सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय
कर्णाली प्रदेश

सरकार विस्तारमा मुख्यमन्त्री अनिर्णयको बन्दी

सोमबार, २० चैत २०७९, १३ : ३५
सोमबार, २० चैत २०७९

सुर्खेत । शुक्रबार कर्णाली प्रदेश सभाको नवौँ बैठकमा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसले समेत मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको छ । यद्यपि काँग्रेसले एमाले सत्तामा रहेसम्म आफू नै प्रतिपक्षको भूमिकामा रहने बताइरहेको छ । 

मुख्यमन्त्री शर्माले राप्रपाबाहेक सबै दलको भोट प्राप्त गरेका थिए । अब सत्तामा काँग्रेस कहिले जाने, एमाले कहिले बाहिरिने भन्ने कुरा नै मुद्दा बनेको छ । १० पुसको सहमतिअनुसार एमालेले अहिलेसम्म तीन वटा मन्त्रालयको जिम्मेवारीसहित सरकारमै छ । यसो हुनुका पछाडि सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले प्रष्ट निर्णय नगर्नु नै हो ।

माओवादी केन्द्रले एमालेसँग सहकार्य गरेर अघि बढ्न नसकिने बताइरहेपनि मुख्यमन्त्री शर्माले एमालेका मन्त्रीहरूलाई सरकार छाड्न निर्देशन दिन सकेका छैनन् ।

शुक्रबार विश्वासको मत लिनुभन्दा अगाडि बसेको माओवादी संसदीय दलको बैठकमा एमालेसँग विश्वासको मत माग्ने तर सहकार्य गरेर अगाडि बढ्न नसकिने कुरा भएको थियो । तर व्यवहारतः दलका नेता स्वयम् मुख्यमन्त्री शर्मा रहेकाले सरकारलाई निकास दिनुपर्ने जिम्मेवारी उनमा निर्भर रहन्छ । 

माओवादीका कतिपय सांसद र मन्त्रीले तीन दलको सहकार्य गरेर कर्णालीको विकास र परिवर्तनमा जुट्नुपर्ने बताइरहेका छन् । यो कुरामा एमाले लचक देखिए पनि काँग्रेसले भने मानिरहेको छैन । एमालेका आर्थिक मामिला तथा योजना मन्त्री विनोदकुमार शाहले अझै पनि मुख्यमन्त्री शर्मासँग सौहार्दपूर्ण वातावरण रहेको र शर्माले तीनवटै दल मिलेर अघि बढ्नुपर्ने आश्वासन दिइरहेको बताएका छन् । 

मन्त्री शाहले एमाले–माओवादीबीच अहिलेसम्म सरकार छाड्ने विषयमा कुनै कुरा नभएको बताए । बरु तीन वटै दल एक ठाउँमा उभिएर प्रदेशको परिवर्तनका पक्षमा उभिनुपर्ने कुरा मुख्यमन्त्रीले भनेको उनको भनाइ छ । मुख्यमन्त्री शर्माले शुक्रबारको बैठकमा समेत यही कुरा बताएका थिए । शाह भन्छन्,‘मुख्यमन्त्रीले सरकार छाड् भने हामी छादिउँला तर उहाँले त्यस्तो भन्नु भएको छैन ।’

एमाले–काँग्रेस माओवादीमा निर्भर 

सरकारको विषयमा एमाले र काँग्रेस दुवै दल माओवादीमा निर्भर छन् । तर मुख्यमन्त्री शर्माले अहिलेसम्म प्रष्ट निर्णय गर्न सकिरहेका छैनन् । माओवादीकै सांसदहरू सरकारको विषय चाँडो टुङ्गोमा पुर्‍याएर निकास दिनुपर्ने बताउँछन् । 

‘चाँडो निर्णय गरेर सरकारलाई निकास दिँदा उपर्युक्त हुन्थ्यो, यतिका समय सरकार बनाउन नै समय बिताउने हो भने ‘कर्णाली समृद्ध’ कसरी बन्छ ?’ माओवादीका एक सांसदले भने, ‘केन्द्रीय समीकरणअनुसार अघि बढ्ने भए एमालेलाई सरकार छाड्न भन्नु प¥यो, कायम राखिरहने हो भने काँग्रेसलाई त्यो अनुसार प्रष्ट पार्नुपर्‍यो ।’ उनले अल्झाइरहने अनि सरकारको कामकारबाहीमा प्रभाव परिरहने राम्रो नभएको बताए ।

उता माओवादी प्रदेश इञ्चार्ज कालीबहादुर मल्लले एमालेसँग सहकार्य गरेर अघि बढ्न नसकिने बताइसकेका छन् । मल्ल भन्छन्,‘शुक्रबार संसद्को बैठक सुरु हुनु पूर्व नै एमालेको दलका नेतालाई मैले फोन गरेर पछिल्लो अवस्था फरक खालबाट अघि बढेकाले सहकार्य गरेर जाने बाटो बदलिएको छ भनेको हुँ । बाँकी सरकारभित्रको कुरामा मुख्यमन्त्रीले चाँडो निर्णय लिनुपर्छ ।’

उता मुख्यमन्त्री भने अझै अनिर्णयको बन्दी जस्तै बनिरहेका छन् । काँग्रेसका एक सांसद भन्छन्,‘एमालेका मन्त्रीले राजीनामा दिन्नन्, अनि माओवादी नेतृत्व हैसियत राखेर बर्खास्त गर्दैन । काँग्रेस जबरजस्ती सत्तामा जानुभएन ।’ 

एमाले सकेसम्म सरकार बाहिरिन चाहिरहेको छैन । मुख्यमन्त्री शर्मा निकट स्रोतका अनुसार आन्तरिक रूपमा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिने प्रयास भइरहेको छ । 

उता काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही सत्तामा जाने–नजाने कुरा माओवादीमा नै निर्भर रहने बताउँछन् । माओवादीले भनेजस्तो तीन दलीय सहकार्यमा सत्ता सञ्चालन गर्न नसकिने शाहीले प्रष्ट पारे । उनले आफू सरकारको नेतृत्व दाबी गरिरहेको र त्यो अडानबाट पछि नहटेको बताए । 

शाहीले भने,‘मेरो र मुख्यमन्त्रीज्यूको कुरा भयो, उहाँले एमालेसँग कुराकानी गरिरहेको छु भन्नुभयो । विश्वासको मत दिएकाले एकैचोटी तिमीहरू हट भन्न गाह्रो भएको होला । ‘डिप्लोम्याटिक’ ढंगले कुरा गरिरहनुभएको जस्तो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप