मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

झलनाथ खनाललाई प्रश्न : तपाईं पनि एकीकृत समाजवादी छाडेर एमालेमा जान लाग्या हो ?

आइतबार, २६ चैत २०७९, १४ : २७
आइतबार, २६ चैत २०७९

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता मुकुन्द न्यौपानेले शनिबार पार्टी परित्याग गरे । एमालेबाट विद्रोह गर्दै डेढ वर्षअघि गठन भएको माधवकुमार नेपालको नेतृत्वको एकीकृत समाजवादी पार्टी छोड्दै गर्दा न्यौपानेले पार्टीलाई पिँध नभएको बाल्टीको संज्ञा दिए । 

अझ सम्मानित नेता झलनाथ खनाल पनि सम्मानित नेताको पद पाए एमालेमै फर्कन खोजिरहेको समेत न्यौपानेले दाबी गरे । उनले एकीकृत समाजवादी पार्टी अबको पाँच वर्षभित्र विलय भएर जाने ठोकुवा नै गर्न पुगेका थिए । न्यौपानेले भनेजस्तै के झलनाथ खनाल एमालेमा जान लागेका हुन् वा पार्टी विलय नै हुन लागेको हो त ? सम्मानित नेता झलनाथ खनाललाई रातोपाटीले प्रश्न गरेको छ । प्रस्तुत छ नेता खनालसँग गरेको छोटो कुराकानी : 

नेता मुकुन्द न्यौपानेले पार्टी परित्याग गर्दै नेतृत्वमाथि केही आरोपहरू पनि लगाउनु भएको छ । के नेकपा एकीकृत समाजवादीमा पनि विद्रोह सुरु भएको हो ?

–हामीले नेकपा एमालेमा जमेर बसेको दक्षिणपन्थी अवसरवादविरुद्ध विद्रोह गर्दै नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका हौँ । एमालेलाई हामीले दक्षिणपन्थी अवसरवाद भनिरहँदा वैचारिक, राजनीतिक, सैद्धान्तिक, संगठनात्मक,दार्शनिक र सांस्कृतिक रूपमा दक्षिणपन्थ प्रकट भएकै हो । दक्षिणपन्थबाट पार्टी पनि बन्दैन, क्रान्ति पनि हुँदैन र समाजवादमा पनि पुग्न सकिँदैन भनेर हामीले भनेका हौ । त्यसैले एमालेसँग गरिएको विद्रोहलाई अझै राम्रोसँग औचित्य साबित गर्न बाँकी नै छ । अहिले पनि हामी कम्युनिस्ट आन्दोलनमा हाबी भइरहेको दक्षिणपन्थी अवसरवादका विरुद्ध वैचारिक संघर्षमा छौ । यो वैचारिक संघर्ष अझै गहिरो बनाउनुपर्ने आवश्यकता छ । त्यही पार्टी (एमाले) बाट विद्रोह गरेर आएको हुनाले हाम्रो पार्टीभित्र पनि दक्षिणपन्थी अवसरवादका प्रभावहरू छ्यापछ्याप्ती छन् । त्यसैले हामीले दक्षिणपन्थी अवसरवादका प्रभावहरूबाट नेकपा एकीकृत समाजवादीलाई मुक्त गर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो । यहाँबाट पलायन हुने कुरा अहिलेको आवश्यकता होइन ।

नेता न्यौपानेले एकीकृत समाजवादी दक्षिणपन्थी अवसरवादबाट मुक्त हुन नसकेकाले यो पार्टी अब कहीँ पनि पुग्दैन, बरु अबको पाँच वर्षभित्र सकिन्छ भन्नुभएको छ नि ?

–अहिलेको नेपालको कम्युनिस्ट आन्दोलनमा आम रूपमा नै दक्षिणपन्थ हाबी छ । दक्षिणपन्थ हाबी हुने प्रक्रियामा हाम्रो पार्टी पनि दक्षिणपन्थका प्रवृत्तिहरू निकै ठुलो मात्रामा देखा परेका छन् । त्यो दक्षिणपन्थी वा अवसरवादी चिन्तनबाट अझै राम्रो ढंगले मुक्त गरेर पार्टीलाई क्रान्तिकारी कार्यदिशा, नीति, सिद्धान्त ,लक्ष्य, कार्यक्रम, विधि विधानको आधारमा पुनर्गठित, व्यवस्थित र सुदृढ गर्न जरुरी छ । त्यसका लागि हामी राष्ट्रिय महाधिवेशनतर्फ अघि बढिरहेका छौँ ।

महाधिवेशनमार्फत सच्चिने कुरा एउटा भयो । तर नेता न्यौपानेले त यसको नीति, सिद्धान्त र विचार सबै दक्षिणपन्थी भएकाले यो पार्टीको पतन अवश्यम्भावी छ भन्नुभएको छ । यसमा तपाईंहरूलाई कुनै चिन्ता छैन ?

–कुनै पनि व्यक्तिको विचार र इच्छाले यो समाज, समाजका सामाजिक दार्शनिक आन्दोलनहरू अगाडि बढ्ने गर्दैनन् । ती आफ्नै नियमअन्तर्गत विकसित हुँदै जान्छन् । हाम्रो देशमा नेकपा एमालेमा जुन खालको अवसरवाद प्रकट भयो, त्यो अवसरवादको चरमचुली भनेको नेपाली कम्युनिस्ट आन्दोलनले प्राप्त गरेको दुई तिहाइ भएको संसद्लाई विघटन थियो । त्यसकारणले यो आन्दोलनमा विभाजनको प्रक्रिया सुरुवात भएको छ । तर यो विभाजन आफैमा पुनर्गठनतर्फ अघि बढ्दैछ । विभाजनपछि फेरि पुनर्गठन हुन्छ, त्यसको सुरुवात पनि भएको छ । र, फराकिलो ढंगले रूपान्तरित, सुदृढ हुँदै जाने तथा सही नीति र कार्यदिशाका आधारमा कम्युनिस्ट आन्दोलनको विकास गर्ने सम्भावना छ ।

तपाईंले कम्युनिस्ट आन्दोलनको विकासको कुरा गरेपनि नेता न्यौपानेले त झलनाथ खनाल पनि राम्रो पद पाए एमालेमै फर्कनुहुन्छ भनेर घोषणा गर्नुभयो नि ?

–मैले सबै कम्युनिस्ट पार्टी र पत्रकार साथीहरूलाई पनि के कुरामा प्रस्ट पार्न जरुरी छ भने झलनाथ खनाल भन्ने व्यक्ति अहिलेसम्म कुनै पदका निम्ति लडेर आएको व्यक्ति होइन । पदका पछाडि लागेर आएको होइन । अहिले पनि म कुनै पदका पछाडि छैन । म सही क्रान्तिकारी नीति र सिद्धान्तको पक्षमा छु । लक्ष्य र आदर्शको पक्षमा छु र अव वैज्ञानिक समाजवाद मेरो लक्ष्य हो । म त्यो पक्षमा छु । मलाई कसैले जस्तोसुकै लोभ र लालचा देखाउँछ भने त्यो देखाउनेहरूकै दुर्गति हुनसक्छ, म विचलित भएर कतै जाने सम्भावना छैन ।

त्यसो भए तपाईं एमालेमा जाने कुरा झुटो हो ?

–अहिले म एमाले पार्टीमा जाने सम्भावना एउटा रौँ जति पनि छैन । किनभने जुन पार्टीमा दक्षिणपन्थी अवसरवाद खातैखात छ र त्यो क्रान्तिकारी कार्यदिशातर्फ उठ्ने कुनै सम्भावना छैन । त्यस्तो पार्टीमा एउटा क्रान्तिकारी व्यक्ति के अर्थमा जाने ? किन जाने ? यो प्रश्न हो ।

तपाईंहरूले भन्दै आएको कम्युनिस्ट आन्दोलन पुनर्गठन एमालेबाहेकको हो वा एमालेसहित ?

–एमालेभित्र पनि असल कम्युनिस्ट क्रान्तिकारीहरूको ठुलो पङ्क्ति छ । र अरू विभिन्न समूहहरूमा पनि असल क्रान्तिकारीहरू छन् । नेपाली कम्युनिस्ट आन्दोलनमा रहेका १२, १५ वटा समूहहरू छन् । यी विभिन्न समूहहरूभित्र असल कार्यकर्ताहरूको ठुलो पङ्क्ति देखिरहेको छु, उहाँहरूले सही नेतृत्व र सही विचार दृष्टिकोण खोजिरहनुभएको छ । त्यो खोजीले एक दिन एकीकृत र शक्तिशाली कम्युनिस्ट पार्टी निर्माण सम्भव छ भन्ने देखाउँछ र सम्भव पनि छ । म पनि त्यही उद्देश्यका साथ एउटा शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने काममा लागिरहेको छु ।

एकीकृत समाजवादीमै भएका नेता कार्यकर्ता पार्टी छोडेर अन्त लाग्न थालेपछि कसरी सम्भव होला त शक्तिशाली कम्युनिस्ट पार्टी बनाउने मिसन ?

–पार्टीमा छोड्ने र आउने दुवै कुरा हुन्छ । निरन्तर अरू क्रान्तिकारीहरू नेकपा एकीकृत समाजवादीमा आउने प्रक्रिया पनि जारी छ । एकाध साथीहरू जाने क्रम पनि छ । यो सबै पार्टीमा हुन्छ । र यो प्रक्रिया सामान्य प्रक्रिया हो ।

मुकुन्द न्यौपानेको बहिर्गमनले एकीकृत समाजवादीलाई कुनै असर गर्दैन ?

–कुनै पनि व्यक्तिले तलमाथि गर्ने कुराबाट त्यत्रो ठुलो असर पार्दैन । नोक्सान त हुन्छ, उहाँ र म ३२ सालदेखि एउटै कमिटीमा बसेर आएका हौँ । लामो संघर्ष गरेको योद्धा, कवि, साहित्यकार पनि हो उहाँ । त्यस्तो योद्धाले एउटा क्रान्तिकारी पार्टी निर्माण गर्न लागिरहेको अवस्थामा जेजे कारणले पार्टी छोडे पनि दुखद घटना त हो । उहाँले त्यति चाँडै अधैर्य भएर निर्णय नलिनुपथ्र्यो । तर उहाँलाई पार्टी नेतृत्वले अपमानित गरेर गए जाओस् भनेर कुरा गरिरहेको अवस्थामा उहाँलाई बस्न अप्ठेरो पनि भएकाले हुनसक्छ ।

तर मुकुन्द न्यौपानेले कुनै पनि दक्षिणपन्थी गुट वा नेतृत्वको छायामा बस्नुभन्दा स्वतन्त्र भएर क्रान्तिकारी विचारहरू प्रवाह गर्ने र नेपालका कम्युनिस्टहरूलाई सही क्रान्तिकारी दिशामा आउनुस् भनेर प्रयत्नमा लागिरहनुभयो भने त्यो धेरै राम्रो हुन्छ ।

पार्टीको त यो हालत भयो, वर्तमान सरकार र यसका काम कारबाहीलाई चाहिँ तपाईंले कसरी नियाल्नुभएको छ ?

–यो सरकार आफैमा एउटा खिचडी सरकार हो । यो सरकार पछिल्लो निर्वाचनपछि एउटा गठबन्धन भत्कियो र अर्को गठबन्धन बन्यो । फेरि त्यो गठबन्धन पनि टिकेन र अर्को गठबन्धन बन्यो । अहिलेको गठबन्धनले आकार पनि लिएको छ । सरकार बने पनि पूर्णता प्राप्त गरिसकेको छैन । सातौँ पटकको पुनर्गठनमा पनि सरकारले पूर्णता पाउन सकेको छैन । नेपाली कांग्रेस जसले ठुलो पार्टी भन्छ उसैले नै आफूले पाएको भागबन्डाअनुसारका मन्त्रीहरू दिनै सकेको छैन । अझै कांग्रेसलाई मन्त्री दिन कति समय लाग्ने हो ठेगान छैन । यो अवस्थाबाट देशमा ठुलो अग्रगति र प्रगति होला भनेर मैले आशा गर्न सकेको छैन ।

सरकारले हालै सार्वजनिक गरेको साझा न्यूनतम नीति तथा कार्यक्रममा पनि आशा गर्ने ठाउँ छैन ?

–मुलुकको स्थिति भयानक सङ्कटग्रस्त छ । आर्थिक सङ्कट भयावह रूपले गहिरिँदै छ । मुलुकमा उठेको वार्षिक राजश्वले कर्मचारीहरूलाई तलब दिन पनि अपुग हुने अवस्था सिर्जना भएको छ । विकासको बजेट कहाँबाट तयार गर्ने र नयाँ नयाँ विकास कसरी गर्ने हो ? जनताका इच्छा र आकाङ्क्षा चुलिएर गएका छन् चुलिएका जनताका इच्छा र आकाङ्क्षा कसरी पूर्ति गर्ने हो यो सरकारले ? आर्थिकसँगै राजनीति सङ्कट पनि छ । मुलुकमा स्थिरता दिन सकिएको छैन । एकपछि अर्को मन्त्रीहरू फेरिएका फेरिएकै छन् । मन्त्रालयहरूका कुनै पनि नीतिमा स्थिरता छैन । नेतृत्वमा पनि स्थिरता छैन जसले मन्त्रालयहरूले पनि धेरै काम गर्न सक्ने अवस्था देखिँदैन । यसको साथसाथै मुलुकमा सामाजिक र सांस्कृतिक सङ्कटहरू गहिरिँदै जान थालेका छन् ।

कस्तो सांस्कृतिक सङ्कट ?

–नेपालभित्रको राष्ट्रिय संस्कृतिमाथि वैदेशिक संस्कृतिको अतिक्रमण हो । यो तीव्र रूपले भइरहेको छ । त्यसका लागि अर्बौँ रुपैयाँको खोलो बग्दैछ भन्ने गाउँगाउँबाट सुनिरहेको छु । यसले गर्दा यो मुलुक राजनीतिक,आर्थिक, सामाजिक र सांस्कृतिक सङ्कटमा फस्दै गइरहेको छ । अर्कोतिर हाम्रो देशको विदेश नीति पछिल्ला दिनमा असन्तुलित हुँदै गएको छ । सरकारले सन्तुलित विदेश नीति अख्तियार नै गर्न सकेको छैन । एकपछि अर्को राष्ट्रियताका सङ्कट थोपरिँदै गएका छन् । अहिले पनि हाम्रो भूभाग विदेशीको कब्जामा छ । हाम्रो भूभागमा विदेशी सेनाहरू हिँडिरहेका छन् । हाम्रै भूभागमा विदेशीले बाटो बनाउने र सुरुङ खन्ने काम गरिरहेका छन् । यो खालको दुखद् अवस्था छ । १९५० को सन्धि सिंहावलोकन कथा जस्तै भएको छ । गोरखा सिपाहीहरूले बराबरी हक पाउनुपर्छ भनेर उहिलेदेखि नै संघर्ष गरिरहेका छन्, सरकारले केही गर्न सकेको छैन ।

यी समग्र अवस्था र घटनाक्रमले मुलुक नै असफल हुन लागेको हो कि प्रणाली वा नेतृत्वकर्ताको असफलता हो ? कसरी बुझ्ने त ?

–राष्ट्र नै असफल भयो भन्ने अवस्था होइन । तर यो देशको नेतृत्व चाहिँ सम्पूर्ण रूपले असफल भएकै हो । जस्तो संविधान जारी भइसकेपछि पहिलो निर्वाचनपश्चात् वामपन्थीहरूलाई दुई तिहाइ प्राप्त भएको थियो । यो विश्वको इतिहासमा संसदीय निर्वाचनमार्फत वामपन्थीले दुई ल्याउने कुरा असाधारण घटना थियो । तर, त्यत्रो ठुलो उपलब्धि प्राप्त भइसकेपछि यो देशको जो नेतृत्वमा त्यतिबेला खड्गप्रसाद ओलीजी पुग्नुभयो उहाँले सबैभन्दा पहिला क्रान्तिकारी भूमिसुधारको कार्यक्रम लागु गर्नुपर्ने थियो र सम्पूर्ण भूमिसम्बन्धी समस्या समाधान गर्नुपर्थ्यो । दोस्रो हाम्रो देशमा कृषि क्रान्ति अगाडि बढाउनुपर्ने थियो । जसमा कृषिलाई आधुनिकीकरणदेखि मल, बीउ,प्रविधि, कृषकले उत्पादन गरेको उत्पादनको सुरक्षा र मूल्य दिनुपर्नेजस्ता काम गर्नुपर्ने थियो त्यो सरकारले गरेन । जसले गर्दा आज कृषि क्षेत्र डामाडोल मात्रै होइन, कृषिमा विदेशी लगानी भित्र्याउने भनेर हिँड्यो । यो अर्को खतरनाक कुरा हो, जसले अर्को ठुलो सङ्कट ल्याउँछ । राष्ट्रिय औद्योगीकरण गर्नुपर्ने अवस्था छ, त्यसको कुनै कार्यक्रम नै छैन । हाम्रा आफ्नै उद्योग बनाउन सकेनौ र उत्पादन बढाउन सकेनौ भने लगातार पराधीन हुने र विदेशीको उपभोक्ता समाजमा बदलिने काम भइरहेको छ । यो बाहेक शिक्षा, स्वास्थ्य, गरिबी उन्मुलनलगायतमा धेरै काम गर्नुपर्नेमा ओली नेतृत्वको ४१ महिने सरकारले केही सोच्दै सोचेन ।

त्यो सरकारलाई मात्रै दोष दिएर भयो त ? त्यसपछि पनि दुई दुई वटा सरकार बनिसकेका छन् । उनीहरूले सोच्ने होइन ?

–त्यो बेला सङ्कटका आधारहरू तयार भए । तर नयाँ सरकार आइसकेपछि जहाँबाट जुन कारणले सङ्कट सिर्जित भएका छन्, यी सङ्कटलाई समाधान गर्न पछि बनेका सरकारहरूले पनि सही नीति लिएर अघि बढ्नुपर्थ्यो गरेनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप