शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
वेथिति

ऐनविपरीत शिक्षिका श्रीमतीलाई मेयरले राखे आफ्नै सचिवालयमा

मङ्गलबार, १८ वैशाख २०८१, ११ : ४८
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । नागार्जुन नगरपालिका काठमाडौँका प्रमुख मोहनबहादुर बस्नेतले शिक्षिका रहेकी श्रीमतीलाई आफ्नै सचिवालयमा खटाएका छन् । सीतापाइलामा रहेको जनउद्धार माविको स्थायी शिक्षिका उर्मिला बस्नेतलाई आफ्नै सचिवालयमा खटाएका हुन् ।  

letter (1)

प्राथमिक तह तृतीय श्रेणीमा कार्यरत शिक्षिका बस्नेतलाई २०८०/०३/२० गतेदेखि लागू हुने गरी नगरपालिकाको कार्यालयमा कामकाज गर्ने गरी काजमा खटाइएको देखिएको छ । यो विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा उजुरी समेत परेको छ । मन्त्रालयमा उजुरी परेपछि आवश्यक छानबिन समेत थालेको छ । 

letter (2)

शिक्षिका बस्नेतलाई केही समयका लागि नागार्जुन नगरपालिकाको शिक्षा शाखामा काज खटाइदिन अनुरोध गर्दै विद्यालयलाई पत्राचार गरिएको थियो । शिक्षा शाखा प्रमुख कृष्णबहादुर कुँवरले २०७९/०३/२० गते विद्यालयलाई पठाइएको पत्रमा ‘केही समयका लागि नगरपालिकाको शिक्षा शाखामा काज खटाइदिन’ उल्लेख गरेका थिए । 

letter (3)

 

नगरपालिका प्रमुख बस्नेतले आफ्नो सचिवालयमा कामकाजमा खटाउने गरी पठाइदिन हुन भन्दै टिप्पणी उठाएका थिए । सोही आधारमा शिक्षा शाखा प्रमुख कुवरले विद्यालयलाई पत्राचार गरेर नगर प्रमुखको सचिवालयमा काजमा खटाइदिन भनेका थिए । सोही आधारमा विद्यालयका प्रधानाध्यापक रवि खनालले २०८०/०३/२० गते बाट लागू हुने गरी रमाना पत्र दिएका थिए । 

नगरपालिकाको शिक्षा शाखाबाट पत्र आएपछि उनले रमाना दिएका थिए । आफूले रमाना दिने बेला प्रश्न उठाएको तर तालुकवाला कार्यालयबाट पत्र आएपछि दिएको खनालको भनाई छ । हाल विद्यालयको प्रधानाध्यापकमा राजन न्यौपाने छन् । 

खनालले भने, ‘नगरपालिकाको शिक्षा शाखामा काजमा लग्यो । काजमा लगेर चिठ्ठी दिएपछि मैले त्यसरी लैजान मिल्छ त भनेर प्रश्न गरेको थिए । तालुकवाला कार्यालयले रमाना दिनु भनेपछि मैले दिएको हो ।’ 

  • शिक्षा ऐन विपरीत काजमा खटाइयो 

शिक्षा ऐन, २०२८ को दफा १६ को च २ अनुसार शिक्षकलाई अन्य काममा लगाउन पाइँदैन । सामुदायिक विद्यालयको शिक्षकलाई शिक्षा प्रदान गर्ने वा विद्यालय प्रशासन सम्बन्धी काममा बाहेक अन्य काममा लगाउन नहुने व्यवस्था ऐनमा छ । विद्यालयको पठनपाठनमा बाधा नपर्ने गरी राष्ट्रिय जनगणना, निर्वाचन सम्बन्धी काम, प्राकृतिक प्रकोप उद्धार वा नेपाल सरकारले तोकेको अन्य कुनै काममा खटाउन सकिने व्यवस्था छ । तर, शिक्षक बस्नेतलाई भने आफ्नै श्रीमान् नगर प्रमुखको सचिवालयमा कामकाज गर्ने गरी खटाइएको हो ।  

शिक्षा ऐनले सामुदायिक विद्यालयमा शिक्षक वा कर्मचारीले कार्यालय समयमा अन्यत्र अध्यापन वा काम गरेमा वा अन्य कुनै व्यावसायिक क्रियाकलाप गरेमा त्यस्ता शिक्षकलाई पदबाट हटाइने व्यवस्था छ । 

यतिसम्मकी शिक्षिका बस्नेत नेपाली कांग्रेसको क्रियाशील सदस्य समेत हुन् । नागार्जुन नगरपालिका वडा नम्बर ५ बाट क्रियाशील सदस्यमा उनको नाम ६१ नम्बरमा छ । उनी क्रियाशील सदस्य मात्रै नभई महाधिवेशन प्रतिनिधि समेत हुन् । 

काज फिर्ता गराउन अख्तियारको पत्र 

स्थानीय तहले शिक्षा शाखामा शिक्षकहरूलाई काजमा खटाउने, सट्टा शिक्षक राख्ने गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शिक्षक फिर्ता पठाउन निर्देशन दिएको थियो । आयोगले २०८०/०२/०३ मा शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई परिपत्र गर्दै त्यस्ता शिक्षकहरूलाई फिर्ता पठाउन भनेको थियो । 

सोही आधारमा केन्द्रले देशभरका ७७ वटै जिल्ला विकास तथा समन्वय इकाईलाई परिपत्र गर्दै त्यस्ता शिक्षकहरूलाई पालिकाबाट फिर्ता गराउन र सट्टा शिक्षक नराख्न निर्देशन दिएको थियो । तर, नागार्जुन नगरपालिकाका प्रमुखले भने आफ्नै श्रीमतीलाई सचिवालयमा राखेका हुन् । 

  • चर्को विरोधपछि केही समय फिर्ता

नगर प्रमुख बस्नेतले श्रीमतीलाई आफ्नो कार्यालयमा खटाएपछि चौतर्फी विरोध भएको थियो । यो विषय उपप्रमुख सुशीला अधिकारीसमक्ष समेत पुगेको थियो । त्यसपछि उनले नगर प्रमुख बस्नेतसँग छलफल गरेर विद्यालयमै पठाउन आग्रह गरेकी थिइन् । 

‘त्यो बेला चर्को विरोध भएको थियो । चर्को विरोध भएपछि मकहाँ पनि विषय आएपछि नगर प्रमुख ज्यूसँग सोधेको थिए । उहाँले अब काज फिर्ता गराइदिने हो भन्नुभएको थियो । पछि फिर्ता पनि गर्नुभएको थियो । अहिले पुनः आउनुभएको रहेछ,’ उपप्रमुख अधिकारीले भनिन् । 

केही समय विद्यालयमा हाजिरी गराएर पुनः नगरपालिकामै काजमा खटाइएको हो । 

  • काम सचिवालयमा, तलब स्कुलमा 

शिक्षिका बस्नेत अबको केही समयपछि पेन्सन पाउँदैछन् । उनले नगर प्रमुखको सचिवालयमा काम थालेको १० महिना पुरा हुँदैछ । १० महिनाको अवधिमा उनले काम नगर प्रमुखको सचिवालयमा गरिन् । हाजिरी नगर प्रमुखकै सचिवालयमा हुन्छ । तर, उनले पाउने तलब भने विद्यालयबाट पाउने गरेकी छन् । 

नगरपालिकाको शिक्षा शाखा प्रमुख कृष्ण बहादुर कुवरले नगर प्रमुखको सचिवालयमा काम गरिराखेको र सचिवालयसँग सम्बन्धित काम गर्दै आएको बताए । विद्यालयको सहमति अनुसार नै नगर प्रमुखको सचिवालयमा काजमा खटाइएको उनको भनाइ छ । ‘विद्यालयमा अर्को शिक्षकको व्यवस्था गरिदिएको छ । दरबन्दी कटौतीमा पर्नुभएको थियो । कम विद्यार्थी भएको विद्यालयबाट दरबन्दी कटौतीमा परेर उक्त विद्यालयमा जानुभएको थियो । त्यहीबाट उहाँ यता आउनुभएको हो,’ शिक्षा प्रमुख कुवरले भने । 

विद्यालयको सहमति अनुसार काजमा राखिएको बताएका शिक्षा प्रमुख कुँवरले कुन कानुनलाई टेकेर विद्यालयको सहमतिमा नगर प्रमुखको सचिवालयमा काममा लगाइएको हो भन्ने प्रश्नको जवाफ भने दिन सकेनन् । 

उनको सट्टामा अर्को शिक्षकको व्यवस्था गरिएको र नगरपालिकामा हाजिरीको आधारमा विद्यालयबाट तलब पाउने गरेको उनको भनाइ छ । 

विद्यालयका प्रधानाध्यापक राजन न्यौपानेले पनि शिक्षिका बस्नेतले तलब विद्यालयबाटै खाने गरेको बताए । विद्यालयमा दरबन्दी बढी भएकाले नगरपालिकामा काजमा खटाइएको बताउँदै उनले भने, ‘उनको ठाउँमा पर्शुराम घिमिरे हुनुहुन्छ । उहाँले प्राविमा पढाउनुहुन्छ । दुवै जनाले विद्यालयबाटै तलब खानुहुन्छ । नगरपालिकाले तलब पठाएपछि उहाँहरूले पाउनुहुन्छ ।’

यो विषयमा थप बुझ्न शिक्षिका उर्मिला बस्नेत र नगर प्रमुख मोहन बस्नेतसँग कुरा गर्न खोज्दा दुवै जनासँग सम्पर्क हुन सकेन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप