शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जनतामाझ जाने अवसरलाई सदुपयोग गरौँ : महामन्त्री थापा

शुक्रबार, ०८ वैशाख २०८०, २२ : २१
शुक्रबार, ०८ वैशाख २०८०

लेखनाथ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्राप्त अवसरलाई सदुपयोग गर्दै परिणाम दिनेगरी जनताका काम गर्न कांग्रेसका नेता तथा कार्यकर्ता सक्रिय हुनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा महामन्त्री थापाले भने, “अब कांग्रेसका नेता तथा कार्यकर्ताले आफ्नो पुरानो कार्यशैली त्यागेर नयाँ तरिकाबाट जनताका काम गर्नुपर्छ ।” 

“लोकतन्त्र र प्रजातन्त्रमा विश्वास राख्ने पार्टी नेपाली कांग्रेसका कार्यकर्तामा विसं २०४८ को निर्वाचनमा जसरी उत्साह बढेको थियो पछिल्ला चुनावमा त्यस्तो उत्साह हराउँदै गएकाले आम नेता तथा कार्यकर्तामा पार्टीले जागरण ल्याउन आवश्यक छ । उनले भने, “लोकतन्त्रमा विश्वास राख्ने पार्टी भएकाले आमजनताको भरोसा कांग्रेसप्रति नै रहेको छ ।”

“प्रदेश सरकार बनाउँदै गर्दा आम कांग्रेसका नेता तथा कार्यकर्तामा उत्साह र खुसी देखिएका छन्”, उनले भने, “आमकार्यकर्तामाझ पुगेर कांग्रेसले उनीहरूका समस्या बुझ्नुपर्छ ।” बैंकले ब्याज वृद्धि गर्दा नेपाली पीडित बनेको र ऋण तिर्नसक्ने अवस्थामा नरहेको जस्ता समस्या पनि पछिल्लो समय देखिएको उनको भनाइ छ । 

“कांग्रेस सरकारमा भएकाबेला पार्टी विस्तार र आफूले गरेको कामको प्रचार गर्ने अवसर पनि यही हो”, महामन्त्री थापाले भने । पार्टीभित्र पनि नयाँपुस्तालाई अवसर दिएर पार्टीलाई अगाडि बढाउन जरुरी भएको भनाइ उनको छ । पार्टीका सबै भ्रातृ सङ्गठनको निर्वाचन सम्पन्न गरी सङ्गठनलाई छिट्टै पूर्णता दिँदै कांग्रेस सक्रियरूपमा आफ्नो सङ्गठन विस्तार गर्न नगरदेखि गाउँका वडासम्म पुग्ने तयारीमा जुटेको भनाइ थापाको छ । 

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले लोकतन्त्रप्रति विश्वास राख्ने पार्टी कांग्रेस मात्र भएकाले कांग्रेसको भविष्य लामो समयसम्म रहेकाले हामी सबै जनताका पीरमर्का बुझेर अगाडि बढ्न जरुरी भएको बताए । “भोलिका पुस्ताका लागि कांग्रेसले सोच्न जरुरी छ”, शर्माले भने, “युवाको भविष्य निर्धारण गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ ।”
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप