बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

करको दायरा बढाउन नागरिकतासँगै प्यानकार्ड दिन चेम्बरको प्रस्ताव

मङ्गलबार, २१ चैत २०७९, १८ : ००
मङ्गलबार, २१ चैत २०७९

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महत समक्ष करको दायरा बढाएर राजश्व संकलनको लक्ष्य पुरा गर्नुपर्ने धारणा व्यक्त गरेको छ । अध्यक्ष राजेन्द्र मल्ल सहितको प्रतिनिधिमण्डलले सिंहदरबारस्थित अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. महतसँग बधाई भेटवार्ता गरेको हो ।

चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘करको दर वृद्धि गर्नु भन्दा करको दायरा बढाइनुपर्दछ । यसका लागि नागरिकतासँगै प्यान कार्डको पनि व्यवस्था गरिनुपर्दछ ।’ चेम्बर अध्यक्ष राजेन्द्र मल्लले सीमामा हुने अवैध व्यापारलाई पनि निरुत्साहित गरी करको दायरामा ल्याउनुपर्नेमा जोड दिए । बिल लिने/दिने व्यवस्थालाई पनि अनिवार्य रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने अध्यक्ष मल्लले जोड दिए ।

चेम्बर पदाधिकारीसमक्ष अर्थमन्त्री डा. महतले अर्थतन्त्रको पछिल्लो अवस्थालाई गम्भीरताका साथ लिएको बताए । बजेट र मौद्रिक नीतिको सफल कार्यान्वयनका लागि समन्वय भइरहेको अर्थमन्त्री महतको भनाई छ ।

उनले भने, ‘अर्थतन्त्र चलायमान हुन सकेको छैन, यस विषयमा मैले गभर्नर महाप्रसाद अधिकारी लगायत सरोकारवाला निकायका सचिवहरूसँग पनि छलफल गरिरहेको छु, ।’ लक्ष्य अनुसार कर उठ्न नसकेको विषयमा भन्सारका अधिकारीहरुसँग आफूले जानकारी लिइरहेको डा महतको भनाई छ । आगामी आर्थिक वर्षबाट  अर्थतन्त्रले लय समाउने उनले बताए । 

नवनियुक्त अर्थमन्त्री डा. महतसमक्ष चेम्बरले समसामयिक आर्थिक विषयमा विभिन्न १७ बुँदामा सुझाव समेत दिएको छ । अर्थमन्त्रीलाई सुझाव दिने क्रममा चेम्बर अध्यक्ष मल्लले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि छिटोभन्दा छिटो एकल ब्याजदर कायम गर्न समेत आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप