एटीसी टावरमा समस्या आएपछि झन्डै एक घण्टा उडान अवरुद्ध
आइतबार, १० वैशाख २०८०, १५ : ५६

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कम्युनिकेशन फ्रिक्वन्सी टावर (एटीसी) मा समस्या आएपछि झन्डै १ घण्टा उडान अवरुद्ध हुन पुगेको छ । एयरपोर्ट टावर र पाइलटबीचको संवाद हुने कमुनिकेशन फ्रिक्वयन्सी (सञ्चार तरंग)मा समस्या आएको हो ।
लगभग ५० मिनेट आन्तरिक उडान प्रभावित हुन पुगेको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए । समस्या दिउँसो २ः३० देखि ३ः२० सम्म आएको थियो ।
यस समयमा आन्तरिकतर्फको उडान अवतरण रोकिए पनि अन्तर्राष्ट्रियतर्फको उडान भने खासै प्रभावित नभएको सिटौलाले जानकारी दिए ।
यो समस्या सुल्झिएसँगै अहिले आन्तरिक (डोमेस्टिक) तर्फको उडान तथा अवतरण समेत नियमित भइसकेको उनले रातोपाटीलाई जानकारी दिए ।