शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो सरकार दौडिन छाडेर तुना बाँधेर बस्यो : गगन थापा

बुधबार, २२ चैत २०७९, १४ : ५३
बुधबार, २२ चैत २०७९

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सरकारले गति लिन नसकेको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित कांग्रेस निकट नेपाल वित्तीय संस्था कर्मचारी संघको नवौं राष्ट्रिय महाधिवेशनमा महामन्त्री थापाले सरकारले दौडिन सुरु गरिनसकेको बताए ।

‘हाम्रो सरकारसँग दौडिएर पुग्ने सुविधा मात्र छ । तर हाम्रो सरकारले दौडिन सुरु नै गरेन । अझै पनि कहिले तुना बाँधेर बस्छ, कहिले कुर्सी खोज्छ,’ उनले भने, ‘नागरिकमा भरोसा जगाउन सरकारले दौडिन सुरु गरेर गति पनि छ, लय पनि छ, संकल्प पनि छ र काम पनि सुरु गर्‍यो भन्ने महसुस गराउन सक्नुपर्छ।’

यसका लागि सजिलोसँग गर्न सकिने काम समेत सुरु नभएको महामन्त्री थापाको गुनासो छ । राष्ट्रपति, प्रधानमन्त्रीले अत्यावश्यकबाहेक खर्च कटौती सुरु गर्नुपर्ने उनको सुझाव छ । 

‘प्रधानमन्त्रीले भन्न सक्नुपर्छ, राष्ट्रपतिले भन्न सक्नुपर्छ, सचिवालयमा १२–१५ जना सल्लाहकार राख्ने सुविधा दिएको छ, म ३ जना वा ५ जना राख्छु’, महामन्त्री थापाले भने, ‘अत्यावश्यक बाहेक खर्च कटौती गर्दैछौं ।’

नेपालको आर्थिक स्थिति बिग्रँनुमा सबै जिम्मेवार रहेको र सबै मिलेर हल खोज्नुपर्ने उनले बताए। ‘प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग पनि संवाद गरेर जानुपर्छ। प्रदेश र स्थानीय सरकारमा एमाले पनि छ,’ उनले भने, ‘सबै मिलेर काम गर्नुपर्नेछ। सरकार र राष्ट्र बैंकको सम्बन्ध पनि एकअर्काको परिपुरकजस्तो हुनुपर्छ।’

विकास खर्च पहिलाभन्दा सुधार गर्छौं भनेर गयो भने थोरै भएपनि सुधार आउने उनको विश्वास छ । सरकारले निर्माणको क्षेत्रमा तिर्न बाँकी  ६० देखि ८० अर्ब रुपैयाँ मात्र दिने हो भने पनि बजार चलायमान हुने उनले बताए । 

प्रधानमन्त्री र मन्त्रीहरुमा युद्ध लड्दाको जस्तो मानसिकता हुनुपर्ने भएपनि त्यो नपाएको महामन्त्री थापाले बताए । ‘मलाई त आजभोलि प्रधानमन्त्री र मन्त्रीहरुको समाचार आयो भने रिस उठ्छ त भन्दिन, नरमाइलो लाग्छ । फुर्सद कसरी पाउनुभयो भन्ने लाग्छ’, थापाले भने ।

प्रधानमन्त्री र मन्त्रीहरुले युद्धको बेला झैँ काम गर्दा एउटा माहौल सिर्जना गर्न सकिने उनले बताए ।  'युद्धको बेला जहाँ जे देखिन्छ त्यही खाइन्छ, जहाँ बस्न मिल्छ बसिन्छ। जहाँ काम गर्न मिल्छ गरिन्छ नि, त्यसरी काम गर्ने बेला हो यो। त्यसरी जुट्ने बेला हो,’ महामन्त्री थापाले भने, ‘सरकारका मानिस त्यसरी काम गरिरहेको छ, जुटिरहेको छ भन्यो भने त्यसले एउटा माहौल ल्याउँछ। अनि त्यो माहौलले सबैलाई मैले पनि त्यो ढंगबाट काम गर्नुपर्छ र सोच्नुपर्छ भन्ने लाग्छ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप