मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

कोरोना सङ्क्रमण बढे पनि बुस्टर डोज लगाउने बढेनन्

बुधबार, २९ चैत २०७९, ०७ : ०५
बुधबार, २९ चैत २०७९

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको दोस्रो बुस्टर डोज (अत्तिरिक्त मात्रा) खोप लगाउन आग्रह गर्दै आएको छ । यद्यपि बुस्टर डोज खोप लगाउन उत्साहजनक सहभागिता छैन ।

विगत एक साताको आँकडालाई केलाउँदा दैनिक ३० हजारभन्दा कम नै खोप लगाइएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गतको बालस्वास्थ्य तथा खोप सेवा शाखा प्रमुख डा अभियान गौतमले दोस्रो मात्रा बुस्टर डोज खोप लगाउन लक्षित समूहलाई आग्रह गरे ।

उक्त खोप स्वास्थ्यकर्मी, १२ वर्ष माथिका दीर्घरोगी, रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, गर्भवती, ५५ वर्षभन्दा माथिका सबै नागरिकलाई दिइने उनले बताए । नजिकैको स्वास्थ्य संस्थाबाट खोपको जानकारी लिई आवश्यकता अनुसार पहिलो, दोस्रो वा बुस्टर मात्रा खोप लगाउन उनको आग्रह छ ।

सरकारसँग भएको बाइभ्यालेन्ट खोप नियमित खोपको रूपमा प्रयोग गरिएको छैन । बुस्टर डोज बाइभ्यालेन्ट खोप पहिलो र दोस्रो बुस्टरका लागि प्रयोग भइरहेको छ । पहिलो मात्रा अर्थात् पूर्ण मात्रा खोप लगाएको तीन महिनापछि बुस्टर डोज लगाउनुपर्छ । यस्तै, पहिलो बुस्टर लगाएको ६ महिनापछि दोस्रो बुस्टर डोज खोप लगाउन सरकारले आग्रह गरेको छ ।

नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गए पनि बुस्टर डोज लगाउनेको दर भने उत्साहजनक रुपमा बढेको छैन । विगत १५ दिनको अवधिमा ४ लाख ५१ हजार १८५ जनाले बुस्टर डोज लगाएका छन् ।

१५ दिनमा खोप लगाउनेको सङ्ख्या

मिति                                  सङ्ख्या
१३ गते                               ३४८८१
१४ गते                                  २८९१०
१५ गते                                 ६११२९
१६ गते                                 ४१४०९
१७ गते                                ४३७२५
१८ गते                                ५१९९८
१९ गते                                १८५९२
२० गते                               २८७०३
२१ गते                                ३०२३६
२२ गते                               १८१४२
२३ गते                               २७५६१
२४ गते                               १७६६६
२५ गते                              २०२५७
२६ गते                              २७९७६
२७ गते                              १९२६३

किन लगाउने बुस्टर डोज ?

हालसम्म कोरोना विरुद्धको बुस्टर डोज खोप ९४ लाख ९२ हजार ९५३ मात्रा लगाइएको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ । सरुवारोग विशेषज्ञ डा. शेर बहादुर पुनले अनिवार्य रुपमा खोप लगाउनुपर्ने बताए । कम्तीमा दुई मात्रामात्रै खोप लगाएकालाई सङ्क्रमण भए पनि स्वास्थ्य जटिलता आउने सम्भावना कम हुने डा. पुनको भनाइ छ ।

गम्भीर प्रकारका रोगी, ज्येष्ठ नागरिक, एचआईभी सङ्क्रमित, अङ्ग प्रत्यारोपण गराएका, बालबालिका, गर्भवती र अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीले बुस्टर डोज लगाउनुपर्ने डब्ल्यूएचओले जनाएको छ ।

पछिल्लो समय छिमेकी राष्ट्र भारतमा कोरोना सङ्क्रमण बढ्न थालेसँगै नेपालमा पनि सङ्क्रमितको संख्या बढ्न थालेको छ । ‘रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका, दीर्घरोगी, ज्येष्ठ नागरिक बाहेक अन्यको कोरोना सङ्क्रमणका कारण ज्यान गएको छैन,’ उनले भने, ‘त्यसैले दोस्रो बुस्टर डोजका लागि प्राथमिकता परेका व्यक्तिले खोप लगाउनुपर्छ ।’

डब्ल्यूएचओले खोप लगाउनुपर्ने समूह तोक्दा ती समूहलाई जोखिम छ भन्ने थाहा पाएरै तोकेको भन्दै उनले लक्षित समूहले बुस्टर डोज लगाउनुपर्ने बताए ।

डब्ल्यूएचओ बुस्टर डोजबारे भन्छ ?

डब्ल्यूएचओले बुस्टर खोप लगाउनका लागि उच्च, मध्यम र कम जोखिम समूह भनेर वर्गीकरण गरेको छ ।

गम्भीर प्रकारका रोगी, ज्येष्ठ नागरिक, एचआईभी सङ्क्रमित, अङ्ग प्रत्यारोपण गराएका, बालबालिका, गर्भवती र अग्रमोर्चामा खटिने स्वास्थ्यकर्मीले बुस्टर डोज लगाउनुपर्ने डब्ल्यूएचओले जनाएको छ ।

यस्तै, उमेर र रोगप्रतिरोधी क्षमता कम भएका व्यक्तिलाई खोप दिनका लागि ध्यान दिएर निर्णय लिनुपर्ने उल्लेख गरिएको छ ।

दोस्रो प्राथमिकतामा ५० देखि ६० वर्षको उमेरमुनिका वयस्क र बालबालिका, किशोर र अन्य रोग लागेकालाई बुस्टर डोज दिन सुझाव दिइएको छ । 

सरकारसँग १६ लाखमात्रा बुस्टर डोज बाइभ्यालेन्ट खोप स्टक छ । खोप केन्द्रीय भण्डारण केन्द्र टेकु, प्रदेश र जिल्लामा रहेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाको प्रमुख डाक्टर सुरेन्द्र चौरसियाले जानकारी दिए । उनका अनुसार सरकारले खोप खपतका आधारमा अन्य बुस्टर डोज खरिद गर्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप