सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सरकार, निजी र सहकारी क्षेत्र बीचको सहकार्य आवश्यक: वरिष्ठ उपाध्यक्ष ढकाल

शनिबार, २५ चैत २०७९, १५ : २१
शनिबार, २५ चैत २०७९

काठमाडौँ । उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र र सहकारीबीच सहकार्यको खाँचो रहेको बताएका छन् । ढकालले हाल बाधा अड्चनका रूपमा रहेका ऐन नियमहरूलाई फुकुवा गरेर लगानीमा पनि सहकार्य गरेर काम गर्न सकिने बताएका हुन् ।

राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा जारी सहकारी महासम्मेलनमा बोल्दै ढकालले भने, ‘निजी क्षेत्रले सहकारीसँग सहकार्य गरेर अगाडि बढ्न आवश्यक पनि छ, उद्योग वाणिज्य महासंघले कृषि उद्यम केन्द्र बनाएर पनि काम गरिरहेको छ, त्यसमा सयभन्दा बढी सहकारीहरू संलग्न छन्, यसलाई अझै प्रभावकारी ढंगले काम गर्न सकिन्छ । सहकारी र निजी क्षेत्र मिलेर जाँदा आर्थिक गतिविधि बढाउन सकिन्छ ।’

सहकारी क्षेत्रले रोजगारी सिर्जना, वित्तीय पहुँच, वित्तीय साक्षरता, बैंक तथा वित्तीय क्षेत्रमा तरलता सहज गर्न र उत्पादन लगायत अर्थतन्त्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो । उनले पछिल्लो बैंक तथा वित्तीय क्षेत्रसँगै सहकारीबाट पनि कर्जा लिएको र त्यो कर्जा तिर्नु हुँदैन भनेर केही समूहले गलत अभियान सुरु गरेको बताउँदै त्यो एकदमै गलत कार्य भएको बताए । सर्वसाधारणले सहकारी तथा बैंक वित्तीय संस्थामा राखेको स–सानो पैसालाई कर्जाका रूपमा लिएर तिर्दिन भन्नु ठुलो गलत भएको उनको भनाइ छ । यसले आम सर्वसाधारणलाई भ्रम फैलाउने काम भइरहेको उनले बताए । यस्ता किसिमका गलत गतिविधिलाई प्रोत्साहन गर्न नहुने उनको भनाइ छ । नकारात्मक विषयवस्तुहरू उचाल्ने काम नगर्न पनि उनको आग्रह छ ।

महासम्मेलनको तेस्रो दिनमा ‘निजी, सार्वजनिक र सहकारीबीचको साझेदारीका लागि साझा मञ्च’ विषयमा छलफल गर्दै वक्ताहरूले यसअघि सार्वजनिक तथा निजी क्षेत्रबीच मात्रै साझेदारी हुने गरेको भए पनि अब सहकारीलाई पनि संलग्न गराउनु पर्नेमा जोड दिएका छन् । 

यस्तै, छलफल कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सरकारले निजी सार्वजनिक साझेदारी मोडल अगाडि सारे पनि अब  सहकारी क्षेत्रलाई पनि त्यसमा समावेश गरिनु पर्ने बताए । ७४ लाख सदस्य, ७ खर्बभन्दा बढी पुँजी भएको र ३० हजार बढी सहकारीहरू भएको क्षेत्र सहकारी भएको र अब सहकारीलाई यो मोडेलमा समावेश गराउनु पर्ने उनको भनाइ छ । 

यस्तै, सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरेले सरकारले आफ्नो तर्फबाट काम गरिरहेको बताए । अर्थतन्त्रका तीन खम्बामध्ये एउटा खम्बा कमजोर भयो भने अर्थतन्त्र नै कमजोर हुने बताउँदै उनले यसका लागि तीनवटै खम्बाहरु बलियो हुनु पर्ने धारणा राखे । यी तिनवटै खम्बाले आ–आफ्नै जिम्मेवारीहरू पुरा गर्नु पर्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप