मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

रातोपाटी ब्रिफिङ : चितवनमा रविको उम्मेदवारी कायम, बारामा जातीयता फ्याक्टर

बुधबार, २२ चैत २०७९

आज २०७९ चैत २२ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौं–

रवि लामिछानेविरुद्धको रिटमा कारण देखाऊ आदेश

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पासपोर्टको विषयमा परेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । रिटमाथि सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँलको एकल इजलासमा बुधवार सुनुवाइ सकिएपछि विपक्षीका नाममा यस्तो आदेश जारी भएको हो । लामिछानेविरुद्ध रिट निवेदन लिएर युवराज पौडेल ‘सफल’ आइतबार सर्वोच्च अदालत पुगेका थिए । मुख्य रजिस्ट्रारले रिट अध्ययन गरेपछि सोमबार दर्ता भएको थियो ।

पूर्वमन्त्री खानद्वारा साइबर ब्युरोमा उजुरी

आफ्नो अश्लील भिडियो बनाएर ब्ल्याकमेल गरेको भन्दै जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा पूर्वमन्त्री अब्दुल खानले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन् । भारतीय गिरोहको सेक्स ट्रयापमा परेका खानको भिडियो यतिबेला सामाजिक सञ्जालको प्राइभेट ग्रुपमा भाइरल भएको छ । 

रवि लामिछानेको उम्मेदवारी कायम

चितवन क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधिसभाको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको उम्मेदवारी कायम भएको छ । लामिछानेको उम्मेदवारीविरुद्ध परेका ४ वटा उजुरीमध्ये ३ वटा उजुरीमाथिको दाबी नपुगेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले खारेज गरेको हो ।

भीम रावलप्रति एमाले नीति

वैशाख १० मा हुने उपनिर्वाचनका लागि उम्मेदवार छान्न बसेको एमाले सचिवालय बैठकले पूर्वउपाध्यक्ष समेत रहेका नेता भीम रावलसँग छलफल गर्न तीन सदस्यीय वार्ता समिति बनाएपछि एमालेकै कतिपय नेता कार्यकर्ताले ‘आफ्नै पार्टीका नेतासँग वार्ता गर्न समिति बनाउनुपर्ने कस्तो अवस्था आयो ?’ भनेर टिप्पणीसमेत गरे ।

पार्टी कार्यालय बन्यो सुनसान

सरकारको नेतृत्व गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंहदवार छिरेका छन् । पार्टीकै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ उपप्रधानसहित गृह मन्त्रालयको जिम्मेवारीमा छन् । पार्टीका दुई शीर्ष नेता सरकारमा रहेका कारण यतिबेला पार्टी कार्यालयमा चहलपहल घटेको देखिन्छ ।

माओवादीको दोहोरो चरित्र

तत्कालीन प्रदेश १ को नाम कोशी राख्न सहमत हुँदै कोशीको पक्षमै मतदान गरेको नेकपा (माओवादी केन्द्र) यतिबेला भने त्यही नाम खारेज गर्नुपर्ने आन्दोलनमा समाहित भएको छ । माओवादी निकटका धेरै मानिस उक्त आन्दोलनमा सहयोग गर्ने, सहभागी हुने र ऐक्यबद्धता जनाउन पहिलोदेखि नै लागिरहेका थिए । घोषित आन्दोलनले ३६ दिन पार गर्दै गर्दा माओवादी केन्द्र पार्टीले नै आन्दोलनमा ऐक्यबद्धता जनाइसकेको छ ।

एक खर्ब ७० अर्ब रुपैयाँको खाद्यान्न आयात

कृषि प्रधान देश भनिए पनि पछिल्लो समय नेपाल विदेशी खाद्यान्नमा निर्भर हुनु परेको छ । छिमेकी मुलुक भारत, चीनदेखि युरोपियन तथा अमेरिकन मुलुकहरूबाट समेत नेपालमा खाद्यान्न आयात हुने गरेको छ । पछिल्ला वर्षमा मुलुकभित्र खाद्य वस्तुको माग बढ्दै गएको तर त्यही अनुपानमा उत्पादन बढ्न नसक्दा आयातमा निर्भर हुनु परेको हो ।

संघीय निजामती सेवा ऐन 

संघीयता कार्यान्वयनको आधा दशक बितिसक्दा पनि प्रशासनिक मुख्य कानुन संघीय निजामती सेवा ऐन बनेको छैन । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले केही दिन अघिमात्रै सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा मस्यौदा पठाएको छ ।

सुराकी खर्च कटौती

 गृहमन्त्री र गृह सचिवले खर्च गर्दै आएको सुराकी परिचालन खर्च मन्त्रिपरिषद्ले खारेज गर्ने निर्णय  गर्‍यो । चैत २० मा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रस्तावमा सुराकी परिचालनको नाममा खर्च गर्ने प्रचलन खारेजीको निर्णय गरेको हो ।

बारा–२ मा जातीयता फ्याक्टर 

जनमत पार्टीले २०७९ मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राजेश साहलाई बारा–२ बाट उम्मेदवार बनाएको थियो । तर उनी पराजित भए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया