शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

शंखरापुर नगरपालिकामा खुला व्यायामशालाको उद्घाटन, प्रत्येक वडामा विस्तार गरिने

सोमबार, २० चैत २०७९, २० : ५३
सोमबार, २० चैत २०७९

काठमाडौँ । काठमाडौँको शंखरापुर नगरपालिकामा खुला व्यायामशालाको सुरुवात भएको छ । सोमबार साँखु बजारमा रहेको वडा नम्बर ६ को इपाटोलमा स्थापित खुला व्यायामशालाको नगरप्रमुख रमेश नापितले उद्घाटन गरेका हुन् । 

उद्घाटनका क्रममा उनले नगरपालिकाका अन्य वडाहरुमा क्रमशः खुला व्यायामशाला स्थापना गर्दै जाने प्रतिबद्धता जनाए । उनले नगरवासीलाई शिक्षा, स्वास्थ्य लगायतका विभिन्न पक्षमा विकासका कामलाई क्रमशः अगाडि बढाउँदै लैजाने उल्लेख गरे । 

शंखरापुरका वडा नम्बर ५, ६, ७ र ८ लाई पायक पर्नेगरी इपाटोलमा व्यायाम गर्नका लागि फिटनेश पार्क बनाइएको वडा नम्बर ६ का अध्यक्ष एवं नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठले जानकारी दिए । 

सो फिटनेश पार्कका बिहानको समयमा व्यायाम गर्न चाहने स्थानीयवासी, युवा तथा बालबालिका लाभान्वित हुने उनको भनाई छ । 

नगरपालिकाको ९ लाख ९० हजार रुपैयाँको बजेटमा सो फिटनेश पार्क स्थापना गरिएको हो । पार्कमा ११ प्रकारका शारीरिक कसरत गर्ने सामग्रीहरू राखिएका छन् । सो पार्कमा अरू सामानहरु पनि थप्ने योजना रहेको प्रवक्ता श्रेष्ठले बताए । 

बालबालिकालाई मोबाइलबाट मुक्त गर्न, युवा पुस्ताहरुलाई व्यस्त राख्नका लागि सो खुला व्यायामशाला उपयोगी हुने उनको भनाई छ । 

वडा नम्बर ६ को टोल सुधार समिति, युवा तथा खेलकुद समिति लगायतले सो व्यायामशाला  स्थापना गर्न सक्रियता जनाएका थिए ।   

नगरपालिकाले क्रमशः अन्य वडाहरुमा पनि क्रमशः खुला व्यायामशाला स्थापना गर्दै जाने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप