सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

चितवन–२ उपनिर्वाचन : प्रमुख दलका उम्मेदवारहरु बीचमै कडा प्रतिस्पर्धा

सोमबार, २० चैत २०७९, २२ : ०६
सोमबार, २० चैत २०७९

चितवन । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा वैशाख १० मा हुने उपनिर्वाचनका लागि २४ जनाले उम्मेदवारी दिएका छन् । चितवन नम्बर २ को निर्वाचनका लागि सोमबार भएको मनोनयन दर्ता कार्यक्रममा दलबाट १२ र स्वतन्त्रबाट १२ गरी २४ जनाको उम्मेवारी परेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवन क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यलेका अनुसार चितवन २ मा आगामी बैशाख १० गते हुने निर्वाचनका लागि २ महिला र २२ पुरुष चुनावी मैदानमा रहेका छन् ।

गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा यस निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरसहित विजयी भएका थिए । नागरिकता विवादमा सर्वोच्च अदालतले उनको सांसद पद नै खारेज गरिदिएको थियो । लामिछानेको सांसद पद खोसिएपछि रिक्त रहेको उक्त स्थामनमा उपनिर्वाचन हुन लागेको हो ।

सो निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीबाट पुनः लामिछाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने, राप्रपाबाट जिवलाल पुरीको उम्मेदवारी मनोनयन दर्ता गरिएको छ भने नेपाल मजदुर किसान पार्टीबाट ज्ञानेन्द्र प्रजा, मंगोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर तमाङ, राष्ट्रिय जनमोर्चाबाट जनकराज शर्मा, राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट छत्रकुमार पाख्रिनको मनोनयन दर्ता भएको छ । जय जन्मभूमि पार्टीबाट प्रेमबहादुर खड्का, राष्ट्रिय जनमुक्ति पार्टीबा महानन्द जैशी, राष्ट्रिय नागरिक पार्टीबाट योगलाल श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट राजेश अधिकारीले उम्मेदवार बन्न मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै स्वतन्त्र उम्मेदवारका लागि अम्बिका भट्ट, चक्रपानि न्यौपाने, ताराप्रसाद पौडेल, भास्करचन्द्र न्यौपाने, मोजराज बगाले, रामकृष्ण ओझा, लक्ष्मीमाया कोइराला बुढाथोकी, बिक्रम श्रेष्ठ, सन्तोष थापा, सुदर्शन कँडेल, सुमन श्रेष्ठ र सुवास परियारले मनोनयन दर्ता गराएका छन् ।

चितवन–२ मा कालिका नगरपालिका, इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाका १० वटा वडा पर्छन् । भरतपुरका १, २, ३, ४, ५, ७, १०, ११, १२ र २९ नम्बर वडा यो क्षेत्रमा पर्छन् । ४ मंसिरमा सम्पन्न निर्वाचनपछि सो क्षेत्रमा ४८० मतदाता थपिएका छन् । कुल १ लाख २४ हजार ६९५ मतदाता रहेको चितवन २ मा मतदानका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र रहेको चितवन २ मा उम्मेदवारी दर्ता गराएका मध्ये मुख्य रुपमा प्रमुख दलका उम्मेदवारहरु बीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

बैशाख १० मा हुने निर्वाचनमा मुख्य रुपमा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठ, एमाले उम्मेदवार एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने र रास्वपाका सभापति रवि लामिछाने बीच नै हुने प्रष्ट छ । गत मंसिर ४ मा भएको निर्वाचनमा रास्वपा सभापति लामिछानेले कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा कांग्रेसका श्रेष्ठले १५ हजार ९९ र एमालेका पोखरेलले १४ हजार ६४९ मत पाएका थिए ।

मनोनयन दर्तामा जे देखियो
आगामी १० गतेको निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने मुख्य प्रतिस्पर्धीका रुपमा रहेका तीनै जना उम्मेदवारको दाबी रहेको छ । उनीहरु निर्वाचन नतिजा आफ्नो पक्षमा पार्न र मतदातालाई आफूप्रति आकर्षित गर्न प्रयाशरत देखिन्थे । बहालवाला सांसदसहित दलबल बोकेर मनोनयन दर्ताको प्रक्रिया सुरु भएलगत्तै रास्वपा सभापति लामिछाने पहिलो नम्बरमा उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

उनको मनोनयन दर्ताको लागि केही कार्यकर्ता पुगेपनि विगतको भन्दा निकै कम देखिन्थे । विगत र हालको कार्यकर्ताको उपस्थितिलाई विश्लेषण गर्ने हो भने विगतको भन्दा करिव ५० प्रतिशत कम कार्यकर्तासहित उम्मेदवारी दर्ता गराएका लामिछानेको चितवन २ मा क्रेज घट्दो देखिन्छ । उक्त उपस्थितिलाई हेर्दा सत्ताको खेल र सरकारमा रहदाँ जनताको अपेक्षाअनुसार काम गर्न नसक्नु, नागरिकता विवाद तथा रहादानी प्रकरणका कारण उनको दलको जनमत पहिले जस्तो बलियो नभएको विश्लेषण गर्न सकिन्छ ।

यता महामन्त्री विश्वप्रकाश शर्मा, सहमाहामन्त्री महालक्ष्मी उपाध्याय डिना, केन्द्रीय सदस्य उमेश श्रेष्ठ, पूर्वमन्त्री उमा रेग्मी, प्रदेश सभापति इन्द्रबहादुर बानियाँ, माओवादी केन्द्रका नेता घनश्याम दाहाल, ठाकुर ढकाल, माओवादी केन्द्रका चितवन जिल्ला संयोजक रामचन्द्र अधिकारी लगायत एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताको बाक्लो उपस्थितिमा गठबन्धनका तर्फबाट कांग्रेसका जितनारायण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

उनको उम्मेदवारी दर्ताको क्रममा उपस्थित नेता तथा कार्यकर्ताको भिड हेर्दा लाग्थ्यो निर्वाचनको नतिजा उनकै पोल्टामा परिहाल्छ । सो भिडले कांग्रेस भित्रको गुट र अन्तर्घातको खेल सबै समाप्त भए । तर, गत निर्वाचनमा कांग्रेस र गठबन्धन भित्रको अन्तरद्वन्दको कारणले भोगेको पराजय अझै ताजा नै छ । कांग्रेसले गठबन्धन दल र अन्तर्घातको समस्या सुल्झाउन सकेको खण्डमा सो क्षेत्रमा जित निकाल्न सक्ने आंकलन गर्न सकिन्छ ।

यता २५ दिनदेखि चितवनको वडा वडा घुमेर पार्टी बनाउन लागि परेका एमाले केन्द्रीय सदस्य गोकुल बास्कोटा, नेता कृष्णभक्त पोखरेल लगायतका नेताहरुको उपस्थितिमा उम्मेदवारी दर्ता गरेका न्यौपाने संगठनको बलमा चुनाव जित्ने दाउमा छन् ।

उनी विगतको २ वटा निर्वाचन एमालेले जितेको क्षेत्र भएकाले कुनै कारणवस गत मंसिरमा आफ्नो उम्मेदवार पराजित हुन परेको भन्दै अब उक्त परिस्थिति नरहेको एमालेको बुझाई छ । उनको मनोनयन दर्ताको क्रममा उपस्थित कार्यकर्ताको माहोल हेर्दा सो क्षेत्रमा चुनाव जित्न उनको लागि पनि निकै चुनौतिपूर्ण रहने देखिन्छ । विगतमा आफ्ना कार्यकर्ताहरुको संगठित मत एमालेका उम्मेदवारलाई आउन नसक्दा व्यहोरेको हार उनीसामु कायमै छ भने एमाले विभाजनको असर पनि उनको लागि अर्को चुनौति बन्ने देखिन्छ ।

उक्त क्षेत्रमा उम्मेदवारी दिएका रास्वपाका सभापति लामिछानेले चितवन क्षेत्र नम्बर दुईमा हुने उपनिर्वाचनमा आफूले पहिलेको भन्दा राम्रो मत ल्याउने बताए । उनले आगामी निर्वाचनमा राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको बताए । मुलुकको समृद्धिका लागि, सुशासनका लागि, आउँदो पुस्ताको सुन्दर भविष्यका लागि तथा राजनीतिमा शुद्धताका लागि आफूले उम्मेदवारी दिएको उनको भनाई छ ।

सत्ता गठबन्धनका सो क्षेत्रमा उम्मदवारी दिएका कांग्रेसका श्रेष्ठ आफ्नो प्रतिस्पर्धी कोही नभएको बताउँछन् । श्रेष्ठले आफु नेता बन्न नआएको बरु सेवक भएर काम गर्न आएकाले आफ्नो जित निश्चित भएको दाबी गर्दै केही व्यक्तिहरुले चितवनलाई प्रयोगशाला बनाउन खोजेको आरोप लगाए । उनले चितवनलाई प्रयोगशाला बनाउने काम स्वीकार्य नभएको र त्यसको जवाफ बैशाख १० गते चितवनका नागरिकले मतदानबाट दिने बताए ।

एमालेका उम्मेदवार न्यौपानेले उपनिर्वाचनको परिस्थिति कसरी बन्यो भन्ने विषय आम नागरिकहरुले प्रष्टसँग बुझेको बताए । उनले विगतको कमी कमजोरीहरुलाई समाधान गर्दै एमाले मजबुद पार्टीको रुपमा स्थापित भएकाले आफ्नो जित सुनिश्चित रहेको बताए । विगतको विषय पल्टाएर एमाले नहिड्ने भन्दै वर्तमान र भविश्यलाई सुन्दर बनाउने योजनासहित निर्वाचनको तयारीमा जुटेको उनको भनाई छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले चैत २१ गते दिउँसो ३ बजेसम्म उम्मेदवारी माथि दाबी विरोधको कार्यक्रम तय गरेको छ भने चैत २२ गते छानबिन गरी २३ गते उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यक्रम राखेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप