सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

निजी क्षेत्रले दिएका सुझाव कार्यान्वयन नहुँदा अर्थतन्त्रमा विकराल आयो : वरिष्ठ उपाध्यक्ष ढकाल

शुक्रबार, १७ चैत २०७९, १४ : ४७
शुक्रबार, १७ चैत २०७९

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले निजी क्षेत्रले दिएका सुझाव कार्यान्वयन नगर्दा अर्थतन्त्रमा विकराल अवस्था आएको बताएका हुन् ।

शुक्रबार काठमाडौँमा भएको २४ औं फ्लोरा एक्स्पो कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोरोना महामारी कम भएसँगै निजी क्षेत्रले दिएका सुझावलाई सरकारले समयमा कार्यान्वयनमा ल्याउन नसक्नु वर्तमान समस्याको कारक भएको दाबी गरेका हुन् । 

उनले मुलुकको अर्थतन्त्रमा वर्तमान अवस्था आउँछ भनेर पहिला नै सरकारको ध्यानाकर्षण गराएको बताए । उनले सरकारले निजी क्षेत्रले दिएका सुझावलाई सरकारले प्राथमिकता नदिएको आरोप लगाए । ढकालले सरकारले करिब ६ महिना आयातमा प्रतिबन्ध लगाएपनि नाकामा कडाइ नहुँदा सवारी साधनमा आउने भन्दा बाहेक अन्य समानमा रोक नभएको बताए । उनले त्यसरी नाकाबाट आउने सामान नियन्त्रण गर्न नसक्दा सरकारले अर्बौं राजश्व गुमाएको बताए ।   उनले सरकारले प्राप्त राजश्व संकलन गर्न नसक्दा कर्मचारीलाई तलब समेत खुवाउन नसक्ने अवस्था सिर्जना भएको बताए । उनले सरकारले निजी क्षेत्रले उठाएका मागलाई निजी क्षेत्रको मात्र हो भनेर बुझ्न नहुने बताए । उनले निजी क्षेत्रले उठाएका विषयलाई सरकारले गम्भीर रूपमा लिएर नीति नियम बनाउन सके अर्थतन्त्र सुधार हुन समय नलाग्ने बताए ।  

त्यस्तै, फ्लोरिकलचर एशोसिएशन नेपालका अध्यक्ष मीनबहादुर तामाङले बैंक तथा वित्तीय संस्थाहरुले गर्ने लगानीमा कृषि क्षेत्रलाई प्राथमिकतामा नराखेको बताए । उनले बैंकहरुले कृषि क्षेत्रलाई अन्य क्षेत्रसँग हालेर कर्जा प्रवाह गरिरहेको भन्दै वास्तविक कृषकहरुले कर्जा पाउन नसकेको बताए । उनले सरकारले अन्य बैंकसँग नभएपनि कृषि विकास बैंकसँग समन्वय गरेर कृषि क्षेत्रमा प्रवाह हुने कर्जाको समय अवधि बढाउन माग गरे । 

उनले फ्लोरिकलचर क्षेत्रमा लगानी गर्दा लगानीको ८० प्रतिशत लगानी भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्नुपर्ने भन्दै २० प्रतिशत कृषिमा लगानी गरेर ५ वर्षका कर्जा चुक्दा गर्नसक्ने अवस्था नभएको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप