मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

ब्याटल ग्राउण्ड चितवन–२ : मुख्य दलले कसरी अघि बढाउँदैछन् चुनावी अभियान ?

बिहीबार, २३ चैत २०७९, २० : ००
बिहीबार, २३ चैत २०७९

चितवन । चितवन क्षेत्र नम्बर–२ मा आगामी वैशाख १० गते हुने उपनिर्वाचनलाई केन्द्रित गर्दै मुख्य दलहरु आफ्ना चुनावी अभियानमा सक्रिया हुन थालेका छन् । उम्मेदवारी दर्ता लगत्तै उक्त क्षेत्रमा नतिजा आफ्नो पक्षमा ल्याउन नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतले चुनाव लक्षित कार्यक्रमहरुलाई तीब्रता दिएका हुन् ।

गत मंगलबारदेखि नै दलहरु चुनावी रणनीति बनाउन जिल्ला तथा वडा कमिटीहरुको बैठक र छलफलमा जुटेका छन् । नेपाली कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मा लगायत केन्द्रीय नेतृत्वको उपस्थितिमा बैठक तथा छलफललाई अघि बढाएको छ । 

यस्तै एमालेले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटालाई चुनावी कमाण्डरको रुपमा चितवनमै केन्द्रित गरेको छ । रास्वपाका सभापति रवि लामिछाने आफै उम्मेदवार रहेर चितवनमा चुनावी गतिविधि अघि बढाइरहेका छन् भने उनको चुनावी संयोजकको रुपमा उपसभापति डीपी अर्याल खटिएका छन् ।

कांग्रेसले अर्का महामन्त्री गगन कुमार थापालाई पनि चुनावी अभियानमा चितवन ल्याएर आम नागरिकहरुसँग साक्षात्कार गराउने भएको छ । कांग्रेसले चुनावी अभियानमा शीर्ष नेताहरुलाई सहभागी गराउने रणनीति बनाएको छ भने एमालेले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी, पोलिटव्युरो सदस्य देवी ज्ञवाली, नेता कृष्णभक्त पोखरेल लगायतलाई मैदानमा खटाएको छ । 

रास्वपाले भने आफ्ना चर्चित सांसद र नेताहरुलाई चितवन उतार्ने र आम नागरिकको सहानुभूति मत कलेक्सन गर्ने योजना बनाएको छ ।

neupane chitwaln

निर्वाचनलाई मध्यनजर गर्दै ती दलहरुले निर्वाचन परिचालन कमिटीसमेत निर्माण गरिसकेका छन् । कांग्रेसले महामन्त्री शर्मालाई, एमालेले पोलिटव्युरो सदस्य देवी ज्ञवाली र रास्वपाले उपसभापति डीपी अर्याललाई संयोजक बनाएको छ ।

नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार निर्वाचनका लागि पार्टीले आन्तरिक तयारीलाई तीब्र बनाएको छ । कांग्रेसले निर्वाचन परिचालनको लागि सम्पर्क कार्यालय स्थापना तथा पार्टीका नेता र कार्यकर्ता भेटघाटलाई तीब्रता दिएको उनले बताए ।

‘चुनाव चिह्न लिएपछि थप अभियानहरु संचालन हुनेछ । निर्वाचनलाई लक्षित गरेर भरतपुर–११ मा क्षेत्रीय प्रचार कार्यालय पनि स्थापना गरिसकेका छौं,’ उनले भने, ‘फागुन २७ गते नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाको उपस्थितिमा उक्त प्रचार कार्यालय उद्घाटन गर्ने कार्यक्रम छ ।’

कांग्रेसप्रति युवाहरुको आकर्षण बढ्दो रहेको दाबी गर्दै उनले सकारात्मक नतिजा दिने विश्वास व्यक्त गरे ।


‘उम्मेदवार स्वयं आम मतदातासँग जोडिएर अघि बढिरहनु भएको छ । पार्टीले निर्वाचनको लागि आफ्नो विचार र दृष्टिकोण दिइसकेको छ । निर्वाचन क्षेत्रको भौतिक तथा आर्थिक विकासका एजेण्डा निर्माणमा उम्मेदवार स्वयं सक्रिय रहनु भएको छ,’ उनले भने । कांग्रेसका उम्मेदवारले यो निर्वाचनलाई परिणाममुखी बनाएर ४ वर्षका लागि आम नागरिकहरुसँग गरेका प्रतिवद्धता पूरा गर्न सफल हुने उनले प्रस्ट पारे ।

उनले भने, ‘निर्वाचनपछि कांग्रेसले चितवन–२ को आर्थिक पूर्वाधारको खाका निर्माण गर्न सक्छ भन्ने विश्वास छ ।’

कांग्रेसले वडा तहसम्मको कमिटीहरुलाई निर्वाचनमा परिचालन गर्ने र गठबन्धनमा रहेका दलहरुको तल्लो तहको कमिटीलाई पनि सहभागी गराएर अघि बढ्ने योजना निर्माण गरेको सभापति खनालले बताए ।

गठबन्धन दलहरुलाई एकै स्थानमा जोड्न सबै दलको तल्लो तहलाई पनि परिचालन गर्ने तयारी अनुरुप दलहरुको तल्लो तहको निकायहरुमा ५ जनाको संयन्त्र निर्माण गरिएको उनको भनाइ छ । उक्त ५ जना संलग्न भएको संयन्त्रले निर्वाचनको घरदैलो अभियान संचालन गर्ने उनले बताए ।

कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संगठनहरुलाई वृहत् मात्रामा प्रयोग गरी निर्वाचनमा खटाइने उनले बताए ।

labi lamichhane

आम नागरिकलाई अहिलको परिस्थिति र उपनिर्वाचन गर्नुपरेको कारणबारे कांग्रेसले सुसूचित गराएर आफ्ना निर्वाचन लक्षित कार्यक्रम अघि बढाउने उनले बताए । उनले भने, ‘जसको कारणबाट यो निर्वाचन हुँदैछ, त्यसलाई मध्यनजर गर्दै कांग्रेसले संस्थागत निर्णय नै गरेको छ कि लोकतन्त्रमा विश्वास गर्ने र लोकतन्त्रवादी मानिसले विगतको निर्वाचन जितेको हो भने त्यो पार्टी र त्यसका उम्मेवारले सबै जिम्मेवारी लिनु पर्छ ।’ निर्वाचनको आर्थिक पाटो पनि राज्यलाई सोही पार्टीले भरपाई गर्नुपर्ने जिकिर गर्दै उनले कुनै एउटा दल र उम्मेवारको व्यक्तिगत हेलचेक्य्राइँले गर्दा उपनिर्वाचनको परिस्थिति बनेको दाबी गरे ।

गत निर्वाचनमा उनीहरुले नै कांग्रेसलाई ‘नो नट अगेन’ भनेको स्मरण गराउँदै उनले अहिले कांग्रेसले चितवन–२ का आम नागरिकलाई ‘नो मिस्टेक अगेन’ भनिरहेको बताए ।

सभापति खनालका अनुसार कांग्रेसभित्रको अन्तरविरोधहरुलाई समाधान गरेर आगामी निर्वाचनमा एकमत भइ अघि बढ्ने रणनीति निर्माण गरिएको छ ।

कांग्रेसले विगतमा देखिएका समस्या समाधान गरिसकेको उनको भनाइ छ । ‘कांग्रेस चितवनको पूर्वसभापति विकास कोइरालाको कारवाही फुकुवा भइसकेको छ । दिनेश कोइराला लगायतको कारवाही फुकुवाको चरणमा छ,’ उनले भने, ‘चितवन कांग्रेस आगामी निर्वाचनमा एक मन एक ढिक्का भएर अघि बढेको छ ।’

रास्वपाका उपसभापति एवम् निर्वाचन परिचालन कमिटीका संयोजक डीपी अर्यालले पार्टीसँगको समन्वयमा निर्वाचनका कार्यक्रमहरु क्रमशः अघि बढाउने बताए । तत्काल निर्वाचन केन्द्रित भएर जिल्ला र वडास्तरमा पार्टीका नेता तथा कार्यकर्ता भेटघाटको कार्यक्रम सञ्चालन भइरहेको उनले बताए ।

‘निर्वाचनका लागि केन्द्रबाटै केन्द्रीय निर्वाचन परिचालन समिति निर्माण भएको छ । चितवन–२ को निर्वाचन परिचालनको संयोजन मैले गरेको छु । उक्त कमिटीले पार्टीमा समन्वय गरेर अघि बढिरहेको छ,’ उनले भने ।

रास्वपाले स्थानीय पार्टी कमिटी र नेताहरुसँगको भेटघाट र छलफल गरिरहेको जानकारी दिँदै उनले अहिले घरदैलोभन्दा पनि स्थानीय नागरिक, शुभचिन्तकहरुसँग छलफल र भेटघाटको कार्यक्रम संचालन गरिरहेको बताए ।

‘उम्मेदवारको टोलीसहित निर्वाचनको अवस्थाहरुको अध्ययन र निर्वाचन रणनीति निर्माणमा सक्रिय छौं,’ उनले भने, ‘चुनाव चिह्न लिएपछि आचारसंहिताभित्र रहेर प्रचारप्रसार र घरदैलो कार्यक्रम गर्ने पार्टीको रणनीति छ ।’

निर्वाचनका लागि बुथमा बस्ने प्रतिनिधिहरु छनोटको काम पनि भइरहेको र आगामी २६ वा २७ गते प्रशिक्षणको कार्यक्रम गर्ने तयारी भएको उनको भनाइ छ ।

‘निर्वाचन क्षेत्रको सबै पालिकाको वडास्तरमा संगठनहरु निर्माण लगायतको काम भइरहेको छ,’ उनले भने, ‘पार्टीले २६ वा २७ गते सो निर्वाचन क्षेत्रको ३ वटै पालिकामा पार्टी सदस्यहरुसँग छलफल र निर्वाचन परिचालनका लागि प्रशिक्षणको कार्यक्रम हुन्छ । हामी सभ्य रुपमा विगतको निर्वाचनमा जस्तै चुनावी सभा, कोणसभा, घरदैलो कार्यक्रम गर्नेछौं ।’

परिस्थिति फरक बन्दा रवि लामिछानेलाई अन्याय भएकै हो भन्ने बुझाई आम नागरिकको रहेको आफूले महसुस गरेको उनको भनाइ छ । उनले भने, ‘निर्वाचनको परिणाम पहिलेभन्दा पनि राम्रो आउने अवस्था बनेको छ ।’

एमाले पोलिटव्यूरो सदस्य एवम् निर्वाचन परिचालन कमिटीका संयोजक देवी ज्ञवालीका अनुसार हाल एमाले कार्यकर्ता भेटघाट र प्रशिक्षणमा जुटेका छन् । निर्वाचन परिचालन अन्तर्गत विभिन्न योजना निर्माणमा एमाले तीब्र रुपमा अघि बढेको उनले बताए ।

jitnarayan shreshta

‘एमाले अहिले निर्वाचनको परिचालनको काममा केन्द्रित छ । कार्यकर्ताहरुको भेटघाटलाई तीब्रता दिइएको छ । निर्वाचन कार्यतालिका अनुसार तोकिएको समय अवधिमा हामी घरदैलो कार्यक्रम संचालन गर्छौं,’ उनले भने, ‘अहिले कार्यकर्ताहरुको भेला, प्रशिक्षण, निर्वाचनको विषयमा छलफल तथा समस्याहरुको व्यवस्थापनको काममा लागेका छौं ।’

पार्टीको जिल्लादेखि टोल कमिटीसम्म निर्वाचन परिचालन कमिटी बनाएर अघि बढ्ने उनको भनाइ छ । ‘पार्टीले जिम्मेवारी तोके बमोजिम उहाँहरुको उपस्थिति, क्रियाशीलतामा सक्रिय ढंगबाट अघि बढिरहेका छौं,’ उनले भने, ‘पार्टी संगठनलाई सही ढंगबाट प्रयोग गर्न रणनीति निर्माण गर्दै जिम्मेवारी तोक्ने लगायतका काम भइरहेको छ ।’

चितवनमा को–को छन् उम्मेदवार ?
चितवन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट जीत नारायण श्रेष्ठ उम्मेदवार छन् । यस्तै नेकपा एमालेबाट राम प्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने छन् । 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जीव लाल पुरी, राष्ट्रिय जनमोर्चाबाट जनक राज शर्मा,नेपाल मजदुर किसान पार्टीबाट ज्ञानेन्द्र प्रजा, राष्ट्रिय जनमुक्ति पार्टीबाट महानन्द जैशी, मंगोल नेशनल अर्गनाइजेसनबाट टेक बहादुर तामाङ उम्मेदवार रहेका छन् ।  यसैगरी राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट छत्र कुमार पाख्रिन, राष्ट्रिय नागरिक पार्टीबाट योग लाल श्रेष्‍ठ, नागरिक उन्मुक्ति पार्टीबाट राजेश अधिकारी, जय जन्मभूमि पार्टी नेपालबाट प्रेम बहादुर खड्का उम्मेदवार रहेका छन् । कुल २४ उम्मेदवारमध्ये १२ जना भने स्वतन्त्रबाट उम्मेदवार रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप