिकृत अनुसन्धानका लागि थुनामा।
- २०७४ मा कोषको रकम हिनामिना गरेको आरोपमा कोर्ट अफ इन्क्वाइरी सुरु, प्रारम्भिक छानबिनमा २ करोड २१ लाख बढी घोटाला भएको देखियो।
- अवकाश प्राप्त जमदार आत्मराम थापा पक्राउ परेपछि मिलेमतो खुलेको, फर्जी चेक जारी गरी रकम हिनामिना भएको प्रहरीको निष्कर्ष।
- फरार रहेका पूर्व प्रमुख सेनानी लक्ष्मण अधिकारीविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गर्न सेनाको पत्राचार।
काठमाडौँ । सैनिक कल्याणकारी कोषको रकम हिनामिनामा संलग्न आरोपमा सहायक रथी रोशन खड्कासहित दुईजना उच्च सैनिक अधिकृतलाई सेनाले ‘थुना’मा राखेर अनुसन्धान गरिरहेको छ । सहायक रथी खड्का र मेजर बोधराज कार्कीमाथि सेनाले कोर्ट अफ इन्क्वाइरी सुरु गरेको हो ।
२०७४ मा कोषमा कार्यरत रहँदा त्यहाँको रकम उनीहरूले हिनामिना गरेको आरोप छ । त्यस बेला कोषको २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ घोटाला भएको प्रारम्भिक छानबिनबाट देखिएको छ ।
कार्यरथी विभाग अन्तर्गत समारोह सञ्चालन निर्देशनालयका प्रमुख जर्नेल खड्का र मेजर कार्कीलाई आन्तरिक निगरानीमा राखिएको सैनिक प्रवक्ता (सहायक रथी) गौरव कुमार केसीले रातोपाटीलाई बताए । उनले भने, ‘उहाँहरू सैनिक प्रहरीको निगरानीमा हुनुहुन्छ ।’
सैनिक अधिकृतहरूका अनुसार उनीहरू दुवै जना जङ्गी अड्डाभन्दा बाहिर जान पाउँदैनन् । कोर्ट अफ इन्क्वाइरी टिमको अनुमतिमा मात्र परिवारसँग भेटघाट गर्न पाउँछन् । दुवै जनालाई सैनिक प्रहरी गणमा राखिएको छ ।
अवकाश प्राप्त जमदार आत्मराम थापा पक्राउ परेपछि जर्नेल र मेजरको ‘मिलेमतो’ रहेको खुल्यो । त्यसपछि उनीहरू छानबिनमा तानिएका हुन् ।
कल्याणकारी निर्देशनालय अन्तर्गत आवास तथा बिमा शाखाबाट फर्जी चेक जारी गरेर रकम हिनामिना भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
काभ्रेको पनौती नगरपालिका–१० घर भएका ४५ वर्षीय आत्मरामलाई सेनाले करिब ६ महिनासम्म आन्तरिक अनुसन्धान गरेर प्रहरीको जिम्मा लगाएको थियो । सैनिक प्रवक्ता केसी भन्छन्, ‘सेवा निवृत्त भैसकेको हुनाले थापालाई थप अनुसन्धान अघि बढाउन प्रहरीमा पठाएका हौँ ।’
जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलले थापालाई आपराधिक विश्वासघात गरेको कसुरमा वैशाख २५ मा अभियोग दायर गरेको थियो । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टले वैशाख २८ मा उनलाई पुर्पक्षका लागी थुनामा राख्न आदेश गरे । थापा अहिले कारागारमा छन् ।
कल्याणकारी निर्देशनालय अन्तर्गत आवास तथा बिमा शाखाबाट फर्जी चेक जारी गरेर रकम हिनामिना भएको प्रहरी अनुसन्धानको निष्कर्ष छ । सेनाबाट राजीनामा गएका, उपदान र मृतकका परिवारले पाउने रकम आरोपीहरूले फर्जी नाममा चेक काटेर आफैँले लिएको अनुसन्धानमा संलग्न एक जना प्रहरी अधिकृतले रातोपाटीलाई बताए ।
अवकाश प्राप्त प्रमुख सेनानी लक्ष्मण अधिकारी फरार छन् ।
२०७३ देखि २०७५ सम्म सो शाखामा काम गरेका जमदार आत्मराम थापाले सो रकम आफूले बैंकबाट साटेर ल्याएर तत्कालीन मेजर लक्ष्मण अधिकारी, हाल बहालमा रहेका मेजर बोधराज कार्की र तत्कालीन प्रमुख सेनानी (अहिले सहायक रथी) रोशन खड्कालाई नगदै दिएको बयान दिएका छन् । उनले बयानमा भनेका छन्, ‘चेक तयार गर्ने र साटेर ल्याउने काम गरेबापत मलाई बिदामा सहुलियत, पेट्रोलको कुपन तथा क्यान्टिनमा खाजा खाएको पैसा तिरिदिने गरेका थिए ।’
लेफ्टिनेन्ट कर्णेल (प्रमुख सेनानी)मा अवकाश पाएका लक्ष्मण अधिकारीले मानिसहरूको नाम लिस्ट दिएर सोहीअनुसार चेक तयार गर्न लगाउने गरेको थापाले बयानमा खुलाएका छन् । बयानमा उनले भनेका छन्, ‘चेक सटही गरेर ल्याएपछि सो रकम तत्कालीन सेनानी लक्ष्मण अधिकारी, बोधराज कार्की र तत्कालीन प्रमुख सेनानी रोशन खड्कालाई दिने गरेको थिएँ ।’
अवकाश प्राप्त प्रमुख सेनानी लक्ष्मण अधिकारी फरार छन् । चितवनको रत्ननगर नगरपालिका–१४ घर भएका ४५ वर्षीय अधिकारी अमेरिका पुगेको सैनिक अधिकृतहरू बताउँछन् ।
दुई पटकमा १४४ र ४० थान चेकबाट सो रकम निकालेर हिनामिना गरेको अनुसन्धानबाट थाहा भएको छ । २०७४ कार्तिक १३ देखि २०७५ भदौ २६ सम्ममा १४४ थान चेक सटही गरेको विवरण भेटिएको छ । त्यस्तै, २०७३ फागुन ९ देखी २०७५ असोज १७ सम्मको अवधिमा ४० थान चेकबाट रकम अपचलन गरेको भेटिएको छ । सहायक रथी रोशन खड्का र सेनानी बोधराज कार्की सैनिक ऐनको अधिकार क्षेत्रमा पर्ने भएको हुनाले प्रहरीले उनीहरूमाथि अनुसन्धान गरेन ।
- पूर्व कर्णेलविरुद्ध डिफ्युजन जारी गर्न पत्राचार
रकम घोटालामा संलग्न प्रतिवादी पूर्व प्रमुख सेनानी लक्ष्मण अधिकारी विरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी गर्न सेनाले पत्राचार गरेको छ । अधिकारी विरुद्ध डिफ्युजन जारी गर्न पत्राचार गरिएको सैनिक प्रवक्ता केसीले रातोपाटीलाई बताए । सेनाको पत्रको आधारमा काठमाडौँ प्रहरीले डिफ्युजन जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण