बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
डेंगु

फेरि फैलिँदैछ डेंगु : माघदेखि चैत्र १५ गतेसम्म ३ सय जनामा पुष्टि

सोमबार, २० चैत २०७९, ०६ : ५४
सोमबार, २० चैत २०७९

काठमाडौँ । गर्मी सुरु भएसँगै डेंगुको केश पुनः देखिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यस वर्ष नेपालमा डेंगुको प्रकोप फैलिएपछि हालसम्म डेंगुको केश शून्य भएको छैन । 

सामान्यतया डेंगुको सङ्क्रमण दर जेठ महिनाबाट बढ्ने गर्छ । तर माघदेखि चैत्र १५ गतेसम्म ३ सय जनामा डेंगु पुष्टि भएको रोग नियन्त्रण महाशाखाअन्तर्गत कीटजन्य शाखाका प्रमुख डा.गोकर्ण दाहाल बताउँछन् । 

साढे दुई महिनाको अवधिमा ४५ जिल्लाको ११५ वटा पलिकामा डेंगुको केश देखिएको छ । जसमध्ये काठमाडौँ उपत्यकामा ५० जनामा सङ्क्रमित पुष्टि भएको छ । 

डेंगुसँग जुध्ने तयारी 

गर्मी मौसम सुरु भएसँगै डेंगुका केश बढ्न सक्ने भएकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ । शाखा प्रमुख दाहालका अनुसार डेंगुका केश बढ्न सक्ने सम्भावना कायमै रहेकाले प्रदेशका स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताललगायत सबै स्वास्थ्य संस्थालाई डेंगु फैलिन नदिन सावधानी अपनाउन निर्देशन दिइसकिएको छ । 

काठमाडौँ उपत्यकालगायत देशको जहाँ डेंगुको केश देखिएको छ, त्यहाँ ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान चलाउन स्थानीय तहलाई निर्देशन दिइएको उनले बताए । 

डेंगु सङ्क्रमण हुँदा शरीरमा विभिन्न किसिम लक्षण देखापर्ने गर्छ । जस्तै अधिक ज्वरो आउने, टाउको, आँखा, मांसपेशी र जोर्नीलगायत पुरै शरीर दुख्ने, छालामा रातो दाग आउने, बान्ता हुने लगायतका लक्षणहरू लगातार ४ देखि ६ दिनसम्म देखिन सक्छ । यस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्था जानुपर्छ ।

नेपालमा दुई दशकदेखि डेंगु सङ्क्रमण

नेपालमा डेंगु देखिन थालेको १९ वर्ष भयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाअनुसार यस बीचमा सबैभन्दा बढी २०७९ सालमा मृत्यु तथा सङ्क्रमित भएको छ । यस वर्ष साउन, भदौ, असोज, कार्तिक मङ्सिर सम्ममा ७७ वटै जिल्लामा डेंगु फैलिएको थियो । जसमा ५० जनाको ज्यान गएको थियो भने ४० हजार भन्दा धेरै जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । 

कीटजन्य शाखाका अनुसार सन् २००४ मा पहिलो पटक एक जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो । सन् २००५ मा भने सङ्क्रमण देखिएन । त्यसपछि क्रमशः २००६ देखि २००९ सम्म वर्षेनी सरदर १० देखि ३२ जना सङ्क्रमित भए । 

सन् २०१० मा सङ्क्रमण दर ह्वात्तै बढेर ९१७ जना सङ्क्रमित भएका थिए । त्यसको ९ वर्षको अवधिमा सङ्क्रमण दर निरन्तर देखिए पनि सन् २०१९ मा डेंगु प्रकोपको रूपमा फैलिएको थियो । त्यस वर्ष १७ हजार ९९२ जना सङ्क्रमित भएका थिए । 

डेंगुबाट जोगिन यसो गरौँ 

–पुरा बाहुला भएको लुगा लगाउने ।

–झुलभित्र मात्र सुत्ने ।

–घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।

–घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने ।

–खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने ।

–गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने ।

–साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप