बिहीबार, २८ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

साझा सुरक्षा चासोदेखि रणनीतिक सहकार्यसम्म : भारत भ्रमणबारे राष्ट्रिय सभामा परराष्ट्रमन्त्रीको ब्रिफिङ

बिहीबार, २८ जेठ २०८३, १४ : ३६
बिहीबार, २८ जेठ २०८३

सारांश

  • परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो दुई दिने भारत भ्रमणबारे राष्ट्रिय सभालाई विस्तृत जानकारी गराएका छन्।
  • भ्रमणका क्रममा नेपाल र भारतबिच तीन वटा महत्त्वपूर्ण संयुक्त घोषणा गरिएको छ, जसमा पीटूपी डिजिटल भुक्तानी सेवा सञ्चालन, स्वास्थ्य तथा सांस्कृतिक संरचनाहरूको हस्तान्तरण र भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासमा सहकार्य रहेका छन्।
  • मन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग साझा सुरक्षा चासो, सीमा व्यवस्थापन र रणनीतिक सहकार्यबारे छलफल भएको बताए।

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले आफ्नो हालै सम्पन्न दुई दिने भारत भ्रमणबारे राष्ट्रिय सभालाई विस्तृत जानकारी गराएका छन्। 

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले भ्रमणका क्रममा दुई देशबिचको व्यापार, ऊर्जा, कनेक्टिभिटी, जलस्रोत, सीमा व्यवस्थापन, सुरक्षा तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा उच्चस्तरीय छलफल भएको स्पष्ट पारेका हुन् ।

भ्रमणका क्रममा नेपाल र भारतबिच तीन वटा महत्त्वपूर्ण संयुक्त घोषणा गरिएको परराष्ट्रमन्त्री खनालले संसद्लाई जानकारी दिए। जसअन्तर्गत अन्तर्देशीय व्यक्ति–व्यक्ति (पीटूपी) डिजिटल भुक्तानी सेवा सञ्चालन गर्ने, भारत सरकारको सहयोगमा पुनर्निर्मित स्वास्थ्य तथा सांस्कृतिक संरचनाहरूको हस्तान्तरण गर्ने तथा भाषा अनुवादसम्बन्धी डिजिटल पूर्वाधार विकासमा आपसी सहकार्य गर्ने घोषणा गरिएको छ। 

उनले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसँग पनि विशेष भेटवार्ता भएको जानकारी दिँदै सो अवसरमा साझा सुरक्षा चासो, सीमा व्यवस्थापन र रणनीतिक सहकार्यका विविध विषयमा गहन छलफल भएको बताए। आफ्नो भारत भ्रमणको उपलब्धि र एजेन्डाहरूबारे संसद्मा बोल्दै उनले भने, ‘द्विपक्षीय वार्तामा व्यापार तथा आर्थिक सहकार्य, कनेक्टिभिटी, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन, साझा सुरक्षा, सीमा व्यवस्थापन, खेलकुद र जनस्तरीय सम्बन्ध अभिवृद्धि जस्ता विषयहरूमा ठोस छलफल भएको छ । दुवै पक्षले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, विभिन्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा समेत विचार आदानप्रदान गरिएको छ । नेपाल–भारतबिच द्विपक्षीय सहकार्यमा सञ्चालित परियोजनाहरूको प्रगति समीक्षा गर्नुका साथै तिनलाई थप प्रभावकारी बनाउने उपायहरूबारे पनि महत्त्वपूर्ण छलफल भएको छ ।’

परराष्ट्रमन्त्री खनालले छिमेकी मित्रराष्ट्रसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लैजाने सरकारी नीति अनुरूप नै यो भ्रमण फलदायी भएको दाबी गरे। उनले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वतन्त्रता, स्वाधीनताको रक्षा र नेपाली नागरिकको सुरक्षा एवं हकहित संरक्षण लगायत समग्र राष्ट्रिय हितको प्रवर्द्धन गर्ने विषयमा वर्तमान सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको कुरा राष्ट्रिय सभा समक्ष स्पष्ट पारे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप